१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मधुमेह हटाउन एचपिएफको अभियान सुरु

मधुमेह अनुकूलित खाजाको तयारी गर्दै विद्यार्थी। तस्बिरः खगेन्द्र/नागरिक

ताप्लेजुङ– अलि दुब्लाउनु भएछ त ! केही समयअघिसम्म हृष्टपुष्ट देखिने व्यक्तिलाई कसैले प्रश्न ग-यो भने धेरैबाट आउने उत्तर हो ‘सुगरले खत्तम गरी गो नि !’

उमेर ढल्कँदै गरेका व्यक्तिको त यो कुरा, हिजोआज युवा उमेरमै सुगर अर्थात् चिनी रोगले सताउने गरेका उदाहरण हामीसामु प्रशस्तै छन्। समाजमा रोगको नियति नै बन्दै आएको मधुमेह अर्थात् चिनी रोग लाग्नै नदिन विद्यालय तहबाटै अनुशिक्षण गराउने उद्देश्यले ताप्लेजुङका विद्यालयमा साप्ताहिक पाक शिक्षा चलाउन थालिएको छ। खानपिन र जीवनशैलीका कारण मधुमेहको शिकार हुने गरेको भन्दै विद्यालय तहबाटै सुरु गरिएको यो अभियानले विद्यार्थीबाट उनीहरूका अभिभावकसम्ममा मधुमेह रोग न्यूनीकरणमा सहयोग पुग्ने ह्युमन प्राक्टिस फउण्डेसन(एचपिएफ) को विश्वास छ।

एचपिएफ शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। आफूहरूले नौलो आयामका रुपमा यस्तो अभियान सञ्चालन गरिरहेको एचपिएफका मधुमेहसम्बन्धी कार्यक्रम हेर्ने सम्पर्क व्यक्ति शिवलाल थापाले जानकारी दिए। समुदायमा आधारित मधुमेह रोकथाम अभियानमार्फत ताप्लेजुङका २० वटा विद्यालयमा यो कार्यक्रम सञ्चालनमा रहेको थापाले बताए। उनका अनुसार यो कार्यक्रमअन्तर्गत छानिएका सबै विद्यालयमा अर्गानिक सागसब्जी तथा रासायनिक विषादीमुक्त करेसाबारी बनाइने छ। त्यहाँ उत्पादन भएका तरकारीको प्रयोग गरी हरेक साताको एकदिन विद्यालयमै भान्छा चलाइन्छ। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई सहभागी गराएर चलाइने भान्छामा आवश्यक पर्ने सबै सामग्रीको व्यवस्थापन एचपिएफले गरिदिएको छ। भाडावर्तनदेखि ग्याँस चुह्लो सातामा एक दिनको एक छाकको भान्छाका लागि सबै सामग्री जोहो गरिदिएको एचपिएफले मधुमेह पूर्व रोकथाम र भइसकेपछि प्रयोग गरिने खानपिन र जीवनशैलीका बारेमा कार्यक्रम सञ्चालित विद्यालयका शिक्षक तथा विद्यार्थीलाई तालिम दिएको छ। ‘तालिमबाट पाएको सीप प्रयोग गरेर पाक शिक्षा चलाउने र आफैं प्रयोगसमेत गर्ने परम्पराको विकासका लागि यो कार्यक्रम सुरु गरिएको हो’,थापाले भने।

एचपिएफका जिल्ला कार्यक्रम संयोजक अमित श्रेष्ठका अनुसार यो पाक शिक्षाको मुख्य उद्देश्य मधुमेह रोग रोकथाम तथा न्यूनीकरणका लागि विद्यार्थीमार्फत अभिभावकसम्म सन्देश प्रवाह होस् भन्ने हो। गलत प्रकृतिको खानपिन र जीवनशैलीविरुद्ध युवा उमेरदेखि नै चेतना जागोस् र त्यस्तो सन्देश विद्यार्थीले घरपरिवारमा समेत लगेर प्रवाह गर्न सकून् भन्ने मनशायले एचपिएफले यस्तो अभियानमा विद्यालयसँग साझेदारी गरेको श्रेष्ठले जानकारी दिए। मधुमेह रोकथामका लागि अपनाइनुपर्ने खानपिन र मधुमेह भइहाले यसको रोकथामका लागि उपयोग गर्न सकिने खानपिनका प्रकारबारे पाक शिक्षामार्फत विद्यार्थीलाई व्यावहारिक ज्ञान दिइँदै आएको समेत श्रेष्ठले बताए।

यो कार्यक्रमका सम्पर्क व्यक्ति थापाका अनुसार यो पाक शिक्षा पौष्टिक आहार र मधुमेह रोकथामका लागि अपनाउनुपर्ने विधि केन्द्रित हुने छ। यसै अभियानअन्तर्गत विद्यार्थीलाई खाना खानुअघि र पछि तथा दिसा–पिसाब गरिसकेपछि साबुन पानीले हात धुने र मधुमेह रोग रोकथामका लागि शारीरिक व्यायामसमेतको नियमित प्रयोग गर्ने तरिकासमेत सिकाइन्छ। अहिले मधुमेह रोकथाम तथा न्यूनीकरणका लागि कार्यक्रममा समावेश भएका विद्यालयले कालान्तरमा यस्तो अभियानलाई दीर्घकालीन बनाउने विश्वास एचपिएफले लिएको छ।

यो अभियानकै क्रममा एचपिएफले जिल्ला अस्पतालसहितका ९ वटा स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई मधुमेह नियन्त्रणका लागि उनीहरूले खेल्न सक्ने भूमिका र समुदायका सदस्यलाई रोगप्रति सचेत पार्न अपनाउनुपर्ने विधिसमेतमा अनुशिक्षण गराएको जनाएको छ। यसका साथै विभिन्न क्षेत्रमा मधुमेह स्वास्थ्य परीक्षण शिविर र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने उपायका बारेमा समेत जानकारी गराउँदै आएको एचपिएफले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App