इलाम - इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी परेपछि उपचारमा समस्या भएको छ। करिब ४ दिनयता कैदीबन्दीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने लक्षण देखिएको हो।
ठूलो समूहमा उनीहरू बिरामी परेपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए। ‘कारागारभित्र बिरामीहरू सामूहिक रूपमा सुताएर सामान्य उपचार गर्दैछौं,’ उनले भने, ‘एकैपटक उनीहरूलाई अस्पताल लैजान असम्भव भएकाले यहीं चिकित्सक बोलाएर उपचार गर्नुपर्ने भएको छ।’
कारागारमा ७२ पुरुष र ४ महिला बिरामी परेका छन्। केही बिरामी निको हुने हुनेक्रम करिब २ सातादेखि जारी रहेको कारागारले जनाएको छ। १ सय पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेको कारागारले जनाएको छ। कारागारलाई कैदीबन्दीको उपचारका लागि बर्सेनि आउने खर्चले सामान्यतः पुगिरहेको छ। तर, सवारी साधन नहुँदा उनीहरूको स्वास्थ्य जाँच गर्न र बिरामी भएका बेला अस्पताल लैजान भने ज्यादै समस्या परिरहेको श्रेष्ठले बताए।
कैदी–बन्दीमात्र नभई जिल्लामा अहिले ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने लक्षण भएका बिरामीको संख्या अत्यधिक छ। गाउँ–गाउँमा पनि यस्ता बिरामी घरैपिच्छे र कतिपय परिवारका सबै सदस्य बिरामी परेका छन्। जिल्ला अस्पतालमा उपचारका लागि दिनहुँ सयौंको संख्यामा यस्ता बिरामी आइरहेको अस्पतालले जनाएको छ।
प्रकाशित: ४ आश्विन २०७६ ०५:५७ शनिबार