१३ असार २०८१ बिहीबार
image/svg+xml
समाज

सैनिक हिरासतमा रहेका कर्णेल मल्ल बर्खास्त

सैनिक प्रहरीको हिरासतमा रहेका नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्रकुमार मल्ल पदबाट बर्खास्त भएका छन्। उमेर विवादमा सैनिक अदालतको मंगलबारको फैसलाले कर्णेल मल्ललाई सेवाबाट हटाएको हो।

न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार पदमा चार महिनाअघि गएका मल्ललाई जंगी अड्डाले त्यहाँबाट बोलाएको थियो। बोलाएर उनलाई जेठ २० गते पक्राउ गरी सैनिक हिरासतमा राखिएको थियो।

मल्लका व्यक्तिगत कागजातमा उमेर विवाद देखिएको भन्दै अनुसन्धान गर्न हिरासतमा राखेको जंगी अड्डाले जनाएको थियो। बढुवाको प्रक्रिया सुरु हुँदा पेस गरिएका कागजातमा कैफियत देखिएपछि न्युयोर्कबाट बोलाएर उनीमाथि अनुसन्धान थालिएको दाबी गरिएको थियो।

सैनिक अदालतको मंगलबारको फैसलाले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।

‘उहाँको उमेरसँग सम्बन्धित विवादका कागजात पेस भएका थिए। त्यसबारे अनुसन्धान गर्दा कमजोरी भेटिएपछि सैनिक अदालतले दोषी ठहर गरेर कारबाही भएको छ,’ प्रवक्ता केसीले भने।

प्रकाशित: ५ असार २०८१ १६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App