२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अपराधको ‘सेल्टर’मा शान्ति र सद्भाव

गाउँलेको सहयोगमा निर्माण हुन लागेको प्रहरी चौकीको भवन शिलान्यास गर्दै प्रजिअ गोपालकुमार अधिकारी। तस्बिर: मिथिलेश यादव/नागरिक

लहान - सुरक्षाको दृष्टिकोणले अति संवेदनशील थियो, सिरहाको पकिटोल गाउँ। पूर्व–पश्चिम राजमार्गको लहानसँगै जोडिएको यस गाउँका बासिन्दा सम्साँझै ढोका बन्द गरेर बस्थे। गाउँमा अपरिचित समूह देख्दा सबै त्रसित हुन्थे। हाटबजारबाट घर फर्कंदा त झन् डराउँथे।

तराई–मधेसका सशस्त्र समूहका नामबाट हुने अपहरण, चन्दा, डकैतीजस्ता आपराधिक क्रियाकलापबाट उनीहरू आजित थिए। गाउँमा यस्ता घटना नघटेको दिनै हुँदैनथ्यो। कृषि तथा रोगजारीमा निर्भर गाउँले चैनको सास फेर्न पाउँदैनथे। ‘एक रात काट्नु पनि जुग बिताएजस्तो हुन्थ्यो,’ पकिटोलका श्रीराम राउत सम्झिन्छन्, ‘काम विशेषले बाहिर निस्कँदा साँझ परिहाले उतै बास हुन्थ्यो, अपराधीको क्रीडास्थल थियो हाम्रो गाउँ।’

करिब डेढ सय घरधुरी रहेको यस गाउँमा मधेसी पहाडी समुदायको मिश्रित बसोबास छ। आपराधिक समूहको निसानामा पर्नेमा पनि मधेसी र पहाडी दुवै समुदायका व्यक्ति छन्। मागे जति चन्दा नदिँदा डकैती भोग्नेमा मेघबहादुर पोखरेलदेखि रामफल यादवसम्म करिब डेढ दर्जन व्यक्ति छन्।

पकिटोल मात्र होइन, राजमार्गछेउको विष्णुपुरकट्टी गाउँको हालत पनि उस्तै थियो। पहाडी समुदायको बाहुल्य रहेको यो गाउँ मधेसमा सशस्त्र गतिविधि चर्किएका बेला ‘अपराधीको सेल्टर’ बनेको थियो।

पकिटोल मात्र होइन, राजमार्गछेउको विष्णुपुरकट्टी गाउँको हालत पनि उस्तै थियो। पहाडी समुदायको बाहुल्य रहेको यो गाउँ मधेसमा सशस्त्र गतिविधि चर्किएका बेला ‘अपराधीको सेल्टर’ थियो। २०६५ साल भदौमा पकिटोलस्थित घरबाटै तत्कालीन बस्तीपुर गाविसका सचिव मनोज कार्कीलाई अपहरण गरेर आपराधिक समूहले लुकाएको थियो। परिवारले लाखौं फिरौती दिएपछि मात्र कार्की मुक्त भएका थिए।

विष्णुपुरकट्टीका दुर्गाबहादुर खड्काका अनुसार त्यसबेला छिमेकी जिल्लाबाट अपहृत व्यक्तिलाई लुकाउने ‘सेल्टर’ यही गाउँ थियो। ‘सशस्त्र समूहलाई मागेको चन्दा नदिँदा धम्की नखेपेका यहाँका गाउँले सायदै होलान्,’ खड्का भन्छन्,ु ‘त्यस बेलाको घटना सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ।’

पछिल्ला दिनमा सुरक्षा मामलामा अतिसंवेदनशील ठानिएका पकिटोल र विष्णुपुरकट्टीका स्थानीयको जनजीवन सामान्यतर्फ फर्किसकेको छ। आपराधिक गतिविधिको डरले गाउँ छाडेर पलायन भएका स्थानीय आफ्नो थातथलो फर्किसकेका छन्। ‘सबै समुदायका मानिस पहिलेजस्तै मिलेर खुसीसाथ बसेका छौं,’ पकिटोलका स्थानीय निर्मल सिलवाल भन्छन्, ‘पहाडी–मधेसी समुदायबीच एकताको भावना बलियो बन्दै गएको छ। गाउँको सांस्कृतिक गठजोड पुरानै अवस्थामा फर्केको छ।’ यहाँका आपराधिक समूहलाई निमिट्यान्न पार्न प्रहरी–प्रशासनका साथै समाजले पनि महŒवपूर्ण भूमिका निर्वाह गरेकाले परिस्थिति बदलिएको छ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा, अखिल तराई मुक्ति मोर्चा, राष्ट्रिय जनतान्त्रिक पार्टी (क्रान्तिकारी) लगायत विभिन्न नाममा तराई–मधेसमा हिंसा मच्चाइरहेका अन्य सशस्त्र समूहका व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो। कतिपय प्रहरीसँग मुठभेडमा मारिए। संगठित अपराधमा लागेका अधिकांश व्यक्ति अहिले जेलजीवन बिताइरहेका छन्। कतिपय अपराध छाडेर वैदेशिक रोजगारीमा गइसकेका छन्।

‘आफ्नै घर फर्किन पनि डराउनुपर्ने अवस्था थियो, ‘पकिटोल घर भई काठमाडौंमा व्यवसाय गर्ने अश्विन राउत भन्छन्, ‘अहिले रातबिरात पनि घर आउन डर छैन।’ २०६३ सालपछि मधेसका विभिन्न जिल्लामा सशस्त्र समूहको आवरणमा अपहरण, डकैती, चन्दा असुलीलगायत आपराधिक गतिविधि मौलाएपछि त्यहाँका जनता त्रासमा बाँच्न बाध्य थिए। गाउँमा सशस्त्र समूहका कार्यकर्ताले खुलमखुला हिंसात्मक गतिविधि थालेपछि कैयौंको ज्यान गयो। सयौं परिवार आफ्नो गाउँबाट विस्थापित भए। झन् ती समूहले सिरहाका राजमार्गसँग जोडिएका सुगम गाउँलाई ‘सेल्टर’ बनाएपछि अवस्था झनै असहज बन्यो।

‘सिरहाका गाउँलाई आपराधिक समूहले धनुषा, रौतहट, पर्सासम्मका आपराधिक गिरोह चलखेल गर्ने ‘सेल्टर’ बनाएका थिए, यता गाउँलेको दैनिकी भने आतंकमा कटिरहेको थियो,’ सुभाष कोइरालाले सम्झे, ‘त्यस्तो त्रास फेरि भोग्नु नपरोस्।’ त्यसबेला अपहरणकारीको अर्को सेल्टर थियोे, कसहा गाउँ। स्थानीय मात्र होइन, पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु पनि त्रस्त हुन्थे कसहाचोक पुगेपछि। मोटरसाइकल तथा बसका यात्रु त्यहाँ पुग्नेबित्तिकै झस्किन्थे, ‘हँ, कतै आफू लुटपाट तथा अपहरणमा परिने त होइन !’ यो चोक सुरक्षित साथ पार गर्न सकूँ है भन्ने कामना हुन्थ्यो उनीहरूको। कसहाका राजेन्द्र यादवको भनाइमा उतिबेला कसहामा कुनै पनि यात्रुवाहक बस रोकिँदैनथे, बरु झन् तीव्र गतिमा गुडाइन्थे। साँझपख मोटरसाइकल र बसको संख्या अत्यन्त न्यून हुन्थ्यो।

सिरहा, सप्तरीलगायत जिल्लाका विभिन्न स्थानबाट अपहरित व्यक्तिलाई त्यहीँ ल्याएर राख्थे, आपराधिक समूह। यही कारण स्थानीय दोहोरो मार खेप्न बाध्य थिए। एकातिर गाउँलेलाई अपहरित व्यक्तिलाई संरक्षण दिन आपराधिक समूहको दबाब थियो भने अर्कोतिर अपहरितलाई ‘सेल्टर’ दियो भनेर सुरक्षाकर्मीको तारो बन्नुपर्ने स्थिति थियो। त्यस्तो त्रासदीपूर्ण दिन अब कहिल्यै बिताउनु नपरोस् भन्ने स्थानीयको कामना छ।

त्यसबेला सशस्त्र गतिविधिका नाइके कसहा गाउँका भएकाले यो गाउँ ‘सेल्टर’ का रूपमा प्रयोग हुन्थ्यो। ‘म्यानेजर’ भन्ने रामनारायण महतो, छटु यादव, गंगा यादवलगायत अन्य सशस्त्र गतिविधिमा लागेका व्यक्ति कसहा गाउँकै थिए। पछि, रामनारायण, छटु र गंगा तीनै जना प्रहरी कारबाहीमा मारिए। तिनीहरू मारिँदासम्म यस क्षेत्रमा ‘छोटे अपराधी’ जन्मिसकेका थिए, जसले गर्दा केही समयसम्म यो गाउँ आतंकबाट मुक्त हुन सकेन।

अपराधबाट आजित पकिटोल, कसहा र विष्णुपुरकट्टीवासीले स्थानीय प्रशासनसँग प्रहरी बिटको व्यवस्था गरिदिन गुहार मागे। धेरै कसरतपछि अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ। पकिटोलका निर्मल सम्झन्छन्, ‘घटनाको खबर दिएको घन्टौंपछि मात्र लहानबाट प्रहरी आउँथ्यो, सुरक्षा हाम्रा लागि निकै टाढाको विषय थियो।’ २०६७ सालमा गाउँमै अस्थायी प्रहरी पोस्ट स्थापना भएपछि गाउँलेले राहत महसुस गर्न पाएका छन्।

जुन पोस्ट स्थायी हुननसक्दा अहिले हट्ने अवस्थामा थियो। स्थानीयले २ कट्ठा जमिन खरिद गरेर प्रहरीले तोकेको मापदण्डमा भवन निर्माण गरिदिन लागेका छन्। लाखौं रकम खर्चेर प्रहरीलाई भवन बनाइदिन लागेका स्थानीय अश्विन राउत भन्छन्, ‘प्रहरीको सहयोग नभइदिएको भए हामी पलायन भइसक्या हुन्थ्यौं।’ असहज परिस्थितिमा हामीलाई सुरक्षा दिएर जोगाउने प्रहरीलाई बस्ने भवन बनाउन पाउँदा गर्व अनुभूति भइरहेको उनले बताए। ‘भवन बनाउन लाग्ने खर्च यसै गाउँका स्थानीय र गाउँबाट अमेरिकालगायत देशमा रोजगारीमा रहेकाहरूको आर्थिक सहयोग छ,’ उनले भावुक हुँदै भने, ‘शान्तिसुरक्षा मानवजीवनमा कति महत्वपूर्ण छ भन्ने कुरा हामीभन्दा बढ्ता कसलाई थाहा होला र ?’
शान्ति फर्किएपछि यहाँको आर्थिक गतिविधिसमेत फैलिएको छ। शान्ति बहालीपछि पकिटोलसँगै अरू संवेदनशील गाउँ बिस्तारै सहरीकरणतर्फ उन्मुख हुँदै छन्। कसहामा अहिले बैंकिङ कारोबार व्यापक हुन थालेको छ। दक्षिणी गाउँका मानिस कसहामा बाक्लै देखिन थालेका छन्।

यहाँका संवेदनशील गाउँमा शान्ति फर्कनुमा प्रहरी–प्रशासनको क्रियाशीलता र स्थानीयको इच्छाशक्ति कारक रहेको पकिटोलका जनकबहादुर कोइरालाको भनाइ छ। ‘आपराधिक समूहले यहाँको सामाजिक एकता भत्काउन सकेनन्,’ कोइराला भन्छन्, ‘स्थानीयको एकता देखेर जिल्ला सुरक्षा समितिले प्रहरी भवन बनाउन मन्जुरी दिएको छ।’

‘आपराधिक कामलाई कडाइका साथ नियन्त्रण गर्न लागिपरेका छौं,’ प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी भन्छन्,ु ‘स्थानीय जनता र प्रहरी हातेमालो गरेर अघि बढेमा यसमा अझ बढी सफलता मिल्नेछ।’ स्थानीयले सहयोग संकलन गरेर प्रहरीका लागि लाखौंको भवन बनाइदिनु प्रहरीप्रति बढ्दै गएको विश्वासको नमुना भएको प्रजिअ अधिकारीले जिकिर गरे। ‘गाउँलेले अपराधीबाट खेपेको पीडा सुन्दा दर्दनाक कथा सुनेझैं लाग्छ, ‘इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले भने, ‘अपराधलाई शून्यमा झारेर समाजमा शान्ति र सद्भाव फैलाउन कुनै कसर छोड्दिन।’

प्रकाशित: २५ फाल्गुन २०७६ ०१:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App