१३ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

जुम्लामा स्थानीय उत्पादनको प्रदर्शनी

जुम्लाको सदरमुकाम खलङ्गामा स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले  दुई दिने स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको हो। 

प्रदर्शनीमा किसानहरूले आफै उत्पादन गरेका रैथाने वस्तुहरू राखेका छन्।पछिल्लो समय बाहिरबाट आयातित खाद्यान्नका कारण स्थानीय उत्पादनमा गिरावट आउन थालेपछि किसानहरूलाई स्थानीय उत्पादनमा लाग्न प्रेरित गर्ने हेतुले प्रदर्शनी आयोजना गरिएको हो।स्थानीय कच्चा पदार्थ स्वदेशी उत्पादन र रोजगारीमा अभिवृद्धि, लघु घरेलु तथा साना उद्यममा लगानी कर्णालीको समृद्धि भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा किसानहरूको उत्साह वर्द्धक सहभागिता छ । प्रदर्शनीमा १८ वटा स्टल राखिएका छन्।

 स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थहरूको बारेमा जानकारी र परम्परागत एवं सुधारका प्रविधिहरूको प्रदर्शनी गरिएको छ । स्थानीय उत्पादनमा मकै, सिमी, आलु, कोदो, चिनो, कागुनो, मार्सी चामल, जौ, गहुँ, फाफर लगायतका कृषि उपजहरू प्याकेजिङ बनाएर राखिएको छ। राडी पाखी, स्विटर, खरायोको टोपी लगायतका सामग्रीहरूदेखि स्याउका चाना, आरु, ओखर पनि प्रदर्शनीमा राखिएको थियो। फापरको केक, कोदोको मम, जडिबुटी चिया, मह, शिलाजित, देवद्यारको तेल पनि प्रदर्शनीमा राखिएको छ ।जुम्लाको चन्दननाथ नगरपालिका ५ कि सुशीला श्रेष्ठ जुम्लाको स्थानीय बालीको प्रदर्शनीले सकली किसानको पहिचान दिएको बताउँछिन्।

उनले किसानहरूको दुःख अनुसारको फल प्राप्ति भइरहेको बताउँदै आगामी दिनहरूमा किसानहरूलाई लघु उद्यमसंग जोड्नुपर्ने बताइन्।उनले भनिन्, ‘हामी किसानहरू रैथाने बालीहरूको उत्पादन गर्न तयार छौं । सरकारले बेच्ने वातावरण बनाइदिनुपर्‍यो।’ उनले झन्डै २० प्रकारको रैथाने बालीहरूको प्याकेजिङ गरेर प्रदर्शनीमा राखेकी छिन् ।तिला गाउँपालिका २ लिही गाउँका हर्कबहादुर  रोकायाले किसानहरूको मिहिनेतमा सरकारको अपनत्व हुनुपर्ने बताए। 

उनले भने, ‘गाउँमा किसानहरू रैथाने बाली जोगाउन लागि परेका छन् तर उचित बजारीकरणको अभावमा व्यावसायिक रुपमा अघि बढाउन सकेका छैनन् । प्रदर्शनीमा उत्कृष्ट किसानहरूले पुरस्कार पाउनेछन् । जुम्लाको रैथाने बालीको उत्पादनलाई स्तरोन्नति गर्ने, गाउॅगाउॅमा उद्योगहरू छन्।

 उनीहरूको पहिचान र बजारीकरणका लागि सहयोग पुगोस् भन्नका खातिर प्रदर्शनीको आयोजना गरिएको छ। जुम्लाका आठै वटा स्थानीय तहका स्टलहरू राख्न भनिएको थियो। २२ वटा दर्ता भएकोमा १८ मात्रै राखिएको छ, कार्यालय प्रमुख विनोद बानियाँले बताए।उत्कृष्ट किसान छान्न कार्यालयको मापदण्ड र अवलोकन कर्ताहरूको भोटिङले महत्त्वपूर्ण भूमिका रहनेछ। प्रथमलाई ३० हजार, दोस्रो २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले जनाएको छ। 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले प्रदर्शनीको उद्घाटन गरेका थिए। आचार्यले स्थानीय उत्पादन गुणस्तर उत्पादन गर्नुपर्ने बताए।प्रदर्शनीले उद्योगीलाई प्रोत्साहन मिल्ने बताउँदै गुणस्तरमा ध्यान दिएमा जुम्लाका उत्पादन विश्व बजारमा समेत बिक्री हुने तर्क राखे।प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे अर्गानिक खानाले स्वस्थ जीवनमा ठुलो योगदान पुर्‍याउने भएकाले त्यो सम्भावना जुम्लामा रहेको बताए।सफल उद्योगी नारायण चौलागाईले आफ्नो अनुभव सुनाउँदै मिहिनेत गरे लघु उद्योगले जीवन परिवर्तन हुने बताइन्।स्टलहरू सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूले प्रदर्शनीको अवलोकन गरेका छन्।

प्रकाशित: ७ असार २०८१ २१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App