१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अंग्रेजीमा प्रतिवेदन सार्वजनिक गर्दा अन्योलमा सहभागी

वीरेन्द्रनगर- वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा कर्णालीको विषय समेटिएको प्रस्तुतीकरण चलिरहेको थियो। उक्त प्रस्तुतीकरणलाई रोक्दै कर्णाली प्रदेशसभा सदस्य अमृता शाहीले भनिन्, ‘तपाईंले प्रस्तुत गरेको तथ्यांक अंग्रेजीमा हुँदा असहज भयो। नेपालीमा प्रस्तुत गरे सहभागी सबैलाई बुझ्न सहज हुन्थ्यो।’ त्यसलगत्तै आयोजकले अंग्रेजीमा प्रस्तुत गरेको उक्त तथ्यांक नेपालीमा उल्था गरेर प्रस्तुत गरे।

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अर्काे एक कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य झोवा विक लगायत सांसद र अन्य सहभागीको उपस्थिति थियो। त्यहाँ पनि अंग्रेजीमा प्रतिवेदन प्रस्तुत हुँदा झोवासहित सहभागी अनविज्ञ देखिन्थे।

केही नेपालीमा लेखिएका शब्द उचारण गर्न प्रस्तुतकर्तालाई अक्मकिनु पर्‍यो, जसले सहभागी सबैलाई खल्लो महशुस भयो। उनले नेपाली उचारण गर्दा केही शब्द अर्थको अनर्थ जस्तै भए। यति मात्र होइन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा अधिकांश कृषक थिए। यहाँ पनि कृषकले बुझ्ने भन्दा सहयोगी संस्थालाई लक्षित गरी प्रस्तुती राखियो।

यहाँ सहभागी भएका किसान उक्त विषयमा प्रस्टसँग जानकारी पाउन सकेनन्, जसले गर्दा उक्त कार्यक्रम प्रभावकारी भन्दा कामचलाउमै सीमित भयो। शिक्षाबाट वञ्चित कर्णालीमा आयोजना हुने यस्ता तमाम कार्यक्रममा सहभागीलाई ध्यान नदिएर अंग्रेजीबाट प्रस्तुतीकरण हुँदा सहभागीलाई बुझ्न समस्या हुँदै आएको छ। अंग्रेजी भाषा नबुझ्दा उनीहरू अलमलमा पर्ने गरेका सर्वसाधारणको गुनासो छ।

पछिल्लो समय कार्यक्रममा सहभागी भन्दा कार्यक्रमलाई सहयोग पुर्‍याउने दाता अनुकूल प्रतिवेदन तयार हुनु र सोही प्रतिवेदन प्रस्तुतीकरण हुनुले भएका उपलब्धि र कार्यक्रम बुझ्न सामान्य लेखपढ भएका कर्णालीवासीलाई समस्या भएको छ। ‘म सहभागी धेरै कार्यक्रममा अंग्रेजी भाषा प्रयोग भएको पाएको छु,’ कर्णाली प्रदेशकी सांसद अमृताले भनिन्, ‘कतिलाई त अंग्रेजी भाषा रोक्न लगाएर नेपाली भाषा प्रयोग गर्न लगाएको छु।’

लक्षित वर्गलाई ध्यानमा राखेर सामग्री नबनाउँदा यस्तो समस्या हुने गरेको सुन्दर नेपालका कार्यकारी निर्देशक खिमबहादुर रेग्मीले बताए। जसले आफ्ना गतिविधि सक्नेसम्म हुने र प्रभावकारी नहुने उनको भनाइ छ।

स्थानीय र मौलिक भाषामा प्रतिवेदन तथा सामग्री निर्माण गर्दा प्रभावकारी र सहभागी अनुसारको महत्व हुने उनले बताए। ‘गुगलबाट सर्च गरेर सामग्री झिकिन्छ,’ उनले भने, ‘अल्छीपनाले सोही सामग्री जस्ताको त्यस्तै राखिन्छ। त्यो सामान्य लेखपढ गरेका मान्छेलाई बुझ्न समस्या हुन्छ।’ कार्यक्रमका सहभागीलाई ध्यान नदिएर प्रस्तुत गरिने प्रतिवेदन र गरिने छलफल अस्वभनीय भएको कतिपयको भनाइ छ। त्यस्ता कार्यक्रममा आयोजकले नै करिब ७० प्रतिशतसम्म अंग्रेजी शब्द मिसावट गरेर बोल्दा पनि सामान्य लेखपढ गरेका सहभागी समस्यामा पर्ने गरेका छन्।

कार्यक्रमका सहभागीलाई ध्यान नदिएर सामग्री उत्पादन र कार्यक्रम छलफलमा प्रस्तुत हुनुपर्ने नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले बताए। ‘पछिल्लो समय अंग्रेजी शब्दले नेपाली शब्द लोप हुँदै जान थालेका छन्,’ उनले भने, ‘सकेसम्म नेपालीमै प्रस्तुती दिनुपर्छ।’

सहभागीमुखी भन्दा सहयोगी संस्थामुखी कार्यक्रम केन्द्रितहुँदा यस्तो समस्या विकराल हुँदै गएको उनको भनाइ छ । ‘म सामान्य लेखपढ गरेको व्यक्ति अंग्रेजीमै प्रस्तुती हुँदा समस्या हुन्छ,’ सीता चपाईंले भनिन्, ‘कहिलेकसो त कार्यक्रममा सहभागी नहुन मन लाग्छ।’

दातामुखी हुने हो भने नेपाली अंग्रेजी दुवै माध्यमबाट प्रस्तुत गर्न सकिने उनको भनाइ छ। जानकारी गराउन खोजेका विषय नेपालीमा प्रष्ट गरे अझ प्रभावकारी हुने उनले बताए। गैरसरकारी संस्थामा हुँदै गएको यस्तो प्रथा पछिल्लो समय सरकारी निकायले गर्ने कार्यक्रममा पनि देखा पर्दै गएको छ। कार्यक्रममा सहभागीको अवस्था हेरेर प्रस्तुतीकरण हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ३ पुस २०७६ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App