२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

नक्खु कारागारबाट भागेका टकलासहित १८ कैदी पक्राउ

नक्खु कारागारबाट भागेका १८ कैदीबन्दीलाई आज काभ्रेपलाञ्चोकको मंगलटारबाट पक्राउ गरिएको छ। कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले विपी राजमार्गअन्तर्गत भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

टकलासहित पक्राउ परेका कैदीबन्दी जनकपुर बम काण्डमा दोषी ठहर, सञ्चार उद्यमीको हत्या र अकुत सम्पत्तिको मुद्दामा सजाय भुक्तान गरिरहेका थिए। उनीहरूलाई आजै नक्खु कारागारमा फिर्ता पठाउने तयारी भइरहेको कुँवरले जानकारी दिए। अन्य कारागारबाट फरार भएका कैदीबन्दीलाई अरनिको मार्ग र विपी राजमार्गमा विशेष निगरानी गरिएको छ।

यसअघि बुधबार सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागारमा कैदीबन्दीले आगजनी गरेका थिए। अन्य कारागारबाट भागेका कैदीबन्दीलाई पनि रिहा गर्नुपर्ने माग राख्दै तोडफोड र आगजनी गरेपछि दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो। उक्त कारागारमा २८३ कैदीबन्दी थिए। बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

प्रकाशित: २६ भाद्र २०८२ २०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App