२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

बाढीबाट विराटनगरमा १७६ परिवार विस्थापित

अविरल वर्षासँगै मोरङका विभिन्न खोलामा आएको बाढी बस्तीमा पस्दा केही परिवार विस्थापित भएका छन् भने मानवीय क्षति भएको छैन ।  

बाढीबाट सबैभन्दा बढी घर परिवार विस्थापित विराटनगर महानगरपालिकाका रहेको मोरङ प्रहरीले जनाएको छ । विराटनगरको पूर्व र पश्चिम क्षेत्र हुँदै बग्ने सिंघिया र केसलिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७६ परिवार विस्थापित भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार यस बाहेक जिल्लाका अन्य स्थानमा त्यस्तो संख्यामा विस्थापित नभएको र हालसम्म मानवीय क्षति भएको छैन ।  

प्राकृति विपद्बारे पूर्व जानकारी भएको हुँदा हामीले हाम्रासबै प्रहरी युनिटलाई सजक र तैनाथी अवस्थामा राखेका थियौं, डिएसपी चुँडालले भनिन्, ‘जिल्लाका हरेक युनिटका प्रहरीहरु सक्रियताका साथ बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्नका लागि खटिएका छन् । प्रहरीले बाढीबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा सार्ने, घरमा भएका सरसामान, चौपायालगायत महत्वपूर्ण वस्तुहरुलाई सकेसम्म सुरक्षित राख्ने काम गरिरहेका छन् । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सहयोग गरेका छन् । बाढीबाट विस्थापित भए पनि उहाँ सुरक्षित स्थानमा हुनुहुन्छ । हामीसँग भएका साधनस्रोतको प्रयोग गरी काम भइरहेको छ ।’  

केसलिया खोलामा आएको बाढी विराटनगर– १२ बखरीको सम्पन्न बस्तीमा पस्दा ७५ घरका ३५० जना विस्थापित भएका छन् । उनीहरूलाई बखरी आधारभूत विद्यालय र नयाँ बन्दै गरेको उद्योगमा राखिएको छ । विराटनगर– ५ शंकरबारी टोलमा केसलिया खोलाको बाढी २० वटा घरमा पसेको छ । त्यो घरका परिवारका ७० जना आफन्तको घरमा शरण लिएका छन् ।  

सिंघिया खोलामा आएको बाढी विराटनगर–२ पूर्वटोलामा पस्दा ३५ घर डुबानमा परे । ती घरका १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । विराटनगर–८ को सुकुम्बासी बस्तीमा सिंघिया पस्दा ११ घरका ४० जना विस्थापित भए भने उनीहरु आफै सुरक्षित स्थानमा सरेका छन् ।

त्यस्तै, सिंघिया खोलामा आएको बाढी पस्दा विराटगरसँगै जोडिएको कटहरी गाउँपालिका– १ बख्खु टोलका ३५ परिवार विस्थापित भएका छन् भने उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ । यहाँ प्रत्येक वर्ष बाढी आउँदा डुबान हुने र बख्खु टोलका स्थानीयहरुलार्य नारी विकासमै राख्ने गरिन्छ ।  

सुनबर्षी नगरपालिका– ६ कैमी टोलमा बक्राहा खोलाले बाँध कटान गरेको छ । सुनबर्षी– ३ बाहुनडोपमा बक्राहा खोलाले करिब ४–५ मिटर बाँध कटान गरी ६० घरमा बाढी पसेको छ ।

त्यसैगरी, उर्लाबारी नगरपालिका–१ बोडरलाइनमा रतुवा खोलाले पनि साइड बाँध कटान गरी बस्तीमा बाढी पसेको छ । मिक्लाजुङ गाउँपालिका–६ मलामीटहेरामा नुनसरी खोलाको बाँध कटान गरेको छ ।  

मोरङमा बाढी पहिरोबाट त्यस्तो ठूलो भौतिक र मानवीय क्षति पुगेको छैन, मोरङका प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादवले भने, ‘प्राकृति बिपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएका छन् । उनीहरुले जोखिम भएका स्थानको पहिचान गरी त्यहाँका स्थानीयहरुलाई समयमै सुरक्षित स्थानमा सार्ने र डुबान भएका घर परिवारका साथै उनीहरुको सामान पनि सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’

डुबान भएका घर परिवारलाई सुरक्षित स्थानमा स्तान्तरण गर्ने मात्रै नभई विस्थापित भएकाहरुलाई खाना र स्वास्थ्य उपचारको व्यवस्था मिलाएका छौं, सिडिओ यादवले भने, ‘हाल विराटनगरको बखरी आधारभूति विद्यालयमा रहेकालाई चाउचाउ, चिउरा, भुजा, भुजियालगायत सुख्खाका साथै पकाएर खाना खाने व्यवस्था दिउँसोबाटै भइसकेको छ । बखरी कै एक उद्योगमा पनि विस्थापितलाई राखेका छौं । तर, त्यहाँ तत्कालै पकाएर खुवाउन सक्ने अवस्था छैन । चारैतर्फबाट पानीले घेरिएको र ‘बोट’ मात्रै जान सक्ने अवस्थाले गर्दा त्यहाँ सुख्खा खाद्यान्नको व्यवस्था मिलाइ सकिएको छ । अहिले ‘बोट’बाट पकाउनका लागि चाहिने सामान ढुवानी भए पनि राति हुने भएकाले सम्भव छैन, बिहानबाटै उहाँहरुलाई पनि पकाएर खुवाउने छौं । जिल्लाको अन्य क्षेत्रमा अहिले खाद्यान्न चाहिने देखिएको छैन । विस्थापित भएकाहरु आफन्त र छिमेकीको रहेकाले खान र बस्न समस्या छैन । कहीँ कतै परिहाले तत्कालै खाद्यान्न उपलब्ध गराउने छौं ।’

बाढी र कटानका कारण मोरङ जिल्लामा २५१ परिवारका १ हजार २० जना प्रभावित छन् । ति मध्ये १७६ परिवार आफ्नो घर छाडेर विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १९ आश्विन २०८२ १८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App