२ असार २०८१ आइतबार
image/svg+xml
समाज

शीतलहरमा राहत विलम्ब

सिरहा – तराई मधेसमा शीतलहर नौलो होइन। प्रत्येक वर्ष मधेस शीतलहरले चिसिन्छ। शीतलहरका कारण विपन्नहरू कठ्याङग्रिएर ज्यान गुमाउँछन्। त्यसपछि स्थानीय सरकार तथा सहयोगी हातहरू आउँछन्।

विपन्न परिवारले शीतलहरबाट जोगिन चाहिने न्यानो लुगा र दाउराका लागि पहिला केन्द्र सरकार र सहयोगीको मुख ताक्नुपर्ने बाध्यता थियो। दुई वर्ष भयो गाउँमा सिंहदरबार आयो भनिएको छ। शीतलहरले कष्टकर जीवन बाँच्न बाध्य मधेसका विपन्नहरू स्थानीय सरकारसँग हारगुहार गरिरहेका छन्। तर राहतका लागि सुनुवाइ गर्नुपर्ने निकायको तदारुकता र आवश्यक पूर्वतयारी भने देखिएको छैन।

यसैबीच, लक्ष्मीपुर पत्तारी गाउँपालिकाले शीतलहर सुरु भएको पाँच दिनपछि अर्थात् बिहीबार प्रभावित जनताका लागि कम्बल खरिद गर्नेबारे छलफल गरेको छ। ‘सकेसम्म चाँडो खरिद गरेर दाउरा र कम्बल वितरण गर्ने हाम्रो योजना छ,’ लक्ष्मीपुर पत्तारीका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र महतले भने।

नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र यादवका अनुसार शीतलहर प्रभावितका लागि ३५ क्विन्टल दाउरा खरिद गरिएको छ। तर वितरण गरिएको छैन। कहाँ कसरी वितरण गर्ने भन्नेबारे छलफल भइरहेको छ। डिभिजन वन कार्यालयसँग दाउरा माग गरिएको र उताबाट दाउरा प्राप्त हुनासाथ वितरण गरिने लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरिराज ज्ञवालीले बताए। सखुवानकारकट्टी गाउँपालिकाले पनि डिभिजन वन कार्यालय लहानसँग दाउरा मागेको छ।

तर भगवान्पुर गाउँपालिकाले शीतलहरपीडितका लागि न्यानो वितरण गर्ने कुनै तयारी गरेको छैन। गोलबजार, मिर्चैैया, कर्जन्हा, कल्याणपुर, सिरहा, नगरपालिकाले पनि शीतलहरपीडितलाई न्यानो बाँड्ने तयारी गरेको छैन। यस गाउँपालिकाले पनि प्रभावितका लागि आवश्यक न्यानो वितरण गरेको छैन।

शीतलहर बर्सेनि दोेहोरिरहने समस्या भए पनि मधेसका स्थानीय तहले शीतलहरबाट बच्ने पूर्वयोजना बनाइएको पाइँदैन। सिरहा त उदाहरण मात्र हो, प्रदेश दुईका अधिकतर जिल्लाका स्थानीय तह शीतलहरबाट प्रभावितलाई न्यानो बाँड्न पूर्वतयारी गरेका छैनन्। जब प-यो राति अनि बूढी ताती भने जस्तो स्थानीय तह बल्ल दाउरा किन्ने, माग्ने र बाँड्नेबारे सोचिरहेका छन्। न्यानो अभावका कारण मधेसका विपन्नहरू भने चिसोका कठ्याङग्रिएर मृत्युवरण गर्न बाध्य छन्।

मधेसमा शीतलहर चल्न थालेको पाँच दिन भइसक्दा पनि स्थानीय तहबाट दाउरासमेत वितरण नहुनुले स्थानीय सरकारेको जाडो तयारीलाई छताछुल्ल पारिदिएको गोलबजार नगरपालिका सामाजिक अभियन्ता सुखबहादुर खुलालले बताए। अति विपन्न, सीमान्तकृत समुदायका मानिससँगै बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू चिसोबाट बढी प्रभावित छन्।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी बिहीबार सम्पूर्ण पालिका (१७ वटै स्थानीय तह) लाई शीतलहर प्रभावित बस्तीमा तत्काल न्यानो पु¥याउन पत्राचार गरेको बताउँछन्। ‘दाउरा बालेर प्रभावित बस्तीमा न्यानो तत्काल पु-याउन भनेका छौं,’ प्रजिअ अधिकारीले नागरिकसँग भने, ‘नसक्ने भए जवाफ फर्काउनसमेत भनिएको छ।’ शुक्रबारबाट पालिकाहरूले कहाँ, कसरी न्यानो वितरणको काम गरिहेका छन्, त्यसको अनुगमन पनि सुरु गर्ने अधिकारीले बताए।

प्रकाशित: ४ पुस २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App