१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुईको ज्यान गयो, अढाइ सय संक्रमित

बाजुरा – बाजुराको कोल्टी क्षेत्रमा ‘सिजनल फ्लु’ भनिने भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ। एक साताअघि देखिएको संक्रमणका कारण स्वामी कार्तिक खापर गाउँपालिका–१ जोरु साप्पाटामा दुईजनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेको वडाध्यक्ष जनकबहादुर रोकायाले बताए। कडाराको मंगलबार साँझ र रावलको बुधबार बिहान ज्यान गएको हो।

उक्त गाउँमा बिरामीको संख्या दिनानुदिन बढिरहेको छ। मृतक कडाराकै घरमा पाँचजना संक्रमित रहेको साप्पाटा स्वास्थ्य चौकीका इन्चार्ज विर्ज विकले बताए। विकको नेतृत्वमा स्वास्थ्य कर्मीको टोली बिहानैदेखि उपचारमा खटिएको छ। तत्काल उपचार नपाउँदा र रोग लुकाउने गर्दा दुईजनाले ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ। स्वामी कार्तिक खापरमा भाइरल ज्वरो फैलिनुभन्दा केही दिनअघि नै हिमाली गाउँपालिका–६ बोल्डिकमा संक्रमण फैलिएको थियो।

भाइरल ज्वरोकै कारण दुईजनाको ज्यान गएको भनिए पनि प्रमाणित भने भइनसकेको स्वास्थ्यकर्मीको भनाइ छ। ल्याब परीक्षणको रिपोर्ट आएपछि मात्र मृत्युको कारण यकिन हुने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। जिल्लाको कोल्टी क्षेत्रका स्वामी कार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानमा भाइरल ज्वरोको संक्रमण देखिएको हो। सोही ज्वरोका कारण अढाइ सयभन्दा बढीमा संक्रमण देखिएको बताइएको छ। हिमाली गाउँपालिकामा मात्रै संक्रमितको संख्या दुई सयभन्दा माथि छ।

भाइरल ज्वरोको संक्रमण एक सातामै व्यापक रूपमा फैलिएकाले नियन्त्रणभन्दा बाहिर गएको बताइएको छ। हावाका माध्यमबाट सजिलै फैलिने भएकाले संक्रमणले ठूलो क्षेत्रमा प्रभाव पारेको स्वास्थ्यकर्मीहरू बताउँछन्। हिमाली–६ स्थित एन्जल बोर्डिङ स्कुलका विद्यार्थीमा देखिएको संक्रमण हाल हिमाली–२ मा पनि फैलिएको छ। त्यस ठाउँमा संक्रमितको संख्या दुई सयभन्दा बढी पुगेको छ। भाइरल ज्वरोको संक्रमण सातदेखि १० दिनसम्म देखा पर्ने भए पनि थप स्थानमा फैलिन थालेपछि बढी सतर्कता अपनाउन थालिएको स्वास्थ्यकर्मीको भनाइ छ। संक्रमण नियन्त्रणबाहिर गएको भन्दै ती गाउँपालिकाले सहयोगका लागि जिल्ला र प्रदेश गुहारेका छन्। धुलो र चिसोबाट बच्न सके संक्रमण बिस्तारै कम हुने स्वास्थ्यकर्मीको सुझाव छ। हिमाली र स्वामिकात्तिक अत्याधिक हावा चल्ने र धुलोको मात्रा पनि बढी भएका क्षेत्र हुन्।

ज्वरोको संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि उपचारका लागि डा. राजुराज जोशीको नेतृत्वमा रहेको चार सदस्यीय स्वास्थ्यकर्मीको टोली बुधबार प्रभावित क्षेत्रमा पुगिसकेको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए। उनका अनुसार टोलीमा एकजना ल्याब टेक्निसियन पनि छन्। स्थानीय स्तरमा पनि गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको छ। सिनियर अहेव कुलबहादुर रावल र हस्त कठायत पनि उपचारमा जुटिरहेका छन्। हिमाली गाउँपालिकामा संक्रमणका कारण संक्रमितको संख्या बढ्दै गए पनि सबै खतरामुक्त रहेको स्वास्थ्यकर्मीले बताएका छन्। ल्याब परीक्षणका लागि उपकरण र प्राविधिक प्रदेशबाट पठाइएको हो। संक्रमण बढ्दै जान थालेपछि ल्याब परीक्षण काठमाडौंमा पनि गर्ने तयारी भइरहेको पन्तको भनाइ छ।

संक्रमणले ज्यानसमेत लिन थालेपछि त्यसको तत्काल व्यवस्थापनका लागि सबै संयन्त्र परिचालन गरिएको बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेले बताए। ठूलो संख्यामा स्थानीय थला परेपछि गाउँमा त्रास फैलिएको उनको भनाइ छ। बिरामीमा सुरुमा ज्वरो आउने र पछि बान्ता हुने र उठ्नै नसक्ने लक्षण देखिएका छन्। संक्रमित वृद्धवृद्धा र बालबालिकाले धेरै सास्ती भोग्नुपरेको अवस्था छ।

संक्रमण फैलिएका क्षेत्र जिल्ला सदरमुकामबाट निकै टाढा पर्छन्। दुईजनाको ज्यान गएको साप्पाटा पुग्न कर्णालीपारि पिलुचौरबाट हिँडेर जानुपर्छ। पिलुचौरबाट पनि हिँडेर त्यहाँ पुग्न तीन घन्टा पैदलयात्रा गर्नुपर्छ। सहजताका साथ स्वास्थ्यकर्मी पुग्न र औषधि उपलब्ध गराउन समस्या भइरहेको छ। हिमाली गाउँपालिकाको बोल्डिक पनि अति दुर्गम क्षेत्र हो। कर्णाली करिडोरका कारण धुलाचौरसम्म जिप पुगे पनि गाउँसम्म पुग्न धेरै समय पैदलयात्रा गर्नैपर्छ। कवाडीसम्म बाटो सञ्चालन भए पनि कच्ची बाटोका कारण यात्रा सहज छैन। जसका कारण उपचार सेवा पनि प्रभावित भएको छ। टेलिफोन असुविधाले पनि समस्या बढाएको छ।

प्रकाशित: २३ माघ २०७६ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App