८ वैशाख २०८१ शनिबार
समाज

काँग्रेस नेता खड्काद्वारा ५ लाखको पीपीई सहयोग

जाजरकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतलाई पीपीई हस्तान्तरण गर्दै काँग्रेस जाजरकोटका नेता रत्नवहादुर खड्का । तस्बिर: जनक/नागरिक

जाजरकोट- नेपाली काँग्रेस जाजरकोटका नेता एवम् महासमिति सदस्य रत्नवहादुर खड्काले जाजरकोटका स्वास्थ्यकर्मीहरुका लागि ५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री पीपीई दिएका छन्।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्ने काममा जिल्लाका सातै स्थानीय तह र जाजरकोट अस्पताल लगाएतका विभिन्न स्वास्थ्य संस्थाहरुमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि निर्माण व्यावसायी समेत रहेका काँग्रेस नेता खड्काले सुरक्षा सामग्रीहरु दिएका हुन्। खड्काले निजी खर्चमा जाजरकोट सदरमुकाम पुर्‍याएका उक्त सामग्री मंगलबार जाजरकोट अस्पतालमा आयोजित कार्यक्रममा स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिएको छ।

स्वास्थ्यकर्मीहरुले सर्वसाधारणको स्वास्थ्य परीक्षण तथा विरामीको उपचार गर्दा व्यक्तिगत रुपमा आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने ती सामग्रीहरु खड्काले  जिल्लाका सबै स्थानीय तहमा पुग्ने गरि वितरण गरेका छन्। प्रति सेट ५ हजारका दरले संकलन तथा खरिद गरिएका १ सय सेट पीपीईहरु आवश्यकताका आधारमा जिल्लाका सबै निकायहरुलाई वितरण गरिएको छ।

नेता खड्काले उपलब्ध गराएका उक्त सुरक्षा सामग्रीहरु ३५ थान जाजरकोट अस्पताललाई, तीन नगरपालिकाहरुलाई १० थानका दरले ३० थान, चार गाउँपालिकाहरुलाई ५ थानको दरले २० थान, जिल्ला विपद् व्यवस्थापन समितिलाई १० थान, स्वास्थ्य चौकी कार्कीगाउँलाई २ थान र अन्य निकायहरुलाई ३ थानका दरले वितरण गरिएको नेपाली काँग्रेस जाजरकोटका नेता वेदराज सिंहले बताए। उनले जनताको उपचार गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राखेर पार्टीको सल्लाह अनुसार नेता खड्काले पीपीई सहयोग गरेको बताए।

यस्तै निजी खर्चमा ठूलो मात्रामा पीपीई सहयोग गर्ने काँग्रेस नेता खड्काको  सहयोगी व्यवहारलाई विभिन्न सरोकारवाला निकायका व्यक्तिहरुले प्रशंसा गरेका छन्। प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले देश र समाज अप्ठेरोमा परेका बेला सहयोगी हातअघि बढाउने खड्काको पहल प्रशंसनीय रहेको बताए। यस्तै जिल्ला समन्व्य समितिका प्रमुख मनवहादुर रावलले पनि स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने गरि गरेको सहयोग अरुका लागि पनि प्रेरणादायी भएको बताए।

यस्तै जाजरकोट अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष धर्मशीला बस्नेतले नेता खड्काको सहयोगले जिल्ला अस्पताल लगाएतका विभिन्न स्थानमा रहेर जनताको सेवा गर्ने स्वास्थ्यकर्मीहरुलाई राहत मिल्ने बताइन्। दुर्गम र अभावको अवस्थामा बसेर कोरोना जस्तो भयंकर महामारीको संक्रमण रोक्ने कामा खटिएका स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न आफूले यी सामग्रीहरु दिएको काँग्रेस नेता रत्नवहादुर खड्काले बताए।
 

प्रकाशित: २५ चैत्र २०७६ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App