१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मधुमेहले दृष्टि गुम्ला है !

काठमाडौं – विश्वभर मधुमेह रोगीको संख्या बढिरहेको सन्दर्भमा नेपालमा पनि विगत दश वर्षयता मधुमेह रोगीको संख्या तीव्र रुपमा बढिरहेको छ । मधुमेह रोगलाई समयमै नियन्त्रण नगरेमा मिर्गौला, खुट्टामा हानि पुर्याउँछ भने कलिलै उमेरमा आँखाको ज्योती गुम्ने पनि हुन सक्छ । यसैले आँखा रोग विशेषज्ञहरुले मधुमेहका रोगीलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

मंगलबार विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रममा तिलगंगा अस्पतालले मधुमेह रोगीलाई बेलैमा आफ्नो आँखाको परीक्षण गर्न सुझाएका छन् । चिकित्सकका अनुसार मधुमेह बढेमा आँखाको दृष्टि पर्दाको नसामा असर गर्छ।

आँखाको पर्दाको भित्री भागमा रहेको दृष्टिका लागि महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो । मधुमेहले असर गर्दा आँखाको पर्दामा रक्तश्राव हुने र सुन्निने हुन्छ । समयमै उपचार नभएमा अत्यधिक रक्तश्राव भई आँखाको सबै दृष्टि गुम्ने खतरा हुने चिकित्सकले आैल्याएका छन् । आँखामा देखिने यो असरलाई क्लिनिकल भाषामा डाइबेटिक रेटिनोप्याथी भनिन्छ।

प्रतिदिन तिलगंगा आँखा अस्पतालमा आँखाको दृष्टिपर्दा बिग्रेर आउने मध्येमा ५० जना मधुमेहले असर गरेका बिरामी हुने गरेको अस्पतालकी आँखा विषेशज्ञ डा. एली प्रधानले बताइन् । अस्पतालमा दैनिक एक सय २० जना दृष्टिपर्दा उपचारका लागि मात्र पुग्छन्।

मधुमेहले असर गर्दा आँखाको पर्दामा रक्तश्राव हुने र सुन्निने हुन्छ । समयमै उपचार नभएमा अत्यधिक रक्तश्राव भई आँखाको सबै दृष्टि गुम्ने खतरा हुन्छ।

तिलगंगा अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा नेपालमा मधुमेहका बिरामीले नियमित आँखा परीक्षण गर्न जटिल समस्या बनेपछि मात्र आइपुग्ने गरेको औंल्याएको छ । मधुमेहले आँखामा पार्न सक्ने क्षतिबाट बच्न समयमै उपचारमा आउन अपिल गरेको छ । मंगलबार अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आँखा डाक्टरको सल्लाहअनुसार नियमित आँखा परीक्षण गरौं । त्यसले समयमै मधुमेह रोगबाट हुने क्षतिबाट बचौं ।’ विज्ञप्तिमा थप उल्लेख गरिएको छ, ‘मधुमेहले आँखामा पार्ने क्षतिबाट आफू पनि बचाऔं र अरुलाई पनि बचाऔं।’

अस्पतालकी आँखा विशेषज्ञ डा. प्रधानका अनुसार मधुमेहका बिरामी ढिला उपचारमा पुग्दा आँखाको दृष्टि बिग्रिसकेको हुन्छ । त्यसको उपचार खर्च पनि उत्तिकै बढ्दै जाने भएकाले बेलैमा उपचार गरेर आँखा र पैसा दुवै बचाउन सकिन्छ । मधुमेहले दृष्टि पर्दा बिगे्रमा ३ हजारदेखि ४० हजारसम्म खर्च लाग्छ । धेरै बिग्रेको अवस्थामा सुई हान्नुपर्ने र शल्यक्रिया समेत गर्दा खर्च बढी लाग्छ।

अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा एक साता बिरामी तथा आमजनमानसलाई लक्षित गरी साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको पहिलो दिन मंगलबार मधुमेहले आँखामा पार्ने असरबारे स्वास्थ्य शिक्षा कार्यक्रम गरेको थियो।

तथ्याकंअनुसार मधुमेह भएको २० वर्ष भित्रमा दुई तिहाई बिरामीको आँखाको पर्दामा असर पुर्याएको हुन्छ । अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार विश्वभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस दुई प्रकारको मधुमेहको जोखिममा छन् । आधा बिरामीलाई आपूmलाई मधुमेह भएको जानकारी हुँदैन।

प्रकाशित: २८ कार्तिक २०७५ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App