खोपासी – काभ्रेको बल्थली (१,७०० मिटर) सुन्दर फूलबारी हो। हरिया डाँडा, खेतमा धानबाली झुलिरहेका। स्वच्छ हावा र पानी। गाउँमा तामाङ, नेवार, बाहुन, क्षेत्री र सन्यासी लगायतको बसोबास छ। कृषि कर्म, सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्य अवलोकन गर्न पाइन्छ त्यहाँ। गाउँबाट उत्तरदेखि पूर्वसम्म गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, रोल्वालिङदेखि सगरमाथासम्म देखिन्छ।
बल्थली गाउँ मुन्तिर खोलामा लड्केश्वर महादेव छन्। लड्कु किनारमा ठूलो एकादशीमा मेला लाग्छ। खोलामा स्नान गरी व्रत बसेमा मनोकामना पूरा हुने जनविश्वास छ। बल्थलीलाई केन्द्र मानेर धेरैतिर हाइकिङ गर्न सकिन्छ। बल्थलीबाट तीन घन्टामा नमोः बुद्ध र पनौती पुगिन्छ भने चार घन्टामा कामिडाँडा। विदेशी माझ ककनीबाट चिसोपानी, नगरकोट, धुलिखेल, नमोःबुद्ध, बल्थली हुँदै पनौतीसम्म ‘काठमाडौं भ्याली कल्चरल टे«ल’ पदमार्ग स्थापित छ।
बल्थली हाइकिङ नेवार वस्ती खोपासीबाट सृुरु गर्ने। खोपासीमा रेशम खेती छ। त्यहीँ नेपालको तेस्रो जलविद्युत् गृह छ। विसं २०२२ सालमा बनेको केन्द्रको उत्पादन क्षमता २.४ मेगावाट छ। अचेल पाँच सय किलोवाट मात्र बिजुली उत्पादन हुन्छ।
त्यहाँबाट कमलामाई, कोलभञ्ज्याङ, न्यौपाने गाउँ हुँदै लड्केश्वर मन्दिर पुगिन्छ। मन्दिर दर्शन गरेर लड्कु खोला, बल्थली भएर खोपासीसम्म पदयात्रा गर्ने। बल्थली हाइकिङ, बाइकिङ र साइक्लिङका लागि उपयुक्त छ। कसरी पुग्ने ः काठमाडौं–बल्थली ४० किमि। काठमाडौंको पुरानो बसपार्कबाट छुट्छन् बनेपा हुँदै पनौती जाने बस। पनौतीबाट ४ किमि खोपासीसम्म बस चल्छन्। खोपासीबाट ख्याकु भन्ज्याङ, कमलामाई मन्दिर, न्यौपानेगाउँ हुँदै लड्केश्वर र त्यहाँबाट लड्केश्वर खोला किनारैकिनार खोपासीसम्म पदयात्रा। दूरी ११ किलोमिटर। समय ६ घन्टा। मोटरबाइक र जिप गाउँसम्मै पुग्छन्।
हिमाल खुल्ने मौसम। चारैतिर हरियाली वातावरण। परिवार र आफन्तको साथ। पर्वको रमझम। रमाइलो वातावरण। आउनुहोस् हाइकिङ गरौं। आफ्नो सेरोफेरोका डाँडापाखामा हिँडौं। स्वस्थ बनौं।
गोदावरी–फूल्चोकी
काठमाडौं उपत्यकालाई पहरा दिइरहेको सबैभन्दा अग्लो डाँडा–फुल्चोकी (२,८०० मिटर)। बषैभरि शितल हुन्छ डाँडामा। हिन्दु र बौद्धमार्गीको साझा तिर्थ–फुल्चोकी। डाँडाको थाप्लोमा फूल्चोकीमाई छिन् भने नजिकै बौद्ध चैत्य।
डाँडाबाट सगरमाथादेखि अरु दर्जनौ हिमालको लश्कर देखिन्छ। मनसुनमा त भुइँकुहिरोभित्र लुकामारी खेल्छिन् फूल्चोकी। त्यहाँबाट काठमाडौं उपत्यकाको पूरै दृश्य देखिन्छ। फूल्चोकीको पश्चिमदेखि उत्तर पूर्वसम्म १८० डिग्रीमा हिमालको लर्कन, पश्चिमदेखि दक्षिणसम्म हरिया महाभारत श्रृंखला र तराइका दृश्य देखिन्छ भने मुन्तिर उपत्यका।
हाइकिङ गोदावरीबाट सुरु गर्ने। त्यहाँबाट फुल्चोकी जाने दुई बाटा छन्। पहिलो नौधाराबाट जंगलको ठाडो बाटो र दोस्रो कुण्डबाट कच्ची मोटर गुड्ने तेर्सो बाटो। झरी पर्दा तेर्सो बाटोमा हिँड्ने र अरू बेला गोरेटोमा। कुण्डबाट २ घन्टामा चापाखर्क पुगिन्छ। खर्कमा चौबाटो छ, पूर्व ओरालो झरे काभ्रेको ¥याले पुगिन्छ। उत्तर लागे कोटडाँडा, पश्चिम झरे गोदावरी। खर्कबाट दक्षिण उकालो चढ्ने, २ घन्टामै फुल्चोकी पुगिन्छ। फर्कंदा पश्चिम ओरालो झरेर गोदावरी नौधारासम्म हिँड्ने।
ठाडो उकालो र ठाडै ओरालो भएकाले जंगलको बाटो। फुल्चोकीको आधार शिविर गोदावरी वनस्पति केन्द्र हो। मिश्रित जाति बसोबास रहेको गोदावरीमा नौधारा र कुण्ड छन्। त्यहाँ थुप्रै खाजा घर, रिसोर्ट र होटल छन्।
फुल्चोकीमा होटल तथा रिसोर्ट छैनन्, सामान्य खाजा घर मात्र छ। गोदावरीबाट फुल्चोकीसम्म हाइकिङ, बाइकिङ, मोटर ड्राइभिङ र साइक्लिङ पनि गर्न सकिन्छ।
कसरी पुग्ने ः काठमाडौं–गोदावरी १५ किमि। लगनखेल बसपार्कमा गोदावरी जाने गाडी पाइन्छ। गोदावरी कुण्डबाट पिकनिक स्पट, चापाखर्क हुँदै फुल्चोकी टप र टपबाट जंगलको गोरेटो ओरालो झरेर नौधारासम्म पदयात्रा। हाइकिङ दूरी १८ किमि। समय ८ घन्टा।
गोदाम–भालेश्वर
काठमाडौंको दक्षिणमा उभिएको भालेश्वर डाँडा (२, ५००मिटर) काठमाडौं भ्यूटावर हो। त्यहाँबाट पूर्वदेखि पश्चिमसम्म १८० डिग्रिमा फैलिएका सेता हिमाल–गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा आदि।
भालेश्वरमा तीन तले प्यागोडा शैलीको मन्दिर छ। भालेश्वर ऐतिहासिक ठाउँ पनि हो। नेपाल एकीकरण तयारीका बेला राजा पृथ्वीनारायण शाहले चन्द्रागिरि भञ्ज्याङबाट सुन्दर उपत्यका देखेपछि नजिकैको भालेश्वर आएर मनकामना गरे। पछि यहीँ बाटो भएर काठमाडौं आक्रमण गरी जितेको इतिहास छ। भालेश्वर हातामा उनको सालिक छ।
हाइकिङ थानकोटको गोदामबाट सुरु गर्ने। जंगलको उकालो चढ्ने। चन्द्रागिरी भञ्ज्याङ पुग्ने दुई बाटा छन्, मोटरेबल सडक र ठाडो गोरेटो। गोदामबाट चन्द्रागिरी ठाडो उकालो ३.८ किमि र मोटर बाटो ४.५ किमि। गोदामबाट दुई घन्टा लाग्छ भञ्ज्याङ (२,२५० मिटर) पुग्न।
भञ्ज्याङमा बौद्ध स्तुप छ। पहिला काठमाडौंबाट तराई हुँदै भारत पस्न चन्द्रागिरी भञ्ज्याङको यहि गौंडो प्रयोग गरिन्थ्यो। भञ्ज्याङबाट ३ किमि दक्षिणमा भालेश्वर। भालेश्वर काठमाडौं र मकवानपुरको संगममा पर्छ। त्यहाँ वैशाख १ गते मेला लाग्छ।
भालेश्वरबाट एक घन्टामा चखेल पुगिन्छ। चखेलबाट पूर्व ओरालो मातातिर्थसम्म पदयात्रा गर्ने। मातातिर्थ पनि पवित्र धाम हो जहाँ आमा खुवाउने औंसीमा मेला लाग्छ। गोदामबाट २.५ किमि लामो केबलकारमा भालेश्वर पुग्न १० मिनेट लाग्छ मन्दिर पुग्न। डाँडामा रिसोर्ट, रेष्टुराँ र पार्क छन्।
कसरी पुग्ने ः काठमाडौं पुरानो बसपार्कबाट कलंकी, गुर्जुधारा हुँदै थानकोट गोदामसम्म १५ किमि गाडीमा। गोदामबाट चन्द्रागिरी भञ्ज्याङ हुँदै भालेश्वर र भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म पदयात्रा। पदयात्रा दूरी ः १६ किमि। समय ७ घन्टा। गोदामबाट डाँडासम्मै मोटर बाटो छ।
बतासे–नमोः बुद्ध
बौद्धमार्गीहरूको नेपालमा भएका प्रमुख चार धाम (बौद्धनाथ, लुम्बिनी, स्वयम्भू र नमोःबुद्ध) मध्ये एक हो नमोः बुद्ध (१,८०० मिटर)। शाक्यमुनि गौतम बुद्धको पूर्व जन्मको इतिहास जोडिएको यहाँ। बुद्धले पूर्व जन्ममा त्यहाँ बघिनीलाई आफ्नो शरीर दान गरेका थिए।
नमोः बुद्धका दुई खण्ड छन्। तल भञ्ज्याङको स्तुप सबैभन्दा पुरानो। त्यसभन्दा २०० मिटर माथि डाँडामा गुम्बा र बुद्धका ठूल्ठूला मूर्ति छन्। जुन पछि ठाङगु रिम्पोछेले बनाएका।
अध्यात्म, प्रकृति र संस्कृतिको त्रिबेणीधाम नमोः बुद्ध शान्त र शितल छ। डाँडाबाट मकालु, चोयु, गौरीशंकर, दोर्जेलाक्पा, लाङटाङ, गणेश र मनास्लु हिमालहरू। त्यहाँबाट हरिया डाँडैडाँडा र सुन्दर बस्तीहरु देखिन्छ। पनौती, भक्तपुर, धुलिखेल र काठमाडौंका दृश्य आँखामा आइपुग्छन्। डाँडामा होटल तथा रिसोर्ट छन्। त्यहाँ पुगेर भातृत्व, शान्ति र अहिँसाको पाठ सिक्न सकिन्छ। पञ्चशील पालना गर्ने ऊर्जा मिल्छ।
हाइकिङ बतासेबाट सुरु गर्ने। बतासेबाट शंखु गा“उ, इंटे हुँदै ठाडो उकालो चढेर नमोः बुद्ध पुग्ने र फर्कंदा पातलेखेतको कुइँकेल डाँडा, गुम्बा, फस्कु गाउँ भएर काभ्रे भञ्ज्याङसम्म हिँड्ने। बतासे–नमोःबुद्ध ६ किमि र नमोःबुद्ध–काभ्रे भञ्ज्याङ ७.५ किमि।
नमोःबुद्ध हाइकिङ, बाइकिङ, साइक्लिङ लागि उपयुक्त छ।
कसरी पुग्ने ः काठमाडौ–धुलिखेल गाडीमा। धुलिखेलबाट बतासेसम्म अर्को गाडीमा। काठमाडौं–बतासे ३५ किमि। बतासेबाट इँटे, शंखु हुँदै नमोः बुद्ध। नमोः बुद्धबाट गहते सामुदायिक वन, कुइँकेल गाउँ, गुम्बा, फस्कोट हुँदै काभ्रे भञ्ज्याङसम्म हिँड्ने। पदयात्रा दूरी १४ किमि। समय ः ६ घन्टा। काठमाडौ–नमोः बुद्ध ५० किमि। नमोः बुद्धसम्म मोटर बाटो छ।
तर्खगाल–अनन्तलिंगेश्वर
काठमाडौं उपत्यकाका प्रमुख चार शिवलिंग मध्ये भक्तपुर बजारको दक्षिणमा पर्ने अनन्तलिंगेश्वर (१,४३०) एक हो। मन्दिर वरपर बासुकि नाग, उमामहेश्वर, गणेश, लक्ष्मी, सरस्वती, गरुड आदिका मूर्ति छन्। १२ वैशाख ०७२ को भुकम्पले क्षतिग्रस्त अनन्तलिंगेश्वरको प्यागोडा शैलीमा पुननिर्माण भैसकेको छ।
अनन्तलिंगेश्वरको दक्षिणमा फूल्चोकी, पूर्वमा डोलेश्वर महादेव र आशापुरेश्वर छन् भने पश्चिममा चरखण्डेश्वर र उत्तरमा शुर्वणेश्वर महादेव। जंगल बीचमा छ मन्दिर। साबिकको दधिकोट गाविस–४ मा पर्ने मन्दिर हाल सूर्यविनायक नगरपालिकामा पर्छ। मन्दिर हातामा अनन्त कुवा र पोखरी छ।
मन्दिरबाट माथि कैलाश डाँडा (१,४९० मिटर)बाट काठमाडौंको दृश्य छर्लङै देखिन्छ। अनन्तलिंगेश्वरबाट सडकैसडक तिवारी आश्रम, देउराली हुँदै रानीकोट पुग्न सकिन्छ। लाँकुरी भञ्ज्याङ जाने र रानीकोट जाने दोबाटो छ देउरालीमा। अनन्तलिंगेश्वर–देउराली ५ किमि। देउराली–रानीकोट ४ किमि। रानीकोटमा पुगेर खाजा खान सकिन्छ।
रानीकोट नजिकै बाघभैरब मन्दिर छ। बाघभैरब दर्शन गरेर घ्याम्पेडाँडासम्म पदयात्रा गर्ने। रानीकोट–घ्याम्पेडाँडा ३ किमि। डाँडाको पुछारमा पाइलट बाबा आश्रम छ। अनन्तलिंगेश्वर डाँडा, रानीकोट र घ्याम्पे डाँडामा होटल तथा होमस्टे सुविधा छ।
मन्दिरमा साउने सोमबार, शिवरात्री, जनैपूर्णिमा, बाला चतुदर्शी, गाइजात्रा, तीज, दशैतिहार आदि समयमा भिड लाग्छ।
कसरी पुग्ने ः काठमाडौं–नयाँ ठिमी–दधिकोट–अनन्तलिंगेश्वर १५ किमि। अनन्तलिंगेश्वर वेस क्याम्पसम्म बस चल्छ। हाइकिङ चाहिँ तर्खगालदेखि गर्ने। नयाँ ठिमी–तर्खगाल ४.३ किमि। तर्खगाल–अनन्तलिंगेश्वर १.५ किमि। हाइकिङमा अनन्तलिंगेश्वर, कैलाश डाँडा, देउराली हुँदै रानीकोट पुगेर घ्याम्पेडाँडा हुँदै पाइलट बाबा आश्रम झर्ने। पदयात्रा दूरी १४ किमि। समय ६ घन्टा।
तीनपिप्ले–तारकेश्वर
श्रीस्वस्थानी ब्रत कथाअनुसार महादेवले मृत सतिदेवी च्यापेर हिँड्दा उनको दाहिने तिघ्रा पतन भएको ठाउँ तारकेश्वर (१,७१८ मिटर) हो। त्यहीँ पछि महादेव उत्पन्न भए। लक्ष्मीले पनि त्यही ठाउँमा तपस्या गरेको विश्वास गरिन्छ। जुन ठाउँ काठमाडौंको शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जभित्र पर्छ।
पहरे ओढारमा बसेका छन् तारकेश्वर। ओढारका बुढा महादेव त्यहाँका सबैभन्दा पुराना देवता। भिरमा बसेका छन् महादेव। तिनको दर्शन गर्न भ-याङ चढ्नुपर्छ। ती महादेव नजिकै अर्को ओढार छ, जहाँ गणेश, महादेव, त्रिशुल, घन्ट आदि छन्।
तारकेश्वरबाट माथि धौलेश्वर महादेव छन्। तारकेश्वरमा कविर आश्रम पनि छ। तारकेश्वर मुन्तिर पाँच माने भञ्ज्याङ छ। भञ्ज्याङबाट आधा घन्टामा उत्तर तारकेश्वर, दक्षिण आधा घन्टा ओरालोमा तीनपिप्ले, पश्चिम दुई घन्टामा ककनी र पूर्व सभा घन्टामा काभ्रेस्थली पुगिन्छ।
पासाङ ल्हामु राजमार्गको तीनपिप्लेबाट सोझै उकालो चढ्दा ५ किमिमा तारकेश्वर पुगिन्छ। तीनपिप्लेबाट उकालो चढ्नेबित्तिकै भुवनेश्वरी मन्दिर आउँछ। त्यहाँबाट तारकेश्वर उक्लेर अल्ले हुँदै गुर्जे भञ्ज्याङसम्म हाइकिङ। तारकेश्वरबाट गुर्जे भञ्ज्याङसम्म मोटर बाटो छ।
पाँच मानेमा सामान्य खाजा पसल छन्। तारकेश्वरमा बसेर खाजा खान सकिन्छ। तारकेश्वर शक्ति पिठमा शिवरात्री, जनैपूर्णिमा, स्वस्थानी ब्रतकथाको समय, बाला चर्तुदशी र सोमबार मेला लाग्छ।
कसरी पुग्ने ः काठमाडौंको बालाजु बाइपासबाट पासाङ ल्हामु राजमार्गको तीनपिप्लेसम्म ८ किमि। तीन पिप्लेबाट २ किमि पर ठूलो खोलाबाट उकालो चढे १.५ किमि पाँचमानेसम्म मोटर बाटो छ। पाँचमानेबाट आधा घन्टा पदयात्रामा तारकेश्वर। हाइकिङ गर्दा तीनपिप्लेबाट ५ किमि उकालोमा तारकेश्वर। तारकेश्वरबाट ५.५ किमिमा गुर्जे भञ्ज्याङ पुगिन्छ। पदयात्रा दूरी १०.५ किमि। समय ः ४ घन्टा।
फूलबारी गेट–जामाचो
बौद्धमार्गी र हिन्दुको साझा तीर्थ हो काठमाडौंको जामाचो। हिमाललाई शिर र उपत्यकालाई पाउ बनाएर बसेकी जामाचो (२,१५० मिटर)। फुल्चोकीका चार दिदिबहिनी मध्ये कान्छी। काठमाडौं उपत्यकालाई पूर्वमा फुल्चोकी (२,८०० मिटर), पश्चिममा जामाचो (२,१५० मिटर), उत्तरमा शिवपुरी (२,७३५ मिटर) र दक्षिणमा चम्पादेवी (२,२५० मिटर)ले पहरा दिएका छन्।
डाँडाको चैत्यको उत्तरतिर भ्यू टावर छ जहाँबाट चारैतिरका दृश्य देखिन्छ। काठमाडौं उपत्यकालाई नजिकैबाट नियाल्न सकिन्छ। डाँडामा ठूलो चौर छ। बौद्ध गुम्बा पनि। गुम्बा भित्र बुद्धको ठूलो मूर्ति छ। मौसम खुल्दा पश्चिमदेखि पूर्व उत्तरसम्मै हिमालका लश्कर देखिन्छ। सगरमाथादेखि अन्नपूर्ण, मनास्लु, गणेश, गौरिशंकर, लाङटाङ लगायत हिमालको फेरो।
उहिल्यै नागार्जुन डाँडा खन्दा भेटिएको काल भैरबलाई काठमाडौको हनुमानढोकामा लगेर राखिएको भनाइ छ। नागार्जुनको टुप्पामा देवीको बास भएको हुनाले नेवारहरू यसलाई जामाचो भन्छन्। जामाचोबाट बेलुकी उपत्यका झिलीमिली देखिन्छ। सूर्योदय र सूर्यास्त मनमोहक हुन्छ। हाइकिङ गर्दा पनि फूलबारी गेटबाट सुरु गर्ने तर ढुंगा ओच्छाइएको ठाडो सिंढीबाट उक्लने। साँझ ५ बजेभित्र निकुञ्जबाट बाहिरिसक्नु पर्ने नियम छ। गएकै बाटो फर्कने।
डाँडामा वैशाखे पूर्णिमा, बुद्ध जयन्ती र नयाँ बर्षमा जामाचो मेला लाग्छ। नागार्जुन १८ कोषमा फैलिएको छ भनिन्छ। डाँडामा होटल तथा रेष्टुराँ छैन।
कसरी पुग्नेः काठमाडौंको नेपाल वायुसेवा निगम अगाडिबाट बस चढे ४५ मिनेटमा बालाजू बाइपास पुगिन्छ। बाइपासबाट अष्टनारायण हल हुँदै फुलबारी गेट ३ किमि। फुलबारी गेटबाट ढुँगा ओच्छाइएको सिंढी चढेर करिब साँढे दुई घन्टा उकालो चढे जामाचो। फूलबारी गेटदेखि जामाचो ५ किमि। गएकै बाटो फर्कने। पदयात्रा दूरी १० किमि। समय ४ देखि ५ घण्टा।
बुद्धपार्क–इचंगुनारायण
काठमाडौं उपत्यकाका चार दिशामा चार नारायण छन्–चाँगु, शेष, विशंखु र इचंगु। स्वयम्भूबाट ४० मिनेट पदयात्रा दूरीमा अवस्थित इचंगुनारायाण (१,४२५ मिटर) मन्दिर। गोपालराज वंशावली अनुसार इस्वीको १४ औं शताब्दीमा चार नारायण स्थापना भएको इतिहास छ।
इचंगु पुरानो नेवार बस्ती हो। हाल मिश्रित जाति तामाङ, नेवार, क्षेत्री, पुतुवार आदिको बसोबास छ। इचंगुनारायण मन्दिर वरपर जहाँ धान, गहुँ, मकै, तरकारीका साथै फूल खेती गरिन्छ। इचंगु क्षेत्रमा घुम्न लायक अरु पनि ठाउँ छन्। मन्दिरबाट एक किमिमा बद्रिनाथ गुफा छ। गुफाभित्र शिवको मूर्ति र त्रिशुल छन्। गुफा परिसरबाट उपत्यकाको पूरै दृश्य देखिन्छ। इचंगुनारायणबाट दुई किमि मास्तिर बतासे डाँडा छ। डाँडा नार्गाजुन शिवपुरी राष्ट्रिय निकुञ्चको चेकपोष्ट हो। त्यहाँ बसेर खाजा खान सकिन्छ।
डाँडाबाट फर्केर हिँडे करिब १ किमि दूरिमा सेतो गुम्बा पुगिन्छ। गुम्बाबाट उपत्यकाको सुन्दर दृश्य देखिन्छ। गुम्बा घुमेर आदेश्वर महादेव मन्दिर झरेर सीतापाइलासम्म पदयात्रा गर्नु बेस हुन्छ। हरिबोधिनी एकादशीका दिन मन्दिरमा ठूलो मेला लाग्छ। बडादशैंको नवमीका दिन महालक्ष्मी जात्रा हुन्छ भने चैतमा महालक्ष्मी र गणेश जात्रा गरिन्छ। मोटरबाटो सबैतिर हुनाले साइक्लिङ र मोटर बाइकिङ गर्न पनि सकिन्छ।
कसरी पुग्ने ः काठमाडौं चक्रपथको बुद्धपार्कसम्म गाडीमा। रत्नपार्क–बुद्धपार्क ६ किमि। त्यहाँबाट हल्चोक, इचंगुनारायण हँुदै बतासे पुग्ने। बतासेबाट सेतो गुम्बा, पहेंलो गुम्बा हुँदै सीतापाइलासम्म पदयात्रा। हल्चोक इचंगु २ किमि। इचंगु वतासे ४ किमि। बतासे आदेश्वर ३ किमि। आदेश्वर सीतापाइला १ किमि।–जम्मा पदयात्रा दूरी १० किमि। समय ४ घण्टा। डाँडासम्मै मोटर बाटो छ।
तीनपाने–भट्टेडाँडा
महाभारत श्रृखलामा पर्ने ललितपुरको अग्लो डाँडा–भट्टेडाँडा। भट्टेडाँडा (२,५०० मिटर) दुःखद् दुर्घटनापछि चर्चामा आएको हो। ०४९ साउन १२ गते त्यहाँको सातकन्यामा पाकिस्तानी एयरलाइन्सको हवाई जहाज दुर्घटनामा परी १६७ जनाको ज्यान गयो। त्यही घटनापछि भट्टेडाँडा देश÷विदेशमा चिनियो।
प्राकृतिक सौन्दर्यको खानी भट्टेडाँडा। त्यहाँको विद्युतिय रोप वे अर्को आकर्षण। त्यसैगरी काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्ति राजपथ यतैबाट गएको छ। त्यहा“ प्लेनलाई सिंग्नल दिने टावर बनाइएको छ। मौसम खुल्दा डाँडाबाट १८० डिग्रिमा सेता हिमालको लर्कन देखिन्छ भने तलतल काठमाडौं उपत्यकाको सुन्दर दृश्य। दक्षिणमा महाभारत सृङखलाको हरियालीका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ।
भट्टेडाँडाबाट दल्चोकी र माझखण्ड पदयात्रा गर्न सकिन्छ। त्यति मात्र होइन, त्यहाँका धार्मिक तथा ऐतिहासिक स्थलहरू, कृष्ण मन्दिर, निलेश्वरी महादेव, सतिदेवी, बाघभैरव र महाँकाली देवीलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न सके आन्तरिक पर्यटकको भीड लाग्न सक्छ।
भट्टेडाँडा हाइकिङ तीनपानेबाट गर्ने। ठाडो उकालो करिब दुई घण्टा चढेपछि भट्टेडाँडाको सातकन्या पुगिन्छ। त्यहाँको चौरमा बसेर खाजा खाने अनि डाँडाको टुप्पामा पुगेर गएकै बाटो तीनपाने फर्कने अथवा उत्तर मोटरबाटो झरेर तीनपाने पुग्ने।
भट्टेडाँडा हाइकिङ, साइक्लिङ र बाइकिङका लागि उपयुक्त छ। कसरी पुग्ने ः ललितपुरको लगनखेलबाट सातदोबाटो सुनाकोठी, चापागाउँ हुँदै तीनपानेसम्म गाडीमा। सार्वजनिक सवारी साधनमा डेढ घन्टा। तीनपानेबाट सातकन्या हुँदै डाँडा र डाँडाबाट नया बाटो हुँदै तीनपानेसम्म पदयात्रा। तीनपाने–सातकन्य हुँदै भट्टेडाँडा टप ५ किमि उकालो। भट्टेडाँडाबाट तीनपाने भञ्ज्याङ मोटर बाटो ५ किमि। जम्मा पदयात्रा दूरी १० किमि। समय ः ५ घन्टा।
शितलचोक–जाती पोखरी
काठमाडौंको दक्षिणमा पर्छ जाती पोखरी (२,१००मिटर)। दक्षिणकाली नगरपालिका–१५ मा पर्ने जातीपोखरी काठमाडौं र मकवानपुरको साँधमा छ। त्यहाँ स्यानो प्राचीन पोखरी छ–जाती पोखरीे। जातीपोखरी क्षेत्रमा तामाङ समुदायको बसोबास छ। मल्लकालमा त्यहाँ नेवार बस्ती थियो। गाउँलेहरुले चामल पखालेको चौलानी त्यही पोखरीमा फयाँक्थे रे ! त्यसरी फयाँक्दा त्यहाँ चामल पनि छरिन्थ्यो। नेवार भाषामा जाकि भनेको चामल हो। जाकि पोखरी भन्दाभन्दै अपभ्रंस भएर जातीपोखरी भन्न थालिएको भनाई छ।
पोखरी छेउमा खुला चौर छ। त्यहाँबाट उत्तर पूर्वमा हिमालको लर्कन देखिन्छ, अन्नपूर्ण, गणेश, लाङटाङ, दोर्जे लाक्पा, जुगल, गौरीशंकर देखि सगरमाथासम्मको लामो फेरो। उत्तरपट्टि चाहिँ चौकोटदेवी छिन्। पोखरी माथि डाँडामा सल्लाघारी छ। हिउँदका बेला चौरमा वनभोज खानेको भिड लाग्छ। सधैं शितल हुन्छ पोखरीमा।
डाँडाको काखमा रहेको छैमले क्षेत्रमा नासपाती, लप्सी, आरुबखडा, स्याउ, कटुस र आरु राम्रो उत्पादन हुन्छ। त्यसबाहेक तोरी, मकै, फापर, सिमी, भट्मास, बकुल्ला, आलु, काउली, बन्दा, रायो लगायत उत्पादन हुन्छ। बाख्रा, गाई र भैंसीपालन गरिन्छ।
पर्यटन विकास गर्न जाती पोखरीको संरक्षण, भ्यूटावर निर्माण र सडक पक्कि बनाउनु पर्छ। गाउँमा होटल, लज केही छैन। त्यहाँ होमस्टेको संभावना देखिन्छ।
कसरी पुग्ने ः काठमाडौंको कालीमाटीबाट २६ किमिमा जातीपोखरी। गाउँसम्म सडक ट्रयाक छ। कालीमाटीबाट बल्खु, दक्षिणकाली हुँदै छैमले–सिस्नेरी–हेटौंडा सडकको शितल चोकसम्म २२ किमि पक्कि सडक। त्यहाँबाट ४ किमि उकालो कच्चि बाटोमा जातीपोखरी। पोखरीबाट फर्कंदा उत्तरपट्टि चौकोटदेवि हुँदै हुमाने भञ्ज्याङ ४ किमि। जम्मा पदयात्रा दूरी ८ किमि। समय ४ घन्टा।
प्रकाशित: १९ आश्विन २०७६ ०५:४० आइतबार