काठमाडौं – सिन्धुलीको मरिनखोला निवासी सविता राईले पति नभेटेको यही पुस महिना १० वर्ष पुग्दैछ। रोजगारीका लागि मलेसिया पुगेका पति सुकुले नफर्केपछि सविताले खोजीका लागि थुप्रै निकाय चहारिसकिन्। अनेक प्रयास गर्दा पनि मलेसियाबाट पतिलाई फर्काउन नसकेपछि उनको पतिसँगै बस्ने चाहना पूरा हुन सकेको छैन।
रोजगारीबाट आयआर्जन गरी घरको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यका साथ मलेसिया पुगेका पति सुकुले घर नफर्केपछि यतिखेर सविताको आर्थिक अवस्था पनि दयनीय बनेको छ। ‘घरको अवस्था सुधार होला भन्दै वैदेशिक रोजगारीमा गएका पति नफर्केपछि एकातिर विदेश जाँदा लागेको ऋण तिर्न सकिएको छैन भने अर्कोतर्फ छोराछोरीको दैनिक खर्च जुटाउन पनि हम्मेहम्मे परिरहेको छ,’ सोमबार उनले भनिन्, ‘वैदेशिक रोजगारीले परिवारमै विखण्डन बनायो।’
यतिखेर सवितासँग पतिले छाडेको पीडा मात्र नभई छोराछोरीले बुवा खोइ भनेर सोध्दा फर्काउने जवाफ पनि छैन। ‘उहाँ विदेश जाने बेला कान्छो छोरा तीन वर्षको थियो,’ उनले भनिन्, ‘अहिले १३ वर्ष पुगेको छोराले बुवा खोइ भनेर सोध्छ। फलानो ठाउँमा हुनुहुन्छ भन्ने जवाफ मसँग छैन।’
पतिलाई घर फर्काउन उनले अनेक तरिकाले सोधीखोजी गर्दा कसैले मलेसियामा अर्कै केटी बिहे गरेको पनि सुनाए। सविता भन्छिन्, ‘अहिलेसम्म जेजस्तो भए पनि छोराछोरीको शिक्षादीक्षाका लागि पतिलाई फिर्ता ल्याउन सहयोग गरिदिनु प-यो।’ उनका दुई छोरा र एक छोरी छन्। १० वर्षअघि फर्निचरको काम गर्न सुकुले मलेसिया पुगेका थिए।
गोरखा दरबुङ–३ की पूजा गुरुङले रोजगारीका लागि साउदी अरेबिया पुगेका पति गणेशलाई खोजी गर्न थालेको चार वर्ष भयो। २०७२ जेठ ४ गते साउदी उडेका गणेश सोही वर्षको पुस १७ सम्म पत्नीसँगको सञ्चार सम्पर्कमा थिए। ‘२०७२ पुस १७ गते राति ८ बजेसम्म दुई जनाबीच फोनमा कुरा भएको थियो,’ पूजाले भनिन्, ‘त्यसपछि सम्पर्क हुन सकेको छैन।’
पतिको सोधीखोजी गर्दा उनलाई थुपै्र सूचना मिलेको छ। ‘साउदीबाटै एकजना साथी बताउने व्यक्तिले बिरामी भएर अस्पताल पुगेको सूचना दिएको थियो,’ उनले भनिन्, ‘कुन अस्पतालमा राखिएको छ भन्नेबारे कुनै जानकारी नदिँदा वास्तविकता पत्ता लाग्न सकेको छैन।’
उनले पतिको वास्तविकता पत्ता लगाइदिन थुपै्र निकाय गुहारिसकेको बताइन्। ‘वैदेशिक रोजगारीमा गएका पतिको अवस्था पत्ता लगाउन सम्बद्ध सरोकारवाला कुनै पनि निकाय बाँकी राखेकी छैन,’ उनले भनिन्, ‘तर सबैतिरबाट प्रयासमात्र भइरहेको जवाफ आउँछ। वास्तविकता कहिल्यै खुल्दैन।’
चाडपर्व र अन्य उत्सवको बेला घरमा तयार हुने मीठा खानेकुराको परिकारले दमक–३ की ८५ वर्षीया कमला दवाडीको घाँटी अवरुद्ध हुन्छ। उनी २०६१ कात्तिक २९ गते घर छाडेका छोरा कमलप्रसाद घर फर्कंने दिन गनेर बसिरहेकी छन्। रोजगारीका लागि विदेश गएका कमलप्रसाद हराइरहेको वर्षौं भइसक्दा पनि सरकारी निकायबाट निर्वाह गर्नुपर्ने सामान्य भूमिकासमेत नहुँदा पीडित परिवारले मन बुझाउन सकेको छैन।
‘रोजगारीका लागि मलेसिया गएको छोरो वर्षौंदेखि सम्पर्कमा नरहे पनि मनमा भने फर्किन्छ कि भन्ने लागिरहन्छ,’ कमलाले भनिन्, ‘त्यसैले उसको (कमलप्रसाद) सधैं याद आइरहन्छ।’ छोरी जन्मेको साढे एक वर्षपछि घरमा खर्च बढ्दा र त्यसको व्यवस्थापन गर्न आवश्यक ठान्दै रोजगारीका लागि मलेसिया पुगेका कमलप्रसादले घर छाडेपछि अहिलेसम्म परिवारलाई कुनै जानकारी दिएका छैनन्।
कमलप्रसादकी पत्नी शकुन्तलाले पतिको खोजीका लागि थुपै्र निकाय चहारे पनि कुनै उपलब्धि हात नलागेको गुनासो गरिन्। दवाडी परिवारले काठमाडौं र जिल्ला तहका सरकारी कार्यालयमा खोजतलासका लागि दिने गरिएका निवेदनका याचनाबाट अहिलेसम्म कुनै उपलब्धि हात लागेको छैन।
‘यतिखेर हाम्रो चाहना उहाँको (कमलप्रसाद) अवस्था जुन अवस्थामा छ, त्यसबारे यकिन होस् भन्ने हो,’ पत्नी शकुन्तलाले भनिन्, ‘सरकारी तबरबाट प्रयास हुने हो भने अवस्था यकिन हुन्छ जस्तो पनि लाग्छ।’
कमलप्रसादले मलेसियाको चुवाङपिनचर टियुवस कम्पनीका लागि काम गर्न भन्दै घर छाडेका थिए। उनी वैदेशिक रोजगारीमा जाँदा साढे एक वर्षकी रहेकी छोरी अनुशा यतिखेर १५ वर्षकी भइसकिन्। एक कट्ठा १६ धुर जमिन र त्यसमा बनेको जस्तापाताले छाएको घर तथा एउटा दुहुनो गाई शकुन्तलाका सम्पत्ति हुन्। ‘गाईको दूध बेचेर तीनजनाको खर्च जुटाइरहेका छौं,’ उनले भनिन्।
वैदेशिक रोजगारी सोचेजस्तो सहज छैन भन्ने यी केही उदाहरण हुन्। दैनिक एक हजारभन्दा बढी युवाले वैदेशिक रोजगारीका लागि जन्मभूमि छाडिरहेका बेला विदेशमा पुगेका कैयन युवा आफ्नै इच्छा वा परिबन्धमा परेर सम्पर्कविहीन हुने क्रम बढेको पाइएको छ।
यद्यपि सरकारी निकायले अहिलेसम्म वैदेशिक रोजगारीको क्रममा सम्पर्कविहीन हुनेको विवरण भने राखेको छैन। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ गन्तव्य मुलुकमा विभिन्न कारणले युवा सम्पर्कविहीन हुने गरेको सूचना पाए पनि अहिलेसम्म यकिन तथ्यांक पाउने गरी अध्ययन हुन नसकेको बताउँछन्।
‘कतिपय युवा विदेशमा महिलासँग लागेर पनि सम्पर्कविहीन हुने गरेको सुन्नमा आउँछ,’ उनले भने। वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारको उद्धारमा लाग्दै आएको प्रवासी नेपाली समन्वय समितिका अनुसार सन् २०१३ देखि हालसम्म गन्तव्य मुलुकमा हराइरहेको भन्दै तीन सय ८८ निवेदन परेका छन्। ‘उजुरी परेपछि खोजी गर्दा दुई सय ३१ जना फेला परेका छन्,’ समितिकी शान्ति सिंहले भनिन्। समितिका अनुसार सम्पर्कविहीन हुनेमा सबभन्दा बढी मलेसिया पुगेका छन्। सिंहले रोजगारीका लागि पुगेका युवा सम्पर्कविहीन हुनुमा थुपै्र कारण भए पनि मुख्य रूपमा जेल पर्ने, विदेशी युवतीसँगको प्रेम सम्बन्ध, दुर्घटना, रोजगारदाताले थुनेर राख्ने गरेको बताइन्।
प्रकाशित: १ पुस २०७६ ०१:३४ मंगलबार