खोटाङ- संखुवासभाबाट काठमाडौंका लागि उडेको तीन वटा हेलिकोप्टरलाई खोटाङमा आकस्मिक अवतरण गरिएको छ। संखुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि फर्कनेक्रममा खराब मौसमका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटार जगेनटारमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। करिब पौने ४ बजे अवतरण गरेको हेलिकोप्टर आधा घण्टा ल्याण्ड गरेपछि उडेको स्थानीय पुण्य रेग्मीले नागरिक न्यूजलाई बताए।
वर्षा र बाक्लो कुहिरोका कारण दुई वटा अल्टिच्युट र एउटा मनाङ एयरको हेलिकोप्टरलाई साप्सु खोला किनारमा आकस्मिक अवतरण गरिएको बताइएको छ। आपतकालिन हेलिकोप्टर ल्याण्ड भएको विषयमा स्थानीयले खबर गरेपछि प्रहरी चौकी भँडारेघाटबाट प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी वामदेव गौतमले बताए।
काठमाडौं पुग्न तीन ठाउँमा अवतरण
खराम मौसमका कारण खोटाङबाट फर्कनेक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालगायतको टोली चढेको हेलिकोप्टर तीन ठाउँमा अवतरण गरेपछि काठमाडौं पुगेको छ। बुधबार दिउँसो साँढे २ बजे हलेसीबाट उडेको हेलिकोप्टर पहिलोपटक हलेसी तुवाचुङ नगरपालिकाको बाईटार, दोश्रो पटक रामेछापको लिखु नदीको दोभानमा र तेस्रो पटक साँझ ६ बजे रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको प्रतिनिधिसभाका सांसद हिरा गुरुङले बताईन्। हेलिकोप्टरमा महामन्त्री कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रतिनिधिसभा सांसद गुरुङ, नवलपरासी सभापति भरत गुरुङलगायत चार जना सवार थिए।
कोइराला कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा विरोधसभालाई सम्बोधन गर्न खोटाङ आएका थिए।
प्रकाशित: ९ आश्विन २०७६ ११:५७ बिहीबार