२ असार २०८१ आइतबार
image/svg+xml
समाज

शीतलहरले कठ्यांग्रिदै त्रिपालमुनिकाे जिन्दगी

सिरहा नगरपालिका–६ बसबिट्टमा त्रिपालमुनि कष्टकर जीवन जिउन बाध्य विपन्नहरू। तस्बिर : मिथिलेश/नागरिक

लहान – घामपानी नछेक्ने छाप्रोमा थलिएर बरियारपट्टी गाउँपालिका–१ मुसहरी टोलकी सीतादेवी सादयले पोहोर ज्यान गुमाइन्। ६ जना लालाबालासँगै साँघुरो छाप्रोमा कष्टकर जिन्दगी गुजार्दै आएकी बुहारी पवित्रीले भनिन्, ‘बिरामीभन्दा पनि गरिबीका कारण सासूले ज्यान गुमाइन्।’ सासूको काजकिरियाका लागि साहुसँग हात फैलाएर ऋण लिनुप-यो। ‘मर्दापर्दा हामी गरिबले साहुकै भर पर्नुपर्छ, अरूले पत्याउँदैनन्,’ उनले भनिन्। ऋण चुक्ता गर्ने भन्दै पवित्राका पति कमाउन पन्जाब गएका छन्। ‘हामी गरिबका लागि जाडो मौसम काल नै बनेको छ,’ उनले भनिन्, ‘जाडो कटाए वर्षभरि बाँच्छौं।’

तीन महिना खेतमा काम गर्ने यस समुदायले अरूबेला ज्यालामजदुरी गर्ने गरेका छन्। तर उनीहरूको जिन्दगी साहुको ऋण चुक्ता गर्नमै बित्ने गरेको छ। जति ज्यालामजदुरी गरे पनि सुरक्षित आवास त परको कुरा, घामपानीमा ओत लाग्ने सग्लो टहरो पनि जोहो गर्न पनि उनीहरू सक्दैनन्। ‘दसा भइरहेको छ, चिसोले ज्यान लेलाजस्तो छ,’ शीतलहरमा लुगलुग काँप्दै गरेका सिरहा नगरपालिका–६ बसबिट्टाका ७१ वर्षीय रामजी महराले भने, ‘त्रिपालमुनि बस्नेको जिन्दगी बेहाल छ।’

त्रिपालमा बस्दै आएका रामजीलाई चिसो बढेसँगै एक साताअघि सास फेर्न गाह्रो भयो। उनको रक्तचाप ह्वात्तै बढ्यो। उनलाई जिल्ला अस्पताल सिरहामा लगियो। उपचारपछि महरा फेरि त्रिपालमै फर्किएका छन्। ‘चिसोले अहिले पनि सास फेर्न गाह्रो हुन्छ,’ रामजीले भने, ‘चिसोले त्रिपालभित्रै मरिन्छ जस्तो लागेको छ।’ १० दिनदेखि शीतलहरसँगै लड्दै आएको सुनाउँदै उनले थपे, ‘जाडोले राति निद्रा लाग्दैन, आगो तापेर रात कटाउँछु।’ रामजीको सहित ६ परिवारको बसाइ अहिले सिरहा नगरपालिका–६ बसविट्टाको आँप बगैंचामा त्रिपालमुनि छ। जिल्ला दैवी प्रकोप समिति, नगरपालिका र रेडक्रसले उनीहरूलाई चामल, त्रिपाल र कम्बल वितरण गरेका छन्।

लहान नगरपालिका–२२ स्थित सडकमा रहेको ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन्। तीमध्ये एउटा छाप्रोमा दसै सदायको परिवार अटाएको छ। गत वर्ष त्यही छाप्रोमा जाडो सहन नसकेर दसैका पिता ढेकरु सदायले ज्यान गुमाए। काजकिरिया गर्न साहुसँग लिएको २० हजार रुपैयाँ ऋण उनले अझै चुक्ता गर्न सकेका छैनन्। ‘पोहोर साहुसँग लिएको ऋण चुक्ता गर्न सके छोरीको विवाह आँट्ने उनको सोच छ। तर साहुको ऋण मजदुरीबाट चुक्ता गर्न कहाँ सजिलो छ र !’ उनले भने, ‘एक वर्ष भयो सावा ज्यूँका त्यूँ छ। उनको मजदुरीले साहुको ब्याज मात्र चुक्ता हुँदो रहेछ।

जाडो छल्ने न्यानो कपडाको जोहोसँगै छोरीको बिहे गर्ने तनावले उनी पिरोलिएका छन्। पहिलाकै ऋण तिर्न बाँकी रहेका बेला थप ऋणका लागि साहुले नपत्याउने उनको चिन्ता छ। ‘जिन्दगीभर जमिनदारको खेतमा श्रम गरेर पनि मर्ने बेलासम्म ऋणको भारी रहिरहन्छ। हाम्रो सम्पत्ति भनेको ऐलानी जमिनमा घामपानीबाट ओत लाग्न ठड्याएको छाप्रो मात्र हो,’ दसैले भने, ‘कहाँबाट ल्याउनु न्यानो लुगा र पछिया हावा रोक्ने छानो ?’

मधेस शीतलहरको सिरेटोले चिसिएका बेला विपन्नहरू सबैभन्दा बढी पीडा भोग्न बाध्य छन्। आजीवन ऋणी हुनुपर्ने बाध्यता भोगिरहेका यी समुदायलाई शीतलहरको सिरेटोले कष्ट थपिदिएको छ। उनीहरू शीतलहरका कारण नभई गरिबीका कारण मृत्युवरण गर्न बाध्य बन्दै छन्। यी समुदाय शीतलहरबाट नभई गरिबीबाट मुक्ति खोजिरहेका छन्। उनीहरू आजीवन ऋणबाट मुक्ति खोजिरहेका छन् तर विकल्प भेटेका छैनन्। सीतादेवी र ढेकरु मात्र होइनन्, शीतलहरले विपन्न परिवारका अन्य धेरैजना मृत्युवरण गर्न बाध्य भएका छन्। यो व्यथा सिंगो मधेसका विपन्न वर्गको हो। समाजको ठूलो हिस्सा ओगट्ने यो वर्ग सन्तुलित सेवासुविधाका लागि लामो समयदेखि प्रतीक्षारत छ।

पाँच दिन विद्यालय बिदा
शीतलहरका कारण चिसो बढेपछि आइतबारबाट पाँच दिनका लागि सिरहा नगरपालिकासहित जिल्लाभरका विद्यालयमा बिदा दिइएको छ। सिरहा, लहान र गोलबजार नगरपालिका तथा नगरहा गाउँपालिकाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म पालिकाभित्रका सम्पूर्ण विद्यालयलाई बिदा दिएको छ। वर्षे बिदाबाट कटौती हुनेगरी पालिकाभित्रका विद्यालयमा बिदा दिइएको हो।

यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसाधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन्। सिरहाका विष्णुपुर, सिरहा र सुखिपुर नगरपालिकाले विपन्नहरूलाई न्यानो कम्बल वितरण गरेका छन्। स्थानीय प्रशासन र प्रहरीले ठाउँठाउँमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएका छन्।

प्रकाशित: २१ पुस २०७६ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App