२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सम्बन्धविच्छेद माग्नेमा पुरुष बढी

गुल्मी - जिल्लाको कालीगण्डकी गाउँपालिका १ का युवराज कुँवरले २०७० मंसिर १९ गते परिवारको सहमतिमा लीला कुँवरसँग धुमधामका साथ मागी बिहा गरे। बिहा गरेको केही समयपछि कुँवर वैदेशिक रोजगारका लागि मलेसिया पुगे।

विदेशमा राम्रो कमाइ गरेर ठूलो घर बनाउने र परिवारका सदस्यलाई सुखसयलसँग राख्ने सपना बोकेर मलेसिया पुगेका कुँवरको केही समयसम्म श्रीमतीसँग फोनमा राम्रै कुराकानी हुन्थ्यो। उनले श्रीमतीलाई नियमित रकम पठाउँदै आएका थिए। तर, मलेसिया पुगेको एक वर्षमै कुँवरको जिन्दगीमा समस्या ओइरिन थाल्यो। श्रीमान् र श्रीमतीबीतच फोनमै खटपट भयो । फोनमा भएको सामान्य ठाकठुकका कारण कुँवरकी श्रीमती माइत बस्न थालिन् । कुँवर दुई वर्षपछि घर आएर आएर श्रीमती लिन ससुराल पुगे। तर, श्रीमती घर आइनन्, उनी रित्तै घर फर्के । श्रीमान–श्रीमती सँगै बस्ने उनले धेरै प्रयास गरे । उनको प्रयास सफल भएन। अन्तत उनीहरूसँग सम्बन्धविच्छेदबाहेक कुनै उपाय रहेन । कुँवरले भदौ १२ गते जिल्ला अदालतमा श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन्।

नयाँ मुलुकी संहिता लागू भएसँगै गुल्मीमा सम्बन्धविच्छेद माग्नेमा महिलाभन्दा पुरुष धेरै रहेका छन् । संहिता लागू भएको दुई सातामै गुल्मी जिल्ला अदालत गुल्मीमा सम्बन्धविच्छेदका १९ वटा मुद्दा दर्ता भएका छन् । सम्बन्धविच्छेदका १९ मुद्दामध्ये ११ मा पुरुषले सम्बन्धविच्छेद मागेका छन् ।

कँुवर त एक उदाहरण पात्रमात्रै हुन्। नयाँ मुलुकी संहिता लागू भएसँगै गुल्मीमा सम्बन्धविच्छेद माग्नेमा महिलाभन्दा पुरुष धेरै रहेका छन्। संहिता लागू भएको दुई सातामै गुल्मी जिल्ला अदालत गुल्मीमा सम्बन्धविच्छेदका १९ वटा मुद्दा दर्ता भएका छन्। सम्बन्धविच्छेदका १९ मुद्दामध्ये ११ मा पुरुषले सम्बन्धविच्छेद मागेका छन् भने ८ मा महिलाले मागेको अदालतकी नायबसुब्बा सीता घिमिरेले जानकारी दिइन् । नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने थाहा पाएपछि जिल्ला अदालत गुल्मीमा एकै दिन तीन पुरुषले मुद्दा दर्ता गरेका छन्। संहिता लागू भएपछि ७ भदौमा पहिलोपटक छत्रकोट गाउँपालिका ६ का लक्ष्मण ज्ञवाली, इस्मा गाउँपालिका ५ का शोभाखर पन्थ र रेनपा ४ का राजेन्द्रबहादुर खत्रीले पत्नीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे। १३ भदौमा धुर्कोट गाउँपालिका १ का बाबुराम थापा र रेसुङ्गा नगरपालिका १३ का हरिबहादुर खत्रीले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे । श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा भदौ १२ गते जिल्ला अदालत गुल्मीमा दर्ता गराएका कुँवरका अनुसार आफू रोजगारीका लागि मलेसिया जानुअघि नै श्रीमतीसँग छुट्टिन चाहेको बताए। उनले भने, ‘म विदेश गएपछि उनको अन्तै मायाप्रेम बसेछ तर पनि म आएका बेला घरमा फर्केकी भए सम्बन्ध राम्रै हुन्थ्यो।’

रेसुङ्गा नगरपालिका १३ का हरिबहादुर खत्रीले आफू श्रीमतीबाट ठूलो मारमा परेकाले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गर्नुपरेको बताए। ‘जन्म दिने बाबुआमालाई भन्दा श्रीमतीलाई धेरै माया दिएर राखेको थिए,’ उनले भने, ‘मेरो मायाभन्दा उसलाई अरूको अझै धेरै माया भयो के गर्ने।’ उनका अनुसार श्रीमतीकै कारण आफूले कमाइ गरेको धनसम्पत्तिको कुनै टुंगो नलागेको बताए। एक वर्षअगाडि नै सम्बन्धविच्छेद गर्न खोजेको भए पनि त्यतिबेला कानुन नभएकाले अप्ठ्यारो भएको उनको भनाइ छ। जिल्ला अदालतमा आएका सम्बन्धविच्छेदका मुद्दाको प्रकृति हेर्दा वैदेशिक रोजगारपछिको पारिवारिक विचलनका कारण श्रीमान् र श्रीमतीबीच सम्बन्ध तनावग्रस्त बन्ने गरेको देखिन्छ। महिलाले दर्ता गरेका मुद्दामा खानलाउन नदिएको, गालीगलौज र कुटपिट गरेको, पारिवारिक संरक्षण नभएको दगायत दाबी गरिएका छन्। सम्बन्धविच्छेदको टुंगोमा पुगेका अधिकांश पुरुषले श्रीमतीले घरव्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र आफूलाई अनावश्यक मानसिक तनाव दिएको लगायतका कारण देखाउँदै अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताए।

अहिलेकै अवस्था रहे संख्या अत्यधिक
अहिलेसम्म सम्बन्धविच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भए पनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानुनी व्यवस्था थिएन। भदौ १ बाट लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुला गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार बस्यालले बताए। जसकारण अहिले जिल्ला अदालत तम्घासमा सम्बन्धविच्छेदका लागि पुरुष पुग्न थालेका छन्। अहिलेकै अवस्था रहे आउने ६ महिनामा सम्बन्धविच्छेद गर्नेको संख्या अझै बढी हुन सक्ने कानुन व्यावसायीहरू बताउँछन्।

नयाँ संहितामा पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले खाना लगाउन नदिई घरनिकाला गरेमा, अंगभंग हुने कुनै मानसिक वा शारीरिक कष्ट हुने किसिमका कुनै काम वा प्रपञ्च गरेमा र पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पुरुषले सम्बन्धविच्छेद गर्न पाउने कानुनी व्यावस्था छ।

प्रकाशित: १६ भाद्र २०७५ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App