२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नगरपालिका कार्यालयमा ढुङ्गामुढा हुँदा तीन घाइते, अवस्था तनावग्रस्त

रुकुम– रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकामा ढुङ्गामुढा हुँदा दुई जना नगर प्रहरीसहित तीन जना घाइते भएका छन्। नगरपालिकाको कार्यालयमा आइतबार टेन्डरको दरखास्तको विषयमा विवाद चर्किएको थियो। नगरपालिकाले ५० लाखको गिजागाड खोलामा तटबन्डन निर्माण गर्ने र ३५ लाखको राडी देखी घारीखोलासम्म सडक स्तर उन्नतीको लागि बोलपत्र आह्वान गरेको थियो। 

उक्त बोलपत्र अनुसार आइतबार दिउँसो १२ बजेसम्म टेन्डरको दरखास्त दर्ता गर्नुपर्ने समय तोकिएको थियो। आफूहरु ११ बजेर ४५ मिनेटमा टेन्डर दर्ता गराउन जाँदा पनि दर्ता गर्नुको सट्टा नगर प्रहरी लगाएर बाहिर धकलेपछि विवाद उत्पन्न भएको टेन्डर दर्ता गर्न पुगेका स्थानीय युवाहरुले बताएका छन्। ‘हामी बैंकमा धरौटी जम्मा गरि भौचर दिएर पौने १२ बजे कार्यालयमा पुगेका थियौं,’ टेन्डर दर्ता गराउन पुगेका स्थानीय युवा तेजविक्रम आरसीले भने, ‘तर प्रमुख प्रशासकीय अधिकृतले टेन्डर दरखास्त दर्ता नगरेर हामीलाई बाहिर धकलेपछि विवाद उत्पन्न भएको हो।’

कर्मचारीले मिलोमतोमा अरुलाई ठेक्का दिने उद्देश्यले आफूहरुको दरखास्त दर्ता नगरेको उनको आरोप रहेको छ। टेन्डर दर्ता गर्नुको सट्टा नगरप्रहरीले आफूहरुमाथि बल प्रयोग गरेको समेत उनीहरुले आरोप लगाएका छन्। आफ्नो गल्तीबिना बलप्रयोग गरिएको भन्दै अन्याय सहन नसकेर ढुंगाप्रहार गरेको आरसीले बताए। तर निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले भने आइतबार दिउँसो १२ बजेसम्म टेन्टरको लागी दरखास्त दिने समय तोकिएको भए पनि १२ बजे पछि मात्रै उनीहरु दरखास्त दिन आएकाले टेण्डर फाराम दर्ता नभएको जानकारी दिए। समय सकिएपछि आएर जबरजस्ती टेण्डर फारम दर्ता गराउन खोजेको र आफूले दर्ता नगरेपछि बाहिर गएर एक्कासी कार्यालयमा ढुङ्गामुडा गरेको उनको भनाई छ। 

ढुङ्गामुडाबाट नगर प्रहरी जवान दिपक थापा र कुशल खढ्का तथा सेवाग्राही निशान कामी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। घाइतेहरुको नगर अस्पताल आठबीसकोटमा उपचार भइरहेको छ। ढुङ्गामुडा गर्ने चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पक्राउ गरेकाहरुको नाम भने खुलाएको छैन्। 

स्थानीय युवाहरुलाई प्रहरीले पक्राउ गरेपछि यहाँको अवस्था थप तनावग्रस्त बनेको छ। सुरक्षा चुनौती बढेपछि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल गुल्म नम्बर ४७ बाट थप सुरक्षाकर्मी पठाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए। स्थानीयहरु आक्रोशित भएर आन्दोलन गर्न थालेपछि अवस्थालाई शान्तिपूर्ण बनाउनको लागि थप सुरक्षाकर्मी खटाइएको उनले बताए। 

प्रकाशित: १७ चैत्र २०७५ १५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App