१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

शोकमा शैलुङ गाउँ

बस दुर्घटनामा परी निधन भएकी शैलुङ ५ काटाकुटीकी कविता राउतको सम्झनामा चरिकोटको कालिञ्चोक माविको प्लस टुका विद्यार्थीले विद्यालय प्रांगणमा आयोजना गरेको श्रद्धाञ्जली–सभापछि राखिएको कविता राउतको तस्बिर।

दोलखा – गाउँलेले बाघखोर बजारदेखि काटाकुटी गाउँ जोड्ने सडक खनेपछि अरनिको यातायात समितिलाई सो बाटोमा गाडी हाल्न अनुरोध पठाए। तर समितिले यात्रु नपुग्ने कारण देखाउँदै गाउँबाट सीधै राजधानी जाने गाडी हाल्न मानेन। उसले गाउँले सामु ‘गाउँका लागि सुविधा त दिने तर यहाँबाट बाघखोर देउराली बजारसम्म लोकल गाडीले यात्रु ओसार्न पाउनुपर्ने र त्यहाँमाडौं जाने गाडी भेट्ने गरी सो गाउँका लागि १० वटा सिट छुट्याउने’ सर्त तेस्यायो।

समितिको सर्तप्रति स्थानीय राजी भए। गाउँबाट काठमाडौं जाने गाडी भेट्न समितिले भनेबमोजिम बाघखोरमा गाडी बदल्नुपथ्र्यो। यसैगरी चल्दै थियो जिल्लाको शैलुङ गाउँपालिका–५ काटाकुटी गाउँबासीको दिनचर्या।

तर आइतबार सिंगो गाउँबासीको जीवनमा बज्रपात आइलाग्यो। गाउँका नौजनाको जीवन सुनकोसी नदीले निल्यो। राजधानी जान गाउँका लागि निर्धारित १० वटा टिकट काटेकाहरू स्थानीय वीरेन्द्र मावि छेउबाट सिटमा बसे। अन्य बाघखोर बजारबाट टिकट लिने भनेर त्यसै बसमा चढे। शैलुङ गाउँपालिका–५ काटाकुटी गाउँमा पर्ने यो वडाका वडाध्यक्ष किरण बस्नेतका अनुसार आइतबार बिहान सात बजे गाउँबाट बस छुट्दा राजधानीका लागि भनेर काटाकुटीबाट मात्र करिब २५ जना यात्रु सो लोकल गाडी चढेका थिए।

बाघखोर पुगेर बस रोकियो। काठमाडौं जान यही समितिको अर्को बा२ख ७२४५ नम्बरको बस सो लोकल गाडीलाई कुरेर बसेको थियो। काउन्टरका कर्मचारीले बस ‘फुल’ हुने गरी ३४ वटा टिकट काटे। स्थानीयका अनुसार काटाकुटीबाट आएका समेत गरेर बाघखोर बजारबाट काठमाडौंका लागि बिहान नौ बजे बस छुट्दा झन्डै ६० जना यात्रु सिटबाहेक उभिएर यो गाडीमा चढिसकेका थिए। बस बाघखोरबाट निगाले हुँदै सिन्धुपाल्चोकको मुडे निस्किएर काठमाडौंका लागि हुइँकियो।

दसैं–तिहार मनाएर राजधानी फर्कदै गरेका आफन्त सकुशल पुगे होलान् भनेर कामना गरेका आफन्त आइतबार मध्यान्हपछि फैलिएको एउटा खबरसँगै स्तब्ध भए। सकुशल बिदाइका हात हल्लाएका आफन्तलाई सुनकोसी नदीले निलेको खबरसँगै उनीहरू स्तब्ध भए। गाउँबाट राजधानीका लागि छुटेको त्यही बस अरनिको राजमार्गको सिन्धुपल्चोकस्थित सुकुटेमा सुनकोसी नदीमा खसेर दुर्घटनाग्रस्त बनेको थियो। बस नदीमै डुबेका कारण १८ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा वडा ५ का धेरै छन्। वडाध्यक्ष बस्नेतका अनुसार वडा ५ काटाकुटीका मात्र नौजना परेका छन्। तीमध्ये दसैं–तिहारको बिदामा आएका धेरै छन्। वडा ५ का ५० वर्षीया रत्नकुमारी राउत र उनका छोरा २९ वर्षीय किरण राउत छन्। नेपाली सेनामा कार्यरत किरण दसैं–तिहारको छुट्टी सकेर आमालाई लिएर राजधानी फर्किंदै थिए। सोही गाउँकी ३२ वर्षीया निर्मला खड्का र उनका १४ वर्षीय छोरा निकेश खड्काको पनि दुर्घटनामा परी मृत्यु भयो। राजधानीमा पढ्ने निकेश स्कुल खुलेपछि आमासँग राजधानी फर्किंदै थिए।

मृत्यु हुनेमा काटाकुटीकै रञ्जिता केसी, चेतकुमारी बस्नेत, रिकेश खड्का, कविता राउत र सानु राउत छन्। कविताले सदरमुकाम चरिकोटस्थित कालिञ्चोक माविबाट यही वर्ष स्कुल टप हुँदै १२ कक्षा उत्तीर्ण गरेकी थिइन्। उनी प्लस टुमाथिको तह अध्ययनका लागि दसैं–तिहारको बिदा सकिएलगत्तै आइतबार गाउँबाट काठमाडौं जादै थिइन्।

सो दुर्घटनामा परी शैलुङ गाउँपालिका वडा–४ का चारजना, ३ का चारजना र भीमेश्वर नगरपालिका–९ का एकजनाको मृत्यु भयो। बस दुर्घटनामा परी गाउँपालिकाभित्रका १८ जना नागरिकको मृत्यु भएपछि शैलुङ गाउँपालिकाले शोकमा सोमबार गाउँपालिका क्षेत्रका सरकारी कार्यालय, विद्यालय र संघ–संस्थामा सार्वजनिक बिदा दिएको थियो।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App