१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शीतलहरले जनजीवन अस्तव्यस्त

राजविराज – १२ दिनयता बढेको चिसो तथा शीतलहरका कारण यतिखेर सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। दुई सातायता चिसो हावासँगै चलिरहेको शीतलहरले सप्तरीमन तराईका सिरहा, सुनसरी, धनुषा, उदयपुरलगायत जिल्लाको जनजीवन प्रभावित हुन पुगेको छ।

न्यानो लुगा र तातोको अभावमा सप्तरीमा शीतलहरबाट बर्सेनि दुई दर्जन व्यक्तिको कठ्यांग्रिएर मृत्यु हुने गरेको छ। तर जिल्लाको यस्तो भयावह तथ्यांक हुँदाहुँदै पनि स्थानीय तहले शीतलहरपीडित वर्गका लागि कुनै किसिमको सहयोग प्याकेज ल्याउन सकेको छैन। न त कुनै तयारी तथा योजना नै देखिन्छ। ‘शीतलहरका कारण जनजीवन अस्तव्यस्त भएको छ,’ विपद् प्रभावित समुदाय सञ्जालआबद्ध देवनारायण यादव भन्छन्, ‘तर तीनवटै तहका सरकार र राज्यका संयन्त्रहरू अझै जागेका छैनन्।’

मधेसका डोम, मुसहर, बाँतर, दूसाधलगायत सीमान्तकृत जाति र जुनसुकै जातका व्यक्ति भए पनि आर्थिक स्थिति कमजोर भएकाहरूलाई नै शीतलहरले बढी सताउने गरेको छ। खासगरी उनीहरूसँग शीतलहर थेग्ने घर र न्यानो लुगाको अभाव हुने गरेको छ।

‘दिनभर मिहिनेत मजदुरी गर्दा पनि दुई छाक टार्न समस्या भइरहेको छ,’ डोम जातिका अगुवा युक्ति मरिक भन्छन्, ‘कहाँबाट न्यानो लुगा किन्नु ?,’ सप्तरीमा मात्रै युक्ति मरिकजस्ता हजारौं नेपालीलाई न्यानो लुगाको खाँचो छ, हावा छेक्ने घर छैन। उनीहरू शीतलहर तथा चिसोका कारण अकालमा ज्यान गुमाउन बाध्य छन्।

शीतलहरको समस्या बर्सेनि हुने भएकाले यसबाट जनतालाई जोगाउन प्रधानमन्त्रीस्तरबाटै विशेष प्याकेज नै मुलुकमा ल्याउनुपर्ने स्थानीय अगुवाहरूको भनाइ छ। ‘शीतलहरले हजारौं मानिस प्रभावित भइरहेका छन्। लुगा नभएकाले बढी समस्या खेप्नुपरेको छ,’ स्थानीय बौद्धिक अगुवा एवं राजनीतिकर्मी खुसीलाल मण्डलले भने, ‘शीतलहरबाट हुने क्षतितर्फ सरकारको नेतृत्व सचेत हुनु जरुरी छ।’ राज्यले आफ्नो स्तरबाट यस्ता समस्यामाथि गम्भीर चासो र चिन्ता राख्नुपर्ने उनको सुझाव छ।

विपन्नको बिजोग
शीतलहरले सबैभन्दा बढी विपन्न, गरिब, दलितहरूको जनजीवनलाई बढी प्रभावित पारेको छ। खासगरी डोम, मुसहरलगायत बस्तीहरूमा शीतलहरले वृद्ध, बालबालिका तथा महिलाहरूको बिचल्ली भएको छ।

‘लत्ता–कपडा छैनन्, घर पनि उस्तै। परालको भरमा जाडो काट्नुपर्ने बाध्यता छ। त्यसमाथि बढ्दो शीतलहर तथा चिसोले कठ्याङ्ग्रिएर मर्छौ जस्तो लाग्छ,’ चिसोकै कारण ६ वर्षअघि पति गुमाएकी लौनियाँ–९ की कजरी मरिकले भनिन्, ‘आफू मरे पनि केही छैन, अबोध बालबच्चाहरूको चिन्ताले पिरोलिएकी छु।’

पैसा नहुँदा बालबच्चाहरूका लागि न्यानो लुगासमेत किन्न अप्ठरो भएको उनको गुनासो छ। ‘दुई छाक खान पनि समस्या परिरहेको बेला लुगाफाटो कहाँबाट किन्नु ?,’ उनले भनिन्, ‘गिरहतहरू (मालिक) ले कहिलेकाहीं केही लुगाफाटो दिइहाल्छन् तर त्यसको भरमा कसरी यस्तो शीतलहर खेप्नु ?’ भत्केको घरमा पाँचजना बालबालिकालाई राख्नुपर्ने बाध्यता सुनाउँदै कजरीले भनिन्, ‘घर पनि हावा छेक्ने खालको छैन, चिसोबाट जोगिन अरूको खेतबाट मागेर ल्याएको पराल ओछ्याएर सुत्ने गरेका छौं।’

राजकुमार मरिकले पनि यस्तै समस्या सुनाए। दुई वर्षअघि जाडोकै कारण ५५ वर्षीय हजुरआमा धनवन्ती मरिकको निधन भएको जानकारी गराउँदै उनले भने, ‘खासै मर्ने उमेर नभए पनि शीतलहर तथा चिसो खेप्न नसकेर उनको मृत्यु भएको थियो।’ प्रत्येक वर्ष दुई÷चारजना बूढापाकाहरू चिसोकै मौसममा बित्ने गरेको राजकुमारको भनाइ छ।

६० वर्षीय वृद्धा स्थानीय सावित्री मरिकले शीतलहर तथा चिसो आफूहरूका लागि अभिसाप भएको बताइन्। नागरिकसँग गुनासो पोख्दै उनले भनिन्, ‘हाम्रो घर, लत्ताकपडा सबै उस्तै हो, पैसाको अभावमा हामी राम्रो लुगा किन्न सक्दैनौं, राम्रो घर बनाउन सक्दैनौं, यस्तो अवस्थामा अति जाडोले कठ्याङ्ग्रिएर मर्नुपर्ने बाध्यता छ।’

लौनियाँमात्रै नभई जिल्लाभरिकै डोमहरूको अवस्था उस्तै रहेको छ। एक हजार दुई सयको हाराहारीमा रहेका डोमहरूको जनजीवन शीतलहरका कारण कष्टकर बन्दै गएको डोम अगुवा युक्तिलाल मरिकको भनाइ छ।

एक सय दुई विद्यालय बन्द
शीतलहरसँगै बढ्दो चिसोका कारण सप्तरीका विद्यालयहरूमा विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ। विद्यार्थीहरू विद्यालय आउन छाडेपछि जिल्लाका पाँच स्थानीय तहले विद्यालय बन्दको निर्णय गरेका छन्।

छिन्नमस्ता गाउँपालिकाले सोमबारदेखि १९ वटा विद्यालय चार दिनका लागि बन्दको निर्णय गरेको छ। ठन्डी बढेसँगै विद्यार्थीको उपस्थिति घटेपछि चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको उक्त गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोषकुमार रायले बताए।

रूपनी गाउँपालिकाले पनि सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि विद्यालय बन्दको निर्णय गरेको छ। मातहतका विद्यालयमा बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी गराए।

चिसो बढेपछि राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याएको ६ दिनमध्ये हाललाई आइतबारदेखि मंगलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेकोे छ। बन्दको निर्णयपछि राजविराज नगरपालिकाका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरप्रमुख शम्भुप्रसाद यादवले बताए।

तिलाठी कोइलाडी गाउँपालिकाले चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ। गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए। यसअघि सप्तकोसी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए।

जिल्लाका पाँच स्थानीय तहले विद्यालय बन्दको निर्णय गरेपछि जिल्लाका एक सय दुईवटा विद्यालयमा हाल पठनपाठन ठप्प भएको छ। जिल्लाको खडक नगरपालिका–३ स्थित कन्चिरा प्राथमिक विद्यालयमा पनि आइतबार विद्यार्थीको संख्या न्यून रहेको प्रधानाध्यापक रामचन्द्र साहले जानकारी दिए।

अस्पतालमा बिरामीको चाप
सप्तरीका विभिन्न अस्पतालमा शीतलहरपीडित भई उपचार गराउन आउनेहरूको संख्या दिनदिनै बढ्दै गएको छ। सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पछिल्लो तीन दिनदेखि शीतलहर प्रभावित भई उपचारार्थ आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ।

‘अहिलै दैनिक शीतलहरबाट पीडित भएकाहरू दुई दर्जनभन्दा बढी संख्या उपचारार्थ आउने गरेका छन्,’ अस्पताल स्रोतले भन्यो, ‘शीतलहरबाट प्रभावित हुनेहरूमा बढीजसो बालबालिका र वृद्धवृद्धा छन्।’ जिल्लास्थित पाँचवटै प्राथमिक स्वास्थ्य केन्द्र र भारदह अस्पतालमा पनि उपचार गराउन आउने शीतलहरपीडितहरूको संख्या उल्लेख्य छ।

प्रकाशित: १० पुस २०७६ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App