पोखरा- बेलायतले गोर्खा भर्ती छनोट प्रक्रियालाई निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुने बताइरहेका बेला गोर्खा जस्टिसले बेलायती सेनाको भर्ती छनोट प्रक्रियामा विभेद हुने गरेको आरोप लगाएको छ। जस्टिसले शुक्रबार पोखरामा पत्रकार सम्मेन गरि भर्ती छनोटमा विभेद हुँदै आएको आरोप लगाएको हो।
जस्टिसका संयोजक एवं भुपू गोर्खा सैनिक नरेश गुरुङले बेलायतले गोर्खा भर्ती छनोट गर्दा सुन्दै अचम्म लाग्ने खालको विभेद गरे पनि धेरै नेपालीलाई थाह नभएकाले पत्रकार सम्मेलन मार्फत त्यसको पर्दाफास गर्न बाध्य भएको बताए।
‘गोर्खा भर्ती छनोट प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुन्छ भनिए पनि त्यस्तो भएको पाइदैन। गोर्खा भर्ती पूर्ण रुपमा विभेदयुक्त हुँदै आएको छ’ संयोजक गुरुङले भने। उनले पूर्व र पश्चिमबाट पचास÷पचास प्रतिशत भर्ती लिने प्रावधानले नै गोर्खा भर्ती छनोटको मापदण्ड निष्पक्ष नभएको दाबी गरे।
‘पूर्वी क्षेत्रमा साविकका ४ वटा अञ्चल मात्रै पर्छन्। जहाँ थोरै जिल्ला छन्। पश्चिममा साविकका १० अञ्चल पर्छन यसले गर्दा पूर्वको तुलनाका पश्चिमका युवालाई कम अवसर हुने भएकाले यसलाई रद्द गर्नुपर्छ’ संयोजक गुरुङले भने,‘पूर्व र पश्चिम भनेर छट्याउनु नै विभेदको नमुना हो। भर्ती छनौट गर्दा युवाको क्षमता प्रदर्शन र योग्यताको आधारमा गर्नुपर्छ।’
संयोजक गुरुङले गोर्खा भर्तीका मामलमा काठाडमौं उपत्यकाका युवाहरुलाई बेलायती सेनामा भर्ती नलिने गरेको प्रसंग पनि सुनाए। ‘काठमाडौं, ललितपुर र भक्तपुरका युवाहरुलाई अहिले पनि गोर्खा भर्तीमा जान बन्देज गरेर भेदभाव गरिएको छ’ उनले भने,‘नेपाली नागरिक भएको नाताले उनीहरूलाई बेलायती सेनामा भर्ती हुन ‘समान अवसर’ दिइनुपर्दछ। यो विषयमा धेरै नेपालीलाई थाह पनि छैन।’
गोर्खा जस्टिसले बेलायती सेनामा भर्ती हुँदा हुने ‘डोको दौड’ लाई तुरुन्तै रोक्नुपर्ने माग समेत गरेको छ। बेलायती सेनामा ‘डोको दौड’ को प्रावधान नभएकाले गोर्खाली युवालाई मात्रै ‘डोको दौड’ राखिनु भेदभावपूर्ण रहेको जस्टिसको दाबी छ।
जस्टिसका संयोजक नरेश गुरुङले पोखरा ब्रिटिस क्याम्पका प्रमुख डिआरो सेट्टी नाइटिङ्गेललाई गोर्खा भर्ती छनोटमा विभेद गरिनुको कारण पटकपटक सोध्दा समेत जवाफ नआएकाले पत्रकार सम्मलन गरी विभेदबारे जानकारी गराएको बताए।
‘हामीले भर्ती छनोटमा गरिने विभेदबारे पटकपटक पत्राचार गरेर जवाफ माग्यौं। तर सही जवाफ आएन। मेजर नाइटिङ्गेलले माथिल्लो निकायले कुनै खबर नगरेको पत्रचार गरे’ संयोजक गुरुङले भने,‘पहिलो प्रयासस्वरुप पत्रकार सम्मेलन गरेका हौं। अब हामी कानुनी रुपमा लाग्नेछौं।’
नेपाल–अङ्ग्रेज युद्धका बेला अङ्ग्रेज जनरल डेबिट अक्टरलोनी समक्ष सरदार अमरसिंह थापाले सन् १८१५ मा आत्मसमर्पण गरेपछि अक्टरलोनी र अमरसिंह थापाको बीचमा सम्झौता भयो। यही सम्झौता अनुसार नेपालीहरू गोर्खा भर्ती जाने सिलसिला सुरु भएको थियो।
अङ्ग्रेजले त्यसयता गोर्खाली युवालाई इस्ट इन्डिया कम्पनी हुँदै बेलायती सेना र सन् १९४७ मा स्वतन्त्र भएपछि भारतले आफ्नो सेना तथा सन् १९४९ मा सिंगापुरले आफ्नो पुलिसमा निरन्तर भर्ती लिइरहेको छ।
प्रकाशित: ४ पुस २०७६ १२:०३ शुक्रबार