२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

जनता आवास कार्यक्रमकाे रकममा हिनामिना

निर्माण हुँदै गरेकोे जनता आवासको घर । तस्विर : कृष्ण/नागरिक

बाजुरा - जनता अवास कार्यक्रम अन्तर्गतकाे रकममा घोटाला भएको खुलासा भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीबाट तेस्रोे किस्ता रकम निकासा गर्दा रकम घोटाला भएको हो। 

बडीमालिका नगरपालिका भित्र रहेको एउटा समुहबाट मात्र एक लाख ३९ हजार ५ सय ९० रुपैया घोटाला भएको खुलासा भएको छ। घर निर्माणको रिपोर्ट बुझाएर सबै रकम भुक्तानी गरेपनि सम्बन्धित व्यक्तिलाई भने आधा रकम मात्र दिएको पाईएको छ ।

निर्माण पुरा भएका सातवटा घरको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट बाजुरामा खटिएका प्राविधिकहरु मोहन विक, शंकर खड्का र रतन धामीले समुहमा रहेका १० घरमध्ये सातवटा घरको तेस्रो किस्ता प्रति घरको ८१ हजार ७ साय ९५ रुपैयाँ प्राप्त गर्ने प्रतिवेदन तयार भएको थियो। 

सोही आधारमा डिभिजन कार्यालय डोटीले मार्तडी जनता अवास भवन निर्माण समितिको नाममा असार २५ गते पाँच लाख ७२ हजार ५ साय ६५ रुपैयाको चेक समितिका संयोजक संजय वि.क. लाई उलब्ध गराएको बुझिएको छ । 

राष्ट्रिय बाणिज्य बैंकको चेक नं १०००१२४३१५ को चेक भवन निर्माण समितिको एनएमबी बैंक डोटी शाखामा जम्मा गरिएको देखिएको छ । समितिका संयोजक संजय वि.क. र डिभिजन कार्यालय डोटीका कर्मचारी रामबहादुर विसीको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने गरी संचालित खाता नं ०१८००६००५४८६१००००००१ मा उक्त रकम जम्मा भएको छ । 

एनएमबी बैंकमा जम्मा भएको उक्त रकम मध्येबाट समितिका संयोजक संजय वि.क.को नाममा ४ लाख ३३ हजार ४ सय ७ रुपैया २७ पैसा भुक्तानी भएको र बाँकी रकम १ लाख ३९ हजार ५ सय ९० रुपैयाँ कर्मचारीको रोहवरमा गुपचुपमा राखिएको रहस्य खुलेको पत्रकार समेत रहेका दलित अधिकारकर्मी बसन्त विकले बताए।

घर निर्माणका लागि प्रति परिवार २ लाख ३३ हजार ७ सय अनुदान पाउने गरि सम्झौता भएको डिभिजन कार्यालय डोटीले बताएको छ। डिभिजन कार्यालयको आवास निर्माण मापदण्डका आधारमा भवन निर्माका लागि बडीमालिका नगरपालिका ९ का नन्दा विक, भुजी लवार, रंगी चदारा, बजिरे चदारा, चन्दा विक, टिउकी चदारा, मनोज विक, संजय विक, सोहि नगरपालिका ३ का गीठे ल्वारको घर परेको थियो ।

घर मापडण्ड अनुसार नभएको भन्दै रंगी चदारालाई १५ हजार २ सय ९६ र चन्द्रा विकलाई ९ हजार १ सय ३५ रुपैयाँ दिनेगरि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख टेक राज भट्टले लिखित पत्र समितिलाई पठाएका छन्। 

यता समिति संयोजक वि.क. डिभिजन प्रमुखको हस्ताक्षरित चिठ्ठीको आधारमा रकम विभाजन गर्न लागेको भन्दै उम्कीन खोजिरहेका छन् । डिभिजन कार्यालयका कर्मचारीको डिजाइन अनुसार रु १ लाख ३९ हजार ५ सय ९० रुपैयाँ झ्वाम पार्ने योजना भएको विभिन्न तथ्यहरुले देखाएकोे छ। 

प्रकाशित: २१ श्रावण २०७५ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App