coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिया, अलैंची र अदुवामा राजदूतको चासो

इलाम- नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) र साउदी अरेबियाका राजदूत नेपालको कृषि उत्पादन र बजार प्रवद्र्धनमा सघाउन इच्छुक देखिएका छन्। कृषिमा अग्रणी सूर्याेदय नगरपालिका आएका राजदूतद्वयले आफ्नो देशमा यहाँको चिया, अलैंची र अदुवाको बजार बढाउन पहल गर्ने बताएका हुन्।

नेपालका लागि साउदीका राजदूत मुसैदविन सुलेइमन आइ मारवान र युएईका राजदूत साहिद हम्दान अल नाक्वीले देशको कृषि उत्पादनका लागिसमेत सघाउन आफ्नो देश इच्छुक रहेको बताए। राजदूत साहिदले युएईले नेपाललाई पहिलो चरणमा करिब अढाई अर्ब र दोस्रो चरणमा ६ अर्ब रुपैयाँको आर्थिक सहायता गर्ने योजना बनाएको बताए। ‘यो सहायता कृषिका लागि पनि हुनेछ र सूर्याेदय नगरपालिका लगानीका लागि उपयुक्त ठानेका छौं,’ उनले भने, ‘गतवर्षहरूमा पनि युएईले नेपाललाई विभिन्न क्षेत्रमा आर्थिक सहायता गरेको छ।’

राजदूत साहिदले नेपालको कृषि उत्पादनले युएईमा राम्रो बजार पाउने र त्यहाँका व्यापारी नेपालमा लगानी गर्न इच्छुक रहेको पनि बताए। ‘अहिले नेपालका उत्पादन हाम्रो देशमा भारतको ब्रान्डमा गइरहेका छन्,’ उनले भने, ‘हामी नेपाललाई व्यापारका माध्यमबाट विश्वभर चिनाउन चाहन्छौं।’ उनले युएईमा नेपालका २ सय हाराहारी व्यापारी–व्यवसायी रहेको तथ्यांक पनि सुनाए। ‘हाम्रा व्यापारी नेपालमा लगानीको अवसर हेरिरहेका छन् तर दोहोरो करप्रणाली र यहाँको कानुनबारे हामीलाई जानकारी छैन,’ राजदूत साहिदले भने, ‘सरकार र निजी क्षेत्रले लगानीको वातावरण बनाउन सघाउनुपर्छ।’

उनले नेपाल र युएईको व्यापार तथा लगानी प्रवद्र्धनका लागि प्रधानमन्त्रीस्तरको भ्रमण आवश्यक रहेको बताए। ‘नेपालका प्रधानमन्त्रीले हाम्रो देश भ्रमण गरून्, उद्योग वाणिज्य क्षेत्रले पनि दुवै देशमा लगानी बढाउन प्रयास गरोस्,’ उनले भने, ‘प्रधानमन्त्रीले भ्रमण गरी दुई देशबीच व्यापारको सुनिश्चितता गरेमात्र लगानीका लागि ढोका खुल्छ।’ 

राजदूत मारवानले चाहिँ नेपालको कृषि र पर्यटन क्षेत्रमा साउदीले लगानी गर्न चाहेको बताए। उनले नेपाल र साउदीको धर्म–संस्कृतिको सम्बन्धबारे पनि लामो सम्बन्ध रहेको जनाए । ‘हामी नेपालका लागि करिब ८ अर्ब रुपैयाँको सहयोग गर्न चाहन्छौं, त्यसले यहाँको पर्यटन र कृषि क्षेत्रमा सहायता पुग्छ,’ उनले भने, ‘नेपालमा लगानीको सम्भावना अध्ययन हुँदैछ, त्यहीक्रममा सूर्याेदय नगरपालिका आएका हौं।’ उनले साउदीले अहिले पनि नेपालको जलविद्युत् परियोजनामा सहयोग गरेको बताए। ‘नेपाल र साउदीबीच लामो सम्बन्ध छ, हाम्रो देशमा डेढ सय नेपाली व्यापारी–व्यवसायी छन्,’ उनले भने, ‘नेपालबाट बर्सेनि २ हजार ५ सय हाराहारी धर्मावलम्बी हाम्रो देशको भ्रमणमा जान्छन्।’ उनले साउदीले लगानी र व्यापारका माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको पनि सुनाए।

यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युएई र साउदी अरेबियाले इलामको कृषि क्षेत्रको बजार प्रवद्र्धनमा इच्छा व्यक्त गरेको बताए। ‘यी दुई देशसँग नेपालको ऐतिहासिक सम्बन्ध छ, दुवै देशको लगानी लगानीका सम्भावनालाई हाम्रो फराकिलो पार्नुपर्छ,’ उनले भने, ‘लगानीका क्षेत्र पहिल्याउने, त्यसको वातावरण बनाउने विषयमा हामी गम्भीर बन्नुपर्छ ।’ उनले इलामको अलैंची, अदुवा र चियामा लगानी आवश्यक रहेको भन्दै यी कृषिउपजले यहाँको समृद्धिमा सघाउने पनि बताए। ‘युएई र साउदी इलामको कृषिउपजका लागि बजारको उच्च सम्भावना भएका देश हुन्,’ राजदूतद्वयलाई इलाम ल्याउन पहल गरेका खनालले भने, ‘चियाको व्यापारको सम्भावना ती देशमा अत्यन्त राम्रो देखिन्छ।’ 

राजदूतहरूले यहाँको तयारी चिया आफ्नो देशमै लगेर त्यहींको ब्रान्डमा विक्री गर्न सकिने उपायसमेत बताएका थिए। तर, सूर्याेदय नगरपालिकाले यहाँको चिया नेपालकै ब्रान्डमा मात्र बिक्री गर्न सकिने जनाएको छ। नगरपालिकाका मेयर रणबहादुर राईले सूर्याेदय नगरको तयारी चिया यहींको पहिचानमा विक्री गर्नुपर्ने बताए। ‘यहाँको तयारी चियालाई अन्य देशको ब्रान्डमा नबेच्ने चाहिँ हामीले स्पष्ट धारणा व्यक्त गरेका छौं,’ उनले भने, ‘यहाँको उत्पादनमा यहींको परिचय खुलोस् भन्ने हो।’

जिल्लामा सबैभन्दा बढी चिया उत्पादन हुने सूर्याेदय नगरपालिकामा अलैंची, दूध, अदुवालगायतका कृषिउपज पनि धेरै छन्। पर्यटकीय नगरी घोषणा भइसकेको यो नगरपालिकाले ३ वर्षमा अर्गानिक नगर घोषणा गर्ने लक्ष्यसहित कृषि क्षेत्रमा काम गरिरहेको छ। ‘हामीले लक्ष्यप्राप्तिका लागि सबैभन्दा बढी बजेट पनि कृषि क्षेत्रमै विनियोजन गरी कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ मेयर राईले भने।

प्रकाशित: ८ कार्तिक २०७६ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App