रसुवामा आएको बाढी र पहिरोपछि सिन्धुलीका १८ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा खोजी तथा उद्धारका लागि आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलका अनुसार रसुवाका विभिन्न हाइड्रोपावर आयोजना तथा ती आयोजनासम्म पुग्ने सडकमा काम गर्दै आएका सिन्धुलीका श्रमिकहरू र केही कर्मचारी समेत सम्पर्कविहीन भएको भन्दै आफन्तहरू प्रशासन कार्यालयमा पुगेका हुन्।
उनीहरूले आफ्ना आफन्तको अवस्था पत्ता लगाइदिन र खोजीका लागि पहल गरिदिन प्रशासनसँग आग्रह गरेका हुन्।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार हालसम्म कमलामाई नगरपालिका–११ का ११ जना सम्पर्कविहीन भएको जानकारी आफन्तले प्रशासनलाई दिएका छन्।
त्यसैगरी कमलामाई नगरपालिका–१, २, ३ र ६ का गरी थप सम्पर्कविहीन भएको भन्दै आफन्तले प्रशासनमा जानकारी गराएका छन्। प्रशासनमा प्राप्त विवरणअनुसार अहिलेसम्म १८ जना सम्पर्कविहीन भएको जानकारी आएको पौडेलले बताए।
रसुवामा पछिल्लो समय आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठुलो क्षति पुगेको छ।
बाढी पहिरोका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित हुँदा घटनास्थलमा रहेका व्यक्तिहरूसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।
सम्पर्कविहीन भएका व्यक्तिहरू रसुवाका विभिन्न हाइड्रोपावर आयोजना तथा आयोजनासँग सम्बन्धित सडक निर्माण र अन्य काममा संलग्न रहेको आफन्तहरूले बताएका छन्। उनीहरू लामो समयदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तहरू चिन्तित बनेका छन्।
सहायक प्रजिअ पौडेलले प्रशासनमा प्राप्त विवरण संकलन गर्ने काम भइरहेको र सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको बताए।
प्रशासनले रसुवास्थित सम्बन्धित निकायसँग समन्वय गरी घटनाको थप विवरण संकलन तथा खोजीका लागि आवश्यक पहल गर्ने जनाएको छ।
सम्पर्कविहीन हुनेको संख्या अझै बढ्न सक्ने भएकाले आफन्तबाट प्राप्त विवरणलाई व्यवस्थित रूपमा संकलन गर्ने काम भइरहेको प्रशासनले जनाएको छ।
आफन्तहरूले भने आफ्ना परिवारका सदस्यको अवस्था तत्काल सार्वजनिक गर्न र खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन माग गरेका छन्।
प्रकाशित: १० भाद्र २०८३ १९:०९ बुधबार


-600x400.jpg)


