६ वैशाख २०८१ बिहीबार
समाज

शुक्लाफाँटामा कृष्णसारको संख्या दोब्बर

महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार फष्टाउँदै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले कृष्णसारको संख्या ८९ पुगेको छ। जसमा ३१ भाले, ३६ पोथी, २२ बच्चा रहेका छन्।  

शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगंज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ साल बैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो। पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ स्थानान्तरण गरिएका हुन्। 

कार्यालयका अनुसार १७ हेक्टरमा कृष्णसारको वासस्थानका लागि फाँटामा जाली तारबार गरिएको छ। चाँडै २० हेक्टर थप्ने प्रक्रिया समेत अघि बढेको छ।

विश्वमै निकै थोरै संख्यामा रहेका संकटापन्न कृष्णसारका लागि यहाँको बासस्थान उपयुक्त देखिएकाले स्थानान्तरण गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोष्ट पश्चिम उत्तर र राजमार्गदेखि करिब चार किलोमिटर उत्तरमा रहेको हिरापुरफाँटामा कृष्णसारका लागि ताल र ‘सेड हाउस’ (छहारी) निर्माण गरिएका छन्। कृष्णसारको बासस्थानसंगै पर्यटकका लागि सहज आवागमनका निम्ति हिरापुर फाँटासम्मको सडक ग्राइभेल र मचान समेत निर्माण गरिएको छ। फाँटामा कर्मचारी निवास र सोलार जडान पनि गरिएको छ।

कृष्णसारको संख्या निकै कम भएकाले भविश्यमा खैरापुरका कृष्णसार रोगब्याधी वा अन्य कुनै कारणले संकटमा परे पनि यहाँका सुरक्षित रहने अभिप्रायले यहाँ स्थानान्तरण गरिएको प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले जानकारी दिए।

राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक र प्राविधिक सहयोगमा कृष्णसार स्थानान्तरण गरिएको हो। शुक्लाफाँटामा स्थानान्तरण गरिएको कृष्णसार दोस्रो वन्यजन्तु हो। यसअघि २०५८ सालमा चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ चार एकसिङ्गे गैंडा स्थानान्तरण गरिएका थिए। 

नेपालमा सबैभन्दा बढी कृष्णसार खैरापुरमा छन्। करिब चार बर्षको अध्ययन अनुसन्धानपछि शुक्लाफाँटामा कृष्णसार स्थानान्तरण गरिएका हुन्। शुक्लाफाँटा उपयुक्त बासस्थान देखिएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्थानान्तरणको निर्णय गरेको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुमा सूचिकृत कृष्णसार नेपालमा सबै भन्दा बढी करिब तीन सयको हाराहारीमा खैरापुरमा छन्। एन्टिलोप प्रजातिको कृष्णसार यसअघि नेपालगंज, ललितपुरको सदर चिडियाखान र खैरापुरसंगै काठमाडौंको मृगस्थलीमा मात्रै पाइन्थे। घाँस चर्न र खुल्ला ठाउँमा बस्न रुचाउने वयस्क कृष्णसारको भाले कालो र पोथी खैरो रङ्गको हुन्छ। यसले मृग प्रजातिझैं ६/६ महिनामा बच्चा जन्माउने गर्छ। वयस्क नभएसम्म भाले र पोथीको रङ्ग खैरो नै हुन्छ। 

प्रकाशित: १९ भाद्र २०७६ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App