७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

टिचिङमा दोस्रो कलेजो प्रत्यारोपण सफल

काठमाडौं  - डेढ महिनाअघि पहिलो पटक कलेजो प्रत्यारोपण गरेको टिचिङ अस्पताल महाराजगन्जमा दोस्रो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरका ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण भएको हो । कलेजो सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा दिल्लीको फोर्टस् अस्पतालका वरिष्ठ चिकित्सक विवेक बीजको सहयोगमा प्रत्यारोपण सम्पन्न भएको हो ।

२८ वर्षीय ज्वाइँ नाता पर्नेले उनलाई कलेजो दिएका हुन् । दिने र लिने दुवैको आइसियुमा उपचार भइरहेको कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले बताए । प्रत्यारोपण शल्यक्रियाका लागि नौ घण्टा लागेको थियो ।

अस्पतालमै सफलपूर्वक दोस्रो कलेजो प्रत्यारोपण भएपछि डा. भण्डारीले आत्मविश्वास बढेको बताए । ‘यस पटक प्रत्यारोपण गर्दा सजिलो पनि भयो । आत्मविश्वास पनि बढ्यो,’ उनले भने । पहिलो प्रत्यारोपण जेठको अन्तिम साता सम्पन्न भएको थियो । प्रत्यारोपित बिरामीको अनुमतिबिना मिडियामा नाम नखुलाइएको डा. भण्डारीले बताए । उनमा पनि रक्सी पिएको कारण लिभर सिरोसिस (कलेजो फेल) भएको थियो ।

यो सफलताले अस्पताल तथा चिकित्सक दुवै कलेजो प्रत्यारोपणका लागि सक्षम रहेको प्रमाणित भएको डा. भण्डारीले बताए । नेपालमा कलेजो प्रत्यारोपण गर्ने अवस्थाका धेरै बिरामी रहे पनि सेवाको बारेमा थाहा नपाएर कति बिरामी भारत पुग्ने गरेका उनले सुनाए । ‘अब हामी सक्षम भइसकेका छौं । कुनै पनि कलेजोको बिरामी उपचारका लागि भारत जानु पर्दैन,’ उनले भने, ‘पहिला कलेजो प्रत्यारोपणका लागि धेरै बिरामी आएका थिए । अहिले सबै सम्पर्कमा छैनन् ।’ यसअघि काठमाडौं हात्तिगौंडाका ६० वर्षीय पदमबहादुर मल्लको टिचिङमै कलेजो प्रत्यारोपण भएको थियो । हाल कलेजो दिने छोरी पूर्णी शाही र लिने पदमबहादुर दुवै स्वस्थ भइसकेका छन् ।

प्रकाशित: ६ श्रावण २०७६ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App