coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमाली जिल्लामा हिँडडुल नै ठप्प

हिमाली जिल्ला मुस्ताङमा बिहीबार बिहान भएको हिमपात। तस्बिरः सुशीलबाबु /नागरिक

पोखरा/मुस्ताङ - लगातारको हिमपातले हिमाली जिल्लामा जनजीवन कठिन बनेको छ। अघिल्लोपटक परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात भएपछि हिमाली जिल्लावासीको दिनचर्या अस्तव्यस्त बनेको छ। उच्च हिमाली भेगमा महिना दिनदेखि आउजाउ रोकिएको छ।

मुस्ताङ, मनाङ, गोरखाको माथिल्लो भाग, म्याग्दीसहित कास्कीको उच्च भेगमा यसपटक भीषण हिमपात भएको स्थानीय प्रशासनले जनाएको छ। बाक्लो हिउँ पग्लिन नपाउँदै फेरि परेपछि जनजीवन कठिन बनेको हो। हिमपात हुँदा खुसी हुने किसान यसपटक भने चिन्तित बनेका छन्। बाक्लो हिमपातले हिमाली जिल्लाका स्थल र हवाई सेवा पूरै अवरुद्ध भएको छ। उच्च भेगको हिउँ पग्लिन नपाउँदा आउजाउ नै सास्तीपूर्ण बन्दै गएको त्यहाँका प्रशासनले जनाएका छन्।

उच्च हिमाली भेग पर्यटकीय क्षेत्र पनि हुन्। साहसिक पर्यटनको मुख्य गन्तव्य ती जिल्लामा हिमपातपछि पर्यटक आउजाउ नै रोकिएको छ। महिनादिनदेखि पदयात्रा करिब ठप्प छ। साहसिक पर्यटकीय रुटको पदयात्रा समेत झन्डै महिनादिनदेखि अवरुद्ध भएको छ। हिमपात नरोकिँदा पदमार्ग खुल्न अझै केही दिन लाग्ने स्थानीयले बताएका छन्। मुस्ताङका प्रहरी प्रमुख– डिएसपी महेन्द्र खड्काका अनुुसार हिमाली जिल्लाको गतिविधि अस्तव्यस्त छ। माथिल्लो क्षेत्र लोमान्थाङमा झन्डै चार फिट बाक्लो हिउँ जमेको छ। तीव्र गतिमा चल्ने चिसो हावाले हिउँ उडाउँदा आँधीबेहरीको झल्को आउने गरेको उनले सुनाए। ‘बिहीबार बिहानबाट हिमपात रोकिएको हो। बुधबार दिनभर हिउँ परेको थियो। दुई दिनदेखि घाम देख्न सकिएको छैन,’ उनले भने, ‘चिसो हावाले झनै मार पारेको छ। घरबाहिर निस्कन सक्ने अवस्था छैन।’

अघिल्लोपटक परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात भएपछि हिमाली जिल्लावासीको दिनचर्या अस्तव्यस्त

खड्काका अनुसार माघ दोस्रो साता परेको हिउँ पग्लिएकै थिएन। त्यहीमाथि पुनः थपिएको छ। झन्डै एक महिनादेखि माथिल्लो भेगको बाटो खुलाउन नसकेको उनले बताए। केही दिनअघि कालिगण्डकीको बाटो हुँदै केही सवारीसाधन जोमसोम–कोरला खण्डको छुसाङसम्म पुगे पनि त्यहाँभन्दा माथि उक्लिन नसकेको उनले बताए। झन्डै एक महिनादेखि लोमान्थाङसँगको सम्पर्क टुटेको उनले बताए। ‘बाटोको हिउँ पूरै पग्लिएको छैन। बीचमा केही दिन जसोतसो ट्रक चलेकाले बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन पाएको छैन,’ उनले भने, ‘तर अवस्था नाजुक भएको छ। कालीगण्डकी नदीबाट ट्रक आउजाउ गरेकाले उपभोग्य बस्तु अभाव हुन नपाएको हो। चिसोका कारण बाहिर निस्कनसमेत सक्ने अवस्था छैन।’ पछिल्लो चार दिनदेखि पोखरा–जोमसोम जहाज उडान भएको छैन। त्यस्तै गाडी पनि चलाउन सक्ने अवस्था छैन। ‘घाँसाबाट गाडी उकालो लाग्ने अवस्था नै छैन,’ उनले भने। पर्यटकीय गन्तव्य भए पनि महिना दिनदेखि पर्यटक आउनसमेत नसकेको उनले बताए।

यसअघि हिउँ पर्दा खुुसी भएका किसान यसपटक भारी हिमपातले खेतका बालीनाली नै पुरेपछि चिन्तित भएका छन्। ‘यतिबेला बारीमा उवा र जौ रोलिएको छ। त्यही खेतीलाई पनि हिउँले पुरेको छ,’ घरपझोङ गाउँपालिका–३, स्याङ गाउँका रेखा थकालीले भनिन्, ‘हिउँदे बालीलाई धेरै समस्या पारेको छ। आलु र गाँजर रोप्ने बेला निरन्तरको हिमपातले खेती गर्न पाइएको छैन।’ अर्काे हिमाली जिल्ला मनाङका बासिन्दाको अवस्था पनि कठिन बन्दै गएको छ। बाक्लो हिमपातले लमजुङको बेंसीसहरबाट मनाङका लागि छुटेका गाडी दानाक्युसम्म मात्र पुगेका छन्। सदरमुकाम चामेसम्म पनि गाडी उक्लिन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अधिकृत बाबुलाल तिरुवाले जानकारी दिए। उनका अनुसार बिहीबार बिहानैदेखि हिउँ परेको छ। त्यसले स्थानीयको आउजाउ रोकिएको छ।

‘गाडी पनि चल्न सकेका छैनन्। चामेसम्म चल्ने गाडी अहिले दानाक्यबाटै फर्केका छन,’ उनले भने, ‘सबै ठाउँ हिउँले सेताम्मे भएका छन्। बाटोभरि हिउँ जमेको छ।’ अन्नपूर्ण पदमार्गको फेरो पर्ने मनाङ पुगेका विदेशी पदयात्री पनि सदरमुकाम चामेबाट अगाडि बढ्न सकेका छैनन्। ‘माथिल्लो मनाङसम्म पुग्न सकिन्छ कि भनेर पर्यटक चामेमै बसेका छन्,’ उनले भने, ‘कतिपय पर्यटक त चामेबाटै फर्केका छन्।’ अन्नपूर्ण फेरोको पदमार्ग खुलाउन केही दिनअघि कामदार पठाए पनि पुनः हिमपात भएकाले आउजाउ रोकिएको तिरुवाले बताए। उनका अनसार थोराङला पास हुँदै मुस्ताङको मुक्तिनाथ निस्कने बाटोको हिउँ हटाउन मजदुर खटाए पनि पुनः भएको हिमपातले पदमार्ग पहिलेकै अवस्थामा पुगेको उनले बताए। ‘बाटोको हिउँ हटाएर पदमार्ग सफा गरेपछि पर्यटक पठाउने तयारी थियो। तर फेरि हिमपात भएकाले कामदारसमेत फर्किन पाएका छैनन,’ तिरुवाले भने, ‘झन्डै एक महिनादेखि फेरोको पदयात्रा पूरै बन्द छ। अहिलेको हिउँ पग्लेर पदमार्ग खुला हुन अझै केही दिन लाग्ने अवस्था आएको छ।’

हिमपातले गर्दा तिलिचो ताल र थोराङला भञ्ज्याङ पार गरेर मुस्ताङ निस्कने पदमार्ग पनि बन्द भएको उनले बताए। ‘हुन त यो बेला अफसिजन भएकाले पदयात्री कम नै थिए। त्यसमाथि हिमपातले झन् अवरोध पुर्‍याएको छ,’ उनले भने। उनका अनुसार जाडो छल्न जिल्ला छाडेका बासिन्दा घर फर्किने बेला हुन लाग्दा भएको भारी हिमापातले आउजाउमा समेत अप्ठेरो भएको छ।

प्रकाशित: १७ फाल्गुन २०७५ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App