८ वैशाख २०८१ शनिबार
समाज

इन्द्रजात्रामा पहिलोपटक चीन, अमेरिका र जापानसहित ६ देशका पाहुना

काठमाडौं– काठमाडौं उपत्यकामा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुना आउने भएका छन्। पाहुनाहरु बुधबार साँझ तथा बिहीबार विहानसम्म काठमाडौं आइपुग्ने छन्। 

काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा ६ देशका १२ सहरबाट ४५ जना विदेशी पाहुनालाई आमन्त्रण गरेको हो। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले अमेरिका, चीन, जापान, भुटान, बंगलादेश र भारतबाट पाँच मेयरसहित ४५ जना विदेशी पाहुना आउने जानकारी दिए। 

‘६ वटा देशका १२ वटा सहरका ४५ जना इन्द्रजात्रामा सहभागी हुँदैछन्’, मेयर शाक्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो कार्यक्रमबाट नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ।’

उनका अनुसार चीनको छेदुङ, लाङजाउ, ल्हासा, सेन्जेन, नामजिङ, सियानबाट पाहुना आउनेछन्। त्यसैगरी अमेरिकाको बोल्लर र फिक्सवर्ड, जापानको मात्सु मोटो, भुटानको थुम्पु सिटी, बंगलादेशको ढाका, साउथ सिटी र भारतको नर्थ दिल्लीबाट पाहुना आउँदै छन्।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा विदेशका विशिष्ट पाहुनाहरु आमन्त्रण गरी मनाउन लागिएको यो पर्वले नेपाल भ्रमण वर्षको प्रवर्द्धनलाई थप टेवा पुग्ने तथा नेपालको सांस्कृतिक पर्यटनको विकासमा समेत योगदान पुग्ने मेयर शाक्यको भनाई छ। 

‘विदेशी पाहुना बोलाउने कुरा खर्च होइन लगानी हो। पर्यटन प्रवर्द्ध र भ्रमण वर्षमा सहयोग पुग्छ’, उनले भने, ‘नेपाली मात्रै विदेश जाने परम्परा तोडिएको छ।’

मेयर शाक्यले विदेशी पाहुनालाई सांस्कृतिक धरोहर, सम्पदा, भक्तपुर दरबार स्क्वायर, ललितपुर पाटन दरबार र चन्द्रागिरी घुमाइने बताए। ‘छोटो समयमा सकेसम्म उपत्यकाको सबै सांस्कृतिक सम्पदाको अवलोकन गराउँछौं’, मेयर शाक्यले भने। इन्द्रजात्राको अन्तिम दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभामा पाहुनाको सम्मानमा रात्रिभोज गरिने छ।  

८ दिनसम्म मनाइने इन्द्रजात्रा मंगलबार हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरेसँगै सुरु भएको छ। जत्राका क्रममा नगर परिक्रमा गरिने श्री कुमारी, श्री गणेश, श्री भैरवको रथयात्रा, लाखेनाच, पुलुकिसी, दिप्याखं, महाकालीनाच लगायत अन्य थुप्रै सांस्कृतिक र धार्मिक परम्परा प्रस्तुत हुन्छ। कुमारीको रथयात्रामा राष्ट्रप्रमुख (राष्ट्रपति) सहभागी हुने परम्परा छ भने अन्तिम दिन कुमारी घरमै राष्ट्रप्रमुखले कुमारीको हातबाट टीका ग्रहण गर्ने चलन छ। 

मेयर शाक्यले इन्द्रजात्रामा राष्ट्रपतिलाई बहिष्कार गर्ने भन्ने प्रश्नमा सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनले यसबारे विभिन्न नेवाः समुदायसँग समन्वय भइसकेको भन्दै त्यस्तो अवस्था नआउने स्पष्ट पारे। ‘पहिलो राष्ट्रपति रामवरण यादवलाई पनि भैँसी चराउनेलाई मान्दैनौं भनेकै हो। विगतमा राष्ट्र प्रमुखको हैसियतले राजा सहभागी हुने चलन रहेकोमा अहिले राष्ट्रप्रमुख राष्ट्रपति सहभागी केही असहज भएको हो। तर, राष्ट्रप्रमुख सहभागी हुने परम्परा भएकाले राष्ट्रपति सहभागी हुनुहुन्छ। हामीले व्यक्ति होइन संस्था हेर्नुपर्छ’, शाक्यले भने।

उनले सुरक्षा व्यवस्था कडा पारेर जात्रामा हुलदंगा होइन सबै आउने वातावरण बनाउन अपिल समेत गरे।   

५ करोडको अक्षय कोष स्थापनाको तयारी

मेयर शाक्यले इन्द्रजात्रा तथा अन्य संस्कृतिको जर्गेना गर्न ५ करोडको अक्षयकोष स्थापना गर्न लागिएको बताए। काठमाडौं महानगरपालिकाको संरक्षणमा रहनेगरी कोष स्थापना गर्न लागिएको उनको भनाई छ। मेयर शाक्यका अनुसार महानगरको २ करोड, पर्यटन मन्त्रालयको १ करोड ५० लाख, प्रदेश सरकारको १ करोड र गुठी संस्थानको ५० लाख लगानीमा कोष स्थापना गर्न लागिएको हो। 

प्रकाशित: २५ भाद्र २०७६ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App