६ वैशाख २०८१ बिहीबार
समाज

हुरी पीडितको लागि सेनाले बनायो नमूना घर

हुरी पीडितको लागि सेनाले पुरैनियामा निर्माण गरेको नमूना घर ।

बारा– नेपाली सेनाले बाराका हुरी पीडितको लागि नमूना घर निर्माण गर्न सफल भएको छ। पुनर्निर्माण गरिने घरहरुको बारेमा हुरी पीडित परिवार र निर्माण कार्यमा खटेका सेनाका टोलीलाई जानकारी दिनको लागि पहिला तीन स्थानमा तीन वटा नमूना घर निर्माण गरिएको सेनाले जनाएको छ।

गएको चैत १७ गते आएको विनाशकारी हुरीबाट क्षति भएको घरहरुको बैशाख २१ गते पुनर्निर्माण गर्न शिलान्यास गरिएको थियो। ‘हुरी पीडित परिवारको लागि निर्माण हुने घरको बारेमा सम्बन्धित पक्षलाई जानकारी गराउनको लागि सुरुमा नमूना घर निर्माण गरिएको हो’, जनता आवास कार्यदलका नेतृत्व गरेका सेनाका सहायक रथी बिनय बिक्रम राणाले भने, ‘नमूना घर निर्माण गरिएपछि सेना र हुरी पीडित परिवार दुबैलाई सजिलो भएको छ।’

निर्माण गरिने घरहरु बातावरण मैत्री हुनुपर्ने माग आएपछि त्यसै अनुसार नै नमूना घरमा निर्माण सामग्री प्रयोग गरिएको सहायक रथी राणाले बताए। अत्याधिक गर्मी हुने भएकोले गर्दा घरको छानामा कोरियन कम्पनीले निर्माण गरेको कम गर्मी हुने आधुनिक जस्ता प्रयोग गरिएको उनले बताए।

घरमा झयाल, कोठा लगायतका अन्य सामग्रीहरु वातावरण मैत्री रहेकाले निर्माण हुने घरमा चिसो, गर्मी र बर्षायाम गरी तीनै सिजनमा बस्न सजिलो हुने दावी उनले गरे। निर्माण गरिएको नमूना घरमा रंगरोगन गर्न मात्रै बाँकी रहेको र दुई तीन दिन भित्रमा त्यो पनि पुरा गर्ने उनले बताए।

फुलवारिया, चैनपुर र पुरैनियामा गरी तीन स्थानमा नमूना घर निर्माण गरिए पनि पहिलो चरणमा निर्माण गरिने घरहरुको कार्य तीब्र गतिमा अगाडि बढाइएको उनले बताए।

पहिलो चरणमा जेठ अन्तिम साता सम्ममा चार सय ८२ वटा घरको निर्माण गर्न गरी काम अगाडि बढाइएको उनले बताए।

अहिलेसम्म चार सय ८२ वटा घरमध्ये चार सय १० वटाको जग खन्ने कार्य गरिएको, जग खनिएकामध्ये एक सय ७८ घरहरुको तीन फिटसम्म इटाले पर्खाल जडान गरिएको र ७७ वटा घरहरुको जगभन्दा माथि पर्खाल लगाएर त्यसमा फलामको पिलर दिएको जानकारी सहायक रथी राणाले दिए।

पहिलो चरणमा शुरु गरिएको घरहरुको पुनर्निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा त्यसैगरी चार सय ८२ वटा घरहरु निर्माण गरिने र तेस्रो चरणमा तीन महिना भित्रमा १३ सय ६२ वटाहरुहरु निर्माण गर्नेगरी जनशक्तिहरु परिचालन गरिएको उनले बताए।
हुरी पीडितको घर निर्माण कार्य सेना शुरु गरेको अवस्थामा आउने साउन अन्तिमा हप्तासम्ममा पूर्ण क्षति भएको घरहरुको निर्माण कार्य पुरा गर्ने लक्ष्य लिएको सेनाका अधिकारीहरुले जनाएका छन्।

हुरी पीडितको लागि निर्माण गर्न लागिएको घरमा दुई वटा कोठा एउटा बरण्डा र एउटा वाथरुम रहेको सहायक रथी राणाले बताए।
सेनाले निर्माण गर्न जिम्मा पाएको एउटा घरको निर्माण कार्यमा मूल्य अभिबृद्धि करसहित पाँच लाख ४५ हजार खर्च हुने बताइएको छ। 

हुरीबाट बाराको आठवटा स्थानीय तहको बिभिन्न गाउँहरुमा गरि दुई हजार ४९३ घरहरुमा क्षति भएको बिवरण शुरुमा जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको थियो।

क्षति भएको घरमध्ये सेनाले १३ सय ६२ मात्रै निर्माण गर्ने र ११ सय ३१ घरहरु त्यसै रहने अवस्था रहेको छ।

हुरीबाट पूर्णरुपले क्षति भएको १३ सय ६२ घरहरु पहिलो प्राथमिकतामा राखेर मात्रै निर्माण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ।

फेटा गाउँपालिका –१ को भलुही भरवलियामा एक सय ७४,  ६ को  पुरैनिया ६८, कलैया उपमहागनरपालिका १८ को मनगढवामा एक सय ८८, १२ को धर्मनगरमा १, १३ को फुलवरीयामा १५, सुवर्ण गाउँपालिका ४ को हर्दियामा एक सय ४३, ८ को  पशरामपुरमा ६५, ५ को औरहिया र पशरामपुरमा २०, प्रसौनी गाउँपालिका –४ को खुटवामा एक सय ५६, महागढीमाई नगरपालिका ७ को तेलगाईमा ५७, देवताल गाउँपालिका ७ को रामपुर्वामा ७७, पचरौता नगरपालिका ७ को बेनौलीमा २८, २ को बैरियामा सात र परवानीपुर गाउँपालिका ४ र ७ को शिवपुर, रामटोल र बिर्ताटोलमा दुई सय ७२ गरि पहिलो चरणमा १३ सय ६२ घर निर्माण कार्य अगाडि बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App