१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

विदुर तेस्रो आयोजनाको काम ९० प्रतिशत काम सकियो

नुवाकोट- विदुर नगरवासीलाई स्वच्छ पानी खुवाउने लक्ष्यसहित निर्माण भइरहेको विदुर तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको ९० प्रतिशत काम सकिएको छ। जिल्ला प्रशासन कार्यालयमा विदुर तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको कार्यान्वयन सम्वन्धी सहजीकरण बैठकमा उक्त जानकारी गराइएको हो।

दुई वर्षमा आयोजनाको निर्माण कार्य सकिने गरि विसं २०७३ साल जेठ १४ गते सम्झौता भएको थियो। तोकिएको समयमा काम नसकिए पछि पहिलो पटक ३ सय ५१ दिनमा बाँकी काम सकिने गरि अर्थात विसं २०७६ जेठ १४ गते सम्मको लागि समय थप गरिएको थियो। थप गरिएको उक्त समयमा पनि आयोजना सम्पन्न नभए पछि २ सय ४५ दिनको लागि अर्थात आउदो माग १४ गतेसम्मलाई समय थपिएको थियो। दोस्रो पटक समय थपिएको निर्धारित समय सकिन मात्र तीन महिना बाँकी छ। 

बाँकी रहेको ३ महिनामा जसरी पनि काम सम्पन्न गर्न आयोजनालाई जिल्लाको सरोकारवालाहरुले निर्देशन दिएका छन्। बेत्रावतीदेखि भैसेसम्मको साढे दुई किलोमिटरमा र ढुङ्गेदेखि गंगटेसम्म पर्ने बजार क्षेत्रमा पाइपलाइन बिछ्याउन स्थानीयबाट अवरोध आइरहेको गुनासो आयोजना पक्षले गरेपछि नुवाकोट क्षेत्र नम्बर २ का संघीय सांसद नारायणप्रसाद खतिवडाले त्यसको समाधानको लागि वडा स्तरदेखि संघ सम्मको जनप्रतिनिधिले पहल गर्ने प्रतिवद्धता जनाएका छन्। आयोजना सम्पन्न गर्न पटकपटक समय थपिरहँदा सरकारको समेत बदनामी हुने भएकोले कहिँकतै अवरोध सिर्जना भएमा जनप्रतिनिधि, प्रशासन, प्रहरी, नागरिक समाजसँगै बसेर अवरोधको बाटो खोल्ने सांसद खतिवडाले बताए।

यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले आयोजनालाई सफल बनाउन नगरपालिकाले दिनरात नभनि सहयोग गरिरहेकोले अन्तिम चरणमा आएर अवरोध भयो भन्नु आयोजनाको बाहानाबाजी मात्र भएको बताए।

आयोजनाको सुरुको लागत ८१ करोड ८२ लाख रुपैयाँ रहेको थियो। आयोजना सम्पन्न गर्न उक्त रकम अपुग हुने देखेर बजेट थप गरी ८५ करोड ९० लाख रुपैयाँ पु-याइएको छ। अहिलेसम्म बितिय प्रगति ८० दशमलव ९१ प्रतिशत भएको आयोजनाले जनाएको छ।

सर्वे गरिएको वर्ष अनुसार आयोजना सम्पन्न भएपछि नगरपालिकाको १, २, ४, ५, ६, ८ र ९ वडाका ५ हजार ४ सय २५ घरधुरीका ६० हजार ७ सय ५८ जनसङ्ख्याले सहज रुपमा खानेपानीको उपभोग गर्न पाउनेछन्। फलाखु खोलाको मुहानबाट पानी ल्याएर सञ्चालन गर्न लागिएको यस आयोजनामा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ। आयोजनाको निर्माण कार्य तुदी कन्सट्रक्सनले गरिरहेको छ। ‘विदुर खानेपानी तथा उपभभोक्ता संस्था’ मार्फत सञ्चालन हुने यो योजनामा दुई पटकसम्म सयम थप भइसकेकोले बाँकी समयमा आयोजना सम्पन्न गर्नुको विकल्प नरहेको अध्यक्ष नारायाणबहादुर खनालले बताए। ‘गल्छी त्रिशुली मैलुङ स्याफु्रवेसीको सडकको काम पनि सँगै अघि बढिरहेको छ।

सडकको संरचनामा बाधा नपुगोस् भनेर पाइप लाइन विच्छाउदा ग्रामीण बाटोलाई प्राथमिकता दिएका छौं। त्यहि क्रममा केही नागरिकको जमिन र भौतिक संरचनाले निर्माण कार्यमा अवरोध पुगेको हो,’ खनालले भने, ‘जस्तो समस्या आए पनि सामना गर्दै हाम्रो सस्था, आयोजना, निर्माण कम्पनी, सरोकारवाला सबै प्रतिवद्ध छन्। जसरी पनि बाँकी ३ महिनामा काम सम्पन्न गर्न सक्छौँ भन्नेमा प्रतिवद्ध छु।’

प्रकाशित: १९ कार्तिक २०७६ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App