१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘अपराधीले सजाय नपाउँदा बलात्कार बढ्यो’

धनगढी – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवीले कक्षा १० मा पढ्ने जेठी छोरीलाई ट्युसन पढ्न पठाउन सकेकी छैनन् । घरबाहिर गएकी छोरी फर्कन्छे कि फर्किन्न भन्ने त्रासका कारण उनले छोरीलाई पढ्नसमेत पठाउन नसकेकी हुन् । ‘घरबाट छोरी बाहिर पठाउनै डर लाग्छ । पढ्न पनि पठाउन सकिरहेकी छैन,’ उनले भनिन्।

गत असार १२ गते नगरपालिका कार्यालय जान घरबाट निस्केकी कैलालीकी माया विक बेपत्ता भइन् । गौरीगंगा नगपालिका–११ की उनी स्थानीय जंगलमा सामूहिक बलात्कारपछि हत्या भएको अवस्थामा फेला परिन् । घटनामा संलग्न पाँच जना पक्राउ परे । त्यसको केही दिनपछि असार २६ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका–८, शान्तीपुरकी १७ वर्षीया कविता विष्ट हराइन् । खोजी गर्दा उनको पनि सामूहिक बलात्कारपछि विभत्स हत्या भएको अवस्थामा शव भेटियो । बलात्कार तथा हत्यामा संलग्न दुई पक्राउ परे।

साउन १० गते साथीको घरमा पढ्न गएकी कञ्चनपुरकै भीमदत्त नगरपालिका–२ की निर्मला पन्त घर फर्किनन् । भोलिपल्ट उखुबारीमा उनको शव फेला पर्याे । बलात्कारपछि हत्या गरेको अवस्थामा । तर, अहिलेसम्म अपराधी पत्ता लागेको छैन । उक्त घटनाको विरोधमा ७ नम्बर प्रदेश मात्रै होइन, देशै आन्दोलित भएको छ । तर एकपछि अर्काे बलात्कार हुने क्रम भने रोकिएको छैन । अपराधीलाई कानुनी कारबाही नहुने ‘दण्डहीनता’ कै कारण बलात्कार बढिरहेको यहाँका सर्वसाधारण महिला तथा अधिकारर्मी बताउँछन् । ‘समाजमा छाडापन बढी भयो । बालिकादेखि वृद्धासम्म बलात्कार हुन थालेका छन्,’ महेन्द्रनगरकी विमला विष्ट भन्छिन, ‘सुन्दै दिक्क लाग्ने घटना हुन थालेका छन्।’

कञ्चनपुरकी भारती चौधरी कानुन कार्यान्वयन फितलो हुनु र दण्डहीनता नै बलात्कार बढ्नुको मुख्य कारण मान्छिन्। ‘बलियाले जे गर्दा पनि हुने, निर्धाहरूका लागि मात्र कानुन भएको अवस्था छ,’ उनले भनिन्, ‘अपराधीलाई कडा कारबाही हुन नसक्दा बलत्कारका घटना बढिरहेका छन् ।’ रक्षक नै भक्षक हुँदा पनि समस्या भएको उनी बताउँछिन् । ‘निर्मला पन्त हत्या प्रकरणका अपराधी पत्ता नलाग्नुले यो कुरा प्रष्ट पारेको छ,’ उनले भनिन्।

कानुन कार्यान्वयन फितलो हुनु र दण्डहीनता नै बलात्कार बढ्नुको मुख्य कारण हो । बलियाले जे गर्दा पनि हुने भएको छ । निर्मला पन्त हत्या प्रकरणले यो कुरा प्रष्ट पारेको छ।

बलात्कारका घटनामा पहिले मिलापत्र हुने गरेकामा अहिले बाहिर आउन थालेको धनगढीकी वसन्ती चौधरी बताउँछिन्। ‘अहिले बलात्कारका घटना बाहिर आइरहेका छन,’ उनले भनिन्, ‘तर, दोषीलाई कारबाही नहुँदा बलात्कार बढिरहेको छ ।’ विभिन्न बहानामा प्रमाण नष्ट गर्ने र प्रमाण नहुँदा दोषीले छुट्कारा पाउने गरेको उनले बताइन् । जसले गर्दा बलात्कारीको मनोबल बढेको चौधरीको भनाइ छ।

बलात्कार पीडितका पक्षमा वकालत गर्दै आएकी अधिकारकर्मी बिनु राना पनि कानुनअनुसार दोषीले सजाय नपाएकै कारण बलात्कार नरोकिएको बताउँछिन् । ‘पहुँच भएका व्यक्ति धरौटी राखेर छुट्ने गरेका छन्, गरिब व्यक्ति मात्र जेल जाने गरेका छन्,’ उनले भनिन् । पहुँचवाला अपराधीले उन्मुक्ति पाउने गरेका कारण अपराध बढेको महिलाअधिकारर्मी राना बताउँछिन् । अपराधी पक्राउ गर्नुपर्ने प्रहरी नै प्रमाण नष्ट गरेर बचाउनतिर लाग्ने विडम्बनाका कारण पनि बलात्कार बढेको उनको ठहर छ । ‘अनुसन्धानका नाममा कमजोर मिसिल बनाइन्छ र पक्राउ परेका अपराधी पनि निर्दोष ठहरिने गरेको छ,’ उनले भनिन् । राजनीतिक संरक्षणका कारण पनि अपराधीले उन्मुक्ति पाउने गरेको उनी बताउँछिन् । साथै महिला हिंसाविरुद्ध काम गर्ने संघसंस्थाका अधिकारर्मी पनि बलात्कारमा संलग्न व्यक्ति आफ्ना नाता पर्ने तथा चिनजानका मान्छे भएमा मौन बस्ने गरेको उनले बताइन्।

पहिलेको तुलनामा बलात्कार घटना बाहिर आउने क्रम बढेको मात्र नभई यस्तो अपराध नै बढेको धनगढी नागरिक समाजकी अगुवा चित्रा पनेरूको अनुभव छ । ‘बलात्कार तथा बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही नहुँदा प्रहरी तथा राज्यप्रति नै जनविश्वास घट्दै गएको उनी बताउँछिन् । उनले भनिन्, ‘तीन तहका सरकार हुँदा पनि अपराधीले सजाय नपाउनु, अपराधीलाई कारबाही गर भन्दा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद हो ।’ प्रहरीले सही अनुसन्धान गरेर दोषीलाई सजाय गरिएमा बलात्कार घट्ने उनी बताउँछिन् । उनले भनिन्, ‘हुन त यसमा हामी नागरिक सबैको दायित्व हो तर, मुख्य जवाफदेहिता राज्यको हो। ’

प्रदेशसभा सदस्य पूर्णा जोशी अपराधीले आर्थिक, राजनितिकलगायत पहुँचका आधारमा उन्मुक्ति पाउने गरेकाले नै बलात्कार बढ्दै गइरहेको बताउँछन् । ‘अपराधमा संलग्न कतिपय पक्राउ नै पर्दैनन्, पक्राउ परेकाहरू समेतले अदालतबाट छुट्कारा पाउछन्,’ उनी भन्छिन् । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेश ७ मा जेठयता मात्र ७० वटा बलात्कार घटना भएका छन्।

प्रकाशित: ११ आश्विन २०७५ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App