१६ चैत्र २०८० शुक्रबार
समाज

फेरि आकासियो तरकारीको मूल्य, टमाटर प्रतिकिलोको १ सय ५०

बुटवलको हाट बजारमा तरकारी किन्दै उपभोक्ता। तस्विरः रेखा नागरिक

बुटवल - बाढी पहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मुल्य अचाक्ली बढाएका छन्। डुबानले तराइको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लाबाट आयात हुन नसकेपछि व्यापारीले मुल्य तीन गुणाले बढाएका छन्। भारतीय तरकारीको बिषादी परीक्षण र भीसीटिएसको किचलोलाई पनि व्यापारीले मुल्य बढ्नुको कारण देखाएका छन्।

दुइ साता अघिसम्म ५०/६० रुपैँयाका प्रतिकिलोमा पाइने टमाटर अहिले १२० देखि १५० रुपैँया सम्म पुगेको छ। एक मुठ्ठा सागको ५०/६० रुपैया छ। सिमी २ सय रुपैँया प्रतिकेजी छ। बोडी प्रतिकेजी १६० रुपैँया छ। परबर र  तीते करेला १ सय रुपैँया प्रतिकेजी छ।काँक्रो १५० रुपैँया छ। भिण्डी र तिते करेला १२०, काउली १५० र हरियो खुर्सानी १६० रुपैँया प्रतिकिलो छ। सिमला मिर्च १६०,लौका ८० र घिरौला १ सय रुपैँया किलो छ। आलुको मुल्य खासै बढेको छैन। प्याज ५० रुपैँया प्रतिकिलो छ।  अदुवा र लसुनको मुल्य पनि अत्यधिक बढेको छ। लसुन ८० रुपैयाँ पाउ र अदुवा ६० रुपैँया पाउ छ।

बर्षाका कारण तरकारीको माग र आपुर्तिमा तालमेल नमिल्दा मुल्य बढेको व्यापारीहरुको भनाइ छ। उपभोक्ताले तिर्ने मुल्य अत्यधिक बढाइएको भएपनि किसानले भने त्यस अनुसारको भाउ पाएका छैनन्। तरकारी आयात कम भएको भन्दै बिचौलीया व्यापारीले आफुखुसी मुल्य बढाएका हुन।

बुटवलको हाट बजारमा तरकारी व्यापार गर्दै आएका डोरबहादुर घर्तीले बिचौलीयाबाटै महंगो तिरेर किन्नु पर्ने भएकाले बिक्रि मुल्य सोही अनुसार राखिएको बताए। ‘हामीले किसानसंग तरकारी किन्न पाउदैनौ। बिचौलिया, व्यापारीले किसानसंग खरीद गरेको तरकारी तिनले जती  भन्छन् त्यती मुल्यमा किन्नु पर्छ र किनेको मुल्यमा १०÷१२ रुपैँया नाफा राखेर उपभोक्तालाइ बेचेका छौं’ घर्तीले भने।

किसानबाट सस्तोमा खरिद गरिएको भए पनि आम उपभोक्ताले खरिद गर्ने बजार तथा पसलहरुमा तरकारीको मुल्य भने आकासिएको छ। तरकारी बजारको यो महँगीले आम उपभोक्ता मर्कामा परेका छन्। शंकरनगरकी जमुना आर्चायले हरियो तरकारीको मुल्य आकासिएपछि भन्सा कसरी चलाउने भन्ने चिन्ता थपिएको बताइन्। ‘दुइ सय रुपैँया किलोको तरकारी किनेर कतिदिन भान्सा चलाउने’ आर्चायले गुनासो गरिन्। उपभोक्ता हित संरक्षण मञ्चका लक्ष्मण बैदवारले देश विपतमा डुबेको मौका छोपेर बिचौलिया र व्यापारीले कालो बजारी गरीरहेको बताए।

बर्षामा हरियो तरकारीको मुल्यबढ्नु स्वभाविक भएपनि किसानबाट किनेको मुल्य भन्दा दोब्बर/तेब्बर बढीमा उभोक्तालाइ बेच्नु कालोबजारी हुने बैदवारको भनाइ छ। ‘किसानले ८० रुपैँयामा बेचेको सिमी उपभोक्ताले किन्दा २ सय रुपैयाँ तिर्नु पर्ने अवस्था आउनु कालोबाजारी नभएर के हो ?’ बैदवारले प्रश्न गरे। तर व्यापारीहरु भने तरकारी बजारको यो महगाइ स्वभाविक भएको प्रतिक्रिया दिन्छन्। तरकारीको थोक मुल्य नै बढेकाले फुटकर मुल्य पनि बढेको बुटवलका  तरकारी व्यापारी कृष्ण भुसालले बताए।

तरकारीको मात्रै होइन माछा मासुको मुल्य पनि अस्वभाविक बृद्धि गरिएको छ। गत साता सम्म ८ सय रुपँैया प्रतिकिलो रेहको खसीको मासु एकै चोटी बढाएर ९ सय पुरयाइएको  छ। कुखुराको मासु प्रतिकेजी ४ सय रुपैँया छ। कुखुराको मासुमा प्रतिकिलो २० देखि ४० रुपैँया मुल्य बढाइएको छ। बजारमा खसीबोकाको अभाव भएकाले मुल्य बढेको तिलोत्तमा २ को आँधिखोला मिटसप शंकरनगरका ऋषिराम रानाभाटले बताए। भारतबाट आयात रोकिदा बजारमा खसीबोकाको अभाव भएको व्यवसायी बताउँछन।

तरकारी र माछामासुको मुल्य अस्वभाविक रुपमा बृद्धि भएपनि अनुगमन गर्ने निकाय भने मुकदर्शक भएर बसेको छ। अनुगमन नहुँदा बिचौलिया, व्यापारीहरुले मनपर्दी मुल्य बृद्धि गरेका छन्। सरकारी निकायले अनुगमन गरी अस्वभाविक मुल्य बृद्धि नियन्त्रणतर्फ चासो नदेखाएको उपभोक्ताको गुनासो छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले अनुगमन निरीक्षणको तयारी भइरहेको बताए। भैरहवामा केही दिन अघि अनुगमन गरिएको र बुटवल, तिलोत्तमा, लगायतका क्षेत्रमा पनि अनुगमन गरिने सहायक सिडिओ शर्माले बताए। अनुगमन निरीक्षणको अधिकार अहिले स्थानीय तहलाइ पनि  भएकाले स्थानीय सरकार पनि उपभोक्ताप्रति जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

रुपन्देहीमा मागको अनुपातमा तरकारीको उत्पादन कम  हुने र बर्षाको समयमा अधिकाँसले खेतमा धान रोप्ने भएकाले आयातित तरकारीमा भर पर्नुपर्छ। तरकारी थोक बिक्रेता संघका अनुसार रुपन्देहीमा दैनिक  करिब २५ टन तरकारी  खपत हुन्छ। जिल्लाका बिभिन्न स्थानका साथै आसपासका जिल्ला तथा सल्यान, पाल्पा, चितवन, धादिङ्ग, मकवानपुर तथा भारतबाट आलुप्याज तथा हरियो तरकारी आयात हुन्छ।  रुपन्देहीको मर्चवार, धकधही, देवदह लगायतलाइ तरकारी पकेट क्षेत्रका रुपमा बिस्तार गरी व्यवसायिक खेती गरिए पनि यसले माग भने धान्न सकेको छैन।

प्रकाशित: १० श्रावण २०७६ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App