८ वैशाख २०८१ शनिबार
समाज

यातायात कार्यालयमा छड्के, २१ कर्मचारी अनुपस्थित

रुपन्देही– सेवाग्राहीको सबैभन्दा बढी भिड लाग्ने सरकारी अड्डामै कर्मचारी नआएको गुनासो आउन थालेपछि प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले छड्के अनुगमन थालेको छ। सुशासन कायम गर्ने मुख्यमन्त्री कार्यालयको नीति अनुसार मंगलबार यातायात व्यवस्था कार्यालयका दुई इकाईमा छड्के अनुगमन गरिएको छ। 

प्रदेश सरकार मताहत रहेको यातायात व्यवस्था कार्यालयको बुटवलस्थित सवारी अनुमति पत्र (लाइसेन्स) शाखा र तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित सवारी शाखाको छड्के अनुगमन गरिएको हो। छड्केमा प्रमुखसहित २१ जना कर्मचारी अनुपस्थित भेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए। यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा ३२ दरबन्दी रहेकोमा कार्यालय प्रमुखसहित १० कर्मचारी अनुपस्थित भेटिए। त्यसैगरी लाइसेन्स शाखा बुटवलमा २९ कर्मचारीको दरबन्दी भएकोमा ११ कर्मचारी अनुपस्थित भएको पाइएको हो। 

नागरिकहरुको सबैभन्दा बढी भिडभाड हुने कार्यालयमा कर्मचारीले लापरवाही गरेको गुनासो आएपछि आफूहरुले छड्के अनुगमन गरेको र गुनासो अनुसारकै अवस्था भेटिएकाले तत्तकाल कारवाही प्रक्रिया अघि बढाइने प्रवक्ता अधिकारीले बताए। अनुपस्थित भएकाहरु कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको र सबैलाई स्पष्टिकरण सोधेपछि आवश्यक प्रक्रिया अघि बढाइने मुख्मयन्त्री कार्यालयले जनाएको छ। 

सेवाग्राहीमुखी कार्यालयहरुमा मुख्यमन्त्री कार्यालयले बेला बेलामा छड्के चेकजाँच थाल्ने प्रवक्ता अधिकारीले बताए। अनुगमनका लागि दुई कार्यालयमा मुख्यमन्त्री कार्यालयले दुई टोली खटाएको थियो। लाइसेन्स शाखामा शाखा अधिकृतद्वय प्रेम गौतम र सुरेन्द्र भण्डारी तथा सवारी शाखामा शाखा अधिकृत केशव भण्डारी र नाय सुब्बा राजेन्द्र पौडेल छड्केमा गएका थिए। कर्मचारीहरु साँढे १० बजेसम्म पनि कार्यालय पुगेनन्। अनुगमनमा हाजिरी र परिचयपत्र हेरिएको थियो। ढिला आएका कर्मचारीहरुको हाजिरीमा अनुपस्थिति जनाइएको छ।

प्रकाशित: ७ श्रावण २०७६ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App