इलाम– सदरमुकामस्थित पूर्वकै जेठो महेन्द्ररत्न बहुमुखी क्याम्पस डेढ महिनायता अन्योलमा गुज्रिरहेको छ। विद्यार्थी आन्दोलन र समस्या समाधानमा क्याम्पस प्रशासनको तदारुकता अभावले प्रशासनिक कामकाज ठप्प छ।
२ हजार हाराहारी विद्यार्थी अध्ययन गरिरहेको जिल्लाकै एकमात्र सरकारी क्याम्पसका प्रमुखको कार्यकक्ष मंसिर पहिलो सातादेखि नै विद्यार्थीले तालाबन्दी गरिदिएका छन्। कार्यकक्ष तालाबन्दी भएका बेला क्याम्पस प्रमुख रामप्रसाद गुरागाईं ४० दिनभन्दा बढी काठमाडौं बसेपछि क्याम्पसको कामकाज शून्यप्राय रह्यो। केही दिनअघि इलाम फर्किएका प्रमुखले आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाएपनि वार्ता हुन सकेन। विद्यार्थीले वार्तामा आउनुको सट्टा गत १४ गते प्रशासन र लेखा शाखामा समेत ताला थपिदिएपछि सबै कामकाज ठप्प भएको छ। तालाबन्दीका कारण क्याम्पसको प्रशासनिक कामकाज प्रमुखले बाहिरबाटै सञ्चालन गरिरहेका छन्।
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले गत कात्तिक २४ मा क्याम्पस प्रशासनलाई १८ बुँदे मागपत्र बुझाएका थिए। नियमित, स्वच्छ र शान्त वातावरणमा पठनपाठन व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको मापदण्ड र कानुन मिचेर दोहोरो, तेहेरो सेवा–सुविधा प्रदान गर्नेगरी विभिन्न बहानामा करारमा गरिएको मनपरी नियुक्ति खारेज गर्नुपर्ने, क्याम्पस हाताभित्र नक्सापास नै नगरी भइरहेको भवन निर्माण कार्य तत्काल रोकी प्रावधान पु¥याउनुपर्ने माग विद्यार्थीले राखेका थिए । उनीहरूले बागवानी संकायको सहायक प्रमुख तत्काल नियुक्त गर्नुपर्ने, त्यस संकायमा क्रेडिट आवर पूरा भएका विषयमा एमएस्सी एजी वा सोसरहका विषयमा रामपुरलगायत क्याम्पसमा अध्ययन गर्न पाउने र क्रेडिट आवर पूरा भएका विषयमा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने सुनिश्चितता गरिनुपर्ने माग पनि राखेका थिए। विद्यार्थीले एमबिएस, बिबिएलगायत संकायको सञ्चालनप्रक्रिया अगाडि बढाउन तथा प्राध्यापक, कर्मचारी र विद्यार्थीको इलेक्ट्रोनिक हाजिरी व्यवस्था गर्न पनि माग गरेका थिए।
तर, सुरुको वार्तामा प्रशासनसँग सहमति नभएपछि दुवै संगठनले मंसिर पहिलो साता प्रमुखको कार्यकक्षमा तालाबन्दी गरे। ‘क्याम्पसले माग पूरा नगरेपछि तालाबन्दी गर्नुपरेको हो,’ अनेरास्ववियू क्याम्पस कमिटी सचिव विशाल कार्कीले भने, ‘तालाबन्दीपछि क्याम्पस प्रमुख लामो समय काठमाडौं बसेर हाम्रो माग बेवास्ता गरिएको छ।’
बैठकका लागि भन्दै कात्तिक ३० गते काठमाडौं गएका प्रमुख गुरागाईंले क्याम्पस फर्किएर पुस १३ मा आन्दोलनरत विद्यार्थीलाई लिखित रूपमै वार्तामा बोलाए। तर, वार्ताका लागि समय, स्थान, मिति केही नतोकिएको विद्यार्थी बताउँछन्। ‘वार्ता कहाँ, कहिले गर्ने भन्ने कुनै निश्चित भएन,’ विद्यार्थी नेता कार्कीले भने, ‘प्रमुखले हाम्रो फोन उठाउनुहुन्न। समस्या समाधानका लागि प्रमुखको निवासमै जाँदा पनि प्रमुखले हुन्छ–हुन्छ भन्नेबाहेक ठोस पहल गर्नुभएन।’
क्याम्पसमा पछिल्लो समय शैक्षिक, प्रशासनिक, भौतिक, आर्थिकलगायतमा अपारदर्शी, अमर्यादित र बद्नियतपूर्ण कार्यशैली देखिएको विद्यार्थीको आरोप छ । विगतमा भएका सहमति कार्यान्वयनमा पनि प्रशासनले कुनै चासो नदेखाएको भन्दै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले क्याम्पसको नेतृत्व नियम–कानुन उल्लंघन गर्दै निजी स्वार्थमा लागेको बताएका छन् ।
शिक्षक–कर्मचारीको तलब वितरणदेखि अन्य कामकाजसमेत लामो समय अन्योलग्रस्त भएपछि क्याम्पसस्थित प्राध्यापकआबद्ध संघ–संगठनले क्याम्पसको गतिहीनता अन्त्य गर्न आग्रह गरे । नेपाल प्राध्यापक संघले गत बिहीबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न, नसके ‘बाटो खुला गर्न’समेत क्याम्पस प्रशासनलाई आग्रह गरेको छ । संघका सभापति तारानाथ पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पसका सरोकारवाला व्यक्ति वा निकायले कि समयमा निकास दिनुपर्छ, यदि आ–आफ्नो दायित्व, भूमिका निर्वाह गर्न सकिँदैन भने बाटो खुला गरिदिनुपर्छ ।’ क्याम्पसमा उत्पन्न समस्याका विषयमा सरोकारवाला मौन रही विद्यार्थीको भाग्य र भविष्य निर्धारण गर्ने संस्थालाई अनिर्णयको बन्दी बनाइराख्न उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघले क्याम्पस केही समययता विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै विद्यार्थीले गरेको तालाबन्दीउपर कारबाही नहुनु, प्रमुख लामो समय काठमाडौं बस्नु, शैक्षिक–प्रशासनिक कामकाज कमजोर हुनुजस्ता कारणले क्याम्पसको प्राज्ञिक उन्नयनमा गिरावट आएको जनाएको छ । पुस ९ मा विज्ञप्ति जारी गर्दै संघले राजनीतिक आस्था सबैमा हुने भएपनि निहीत स्वार्थमा क्याम्पसजस्तो विद्याको मन्दिर, प्राज्ञिक थलोमा रडाको मच्चाउनु र कचहरीथलो बनाइनु शोभनीय नहुने जनाएको छ । ‘दलगत राजनीतिको मौन समर्थकको मूकदर्शक बन्नु पनि उत्ति श्रेयस्कर देखिन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै अमुक दलगत स्वार्थ, प्राध्यापकबीचको सौहार्दताको कमीले प्राध्यापक, कर्मचारी, विद्यार्थी, सञ्चालक समिति र सरोकारवालाबीच दरार पैदा हुने अवस्था बनेको छ ।’
नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संघले पनि देशभरका आंगिक क्याम्पसमध्येमा लगातार दुईपटक उत्कृष्ट ठहरिएको मरब क्याम्पसको साख पछिल्लो समय देखिएको समस्या समाधानको पहल नगरिएकै कारण खस्किँदै गएको जनाएका छन् । पुस ११ मा संयुक्त विज्ञप्ति जारी गर्दै दुवै संगठनले पठनपाठन, अध्ययन, अनुसन्धान तथा प्रकाशनका नियमित कार्यलाई व्यवस्थित गर्दै निरन्तरता प्रदान गर्नुको साटो प्राध्यापक, कर्मचारी, विद्यार्थी र सरोकारवालाको भावनाविपरीत निहीत स्वार्थमा रहेर क्याम्पस सञ्चालनको दुष्प्रयास गरिएको जनाएका छन् । क्याम्पसको गतिहीनता, अनिर्णीत अवस्था र बिग्रँदो परिस्थितिले प्राध्यापक, कर्मचारी, विद्यार्थी र सरोकारवाला सबैलाई चिन्नित बनाएकाले क्याम्पसलाई तुरुन्त निकास दिन विज्ञप्तिमार्फत् माग गरिएको छ ।
गत कात्तिक २४ मा पनि विद्यार्थीले क्याम्पसले सहमतिविपरीत परीक्षा शुल्क बढाएको विरोध गर्दै क्याम्पस प्रमुख गुरागाईंसहित सहायक प्रमुखद्वय पुष्प ढुगाना र पूर्वचन्द्र ढुंगानालाई ५ घण्टा प्रमुखको कोठामा थुनेका थिए। बागवानी संकाय पढेका विद्यार्थीले लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउनुपर्ने, यहाँ अध्ययन गरेपछि माथिल्लो तहमा त्यही विषय पढ्ने व्यवस्था हुनुपर्नेलगायतका माग विद्यार्थीले राखेका थिए। त्यसै दिन साँझपख भएको वार्तामा बढाइएको शुल्क फिर्ता गर्ने, माथिल्लो तहमा अध्ययन, लोकसेवा आयोगमा सहभागितालगायतबारे छलफल गर्न समिति बनाउने सहमति जुटेको थियो।
प्रमुख गुरागाईंले आफूले वार्तामा बोलाउँदा विद्यार्थीहरू नआएको बताए । ‘प्रमुखको कार्यकक्षमा लगाइएको ताला खोलेर समस्या समाधानका लागि छलफल गरौं भन्ने प्रस्ताव राख्दा विद्यार्थीले क्याम्पसको सवारी साधनको साँचो पनि भित्रै राखेर प्रशासन र लेखा शाखामा समेत तालाबन्दी गरे,’ प्रमुख गुरागाईंले नागरिकसँग भने, ‘छलफल र संवादबाटै समस्याको समाधान खोजिने भएकाले मैले त्यसको प्रयास गरेको थिए।’
प्रमुख गुरागाईंले आफू काठमाडौंमा रहेका बेला गत मंसिर १ देखि पुस १२ सम्म क्याम्पसले गरेका नीतिगत र प्रशानिक कामको १८ बुँदे सूचीसमेत सार्वजनिक गरेका छन्।
२०६७ माघ १८ मा देशकै पहिलो स्वायत्तताप्राप्त महाविद्यालय घोषित भएको मरब क्याम्पसलाई सरकारले त्यसअघि पनि पुरस्कृत गरेको थियो । क्याम्पसको गतिविधि मूल्यांकन गर्दै सरकारले अढाई लाख रुपैयाँको पुरस्कार प्रदान गरेको थियो । शिक्षा, मानविकी र व्यवस्थापन गरी ३ संकाय रहेको क्याम्पसको स्नातक तह विज्ञान संकायमा कृषि र बागवानीसमेत पढाइ हुन्छ । २०१७ सालमा स्थापित मरब क्याम्पस स्वायत्ततामा गएपछि भौतिक अवस्था सुध्रिएको थियो।
प्रकाशित: १९ पुस २०७६ ०८:४१ शनिबार