मानव स्वास्थ्यलाई प्रतिकुल हुने गरी पूर्वका तीन जिल्लाका उद्योगबाट प्रशोधन गरी उत्पादित १५६ जार पिउने पानी सोमबार बरामद गरी नष्ट गरिएको छ ।
इटहरी वडा नं. २ को ‘गंगा जल’ पानी उद्योगबाट उत्पादित पानी धरान वडा नं. २० का युवराज तामाङले घरायसी प्रयोजनका लागि आइतबार किन्दा बाहिरबाटै किरा देखिएपछि उजुरीका आधारमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा सुनसरी, मोरङ र झापाका आठ वटा उद्योगबाट उत्पादित पानी परीक्षण गर्दा पाँच वटा उद्योगबाट उत्पादित पानीमध्ये जारको पानी बरामद गरी नष्ट गरिएको खाद्य निरीक्षण अधिकृत सुनसरीका उज्वल कोइरालाले बताए । उनका अनुसार जार बरामद गरिएका पानी नष्ट गरिएकामा सुनसरीका तीन, झापा र सुनसरीका एक–एक उद्योग छन् ।
खासगरि धरानमा भित्रिने पिउने पानीका उद्योगहरूको पानी जारमा अधिकांश पुरानो, कुच्चिएको, फोहोर र लेबुल बिनाका जार अनुगमन टोलीले फेला पारेको जानकारी दिइयो । कोइरालाले भने, ‘कामै नलाग्ने जार तत्काल नष्ट गरेर लेबल नभए पनि प्रयोग गर्न मिल्ने जारहरू लेबल लगाएर मात्र बिक्री गर्न निर्देशन दिएर फिर्ता दिइएको छ ।’
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय विराटनगर, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाले संयुक्त रुपमा गरेका अनुगमनबाट गाडीमा जारमा ल्याइएको पानीको अधिकांशको लेभल नै नभएको धरान उपमहानगरपालिका प्रशासन शाखाका अधिकृत हिमाल गौतमले बताए ।
धरानका उपमेयर आइन्द्र विक्रम बेघाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पूर्वका आठ वटै उद्योगबाट उत्पादित पानी विक्रीका लागि धरान लाने गरेकोमा ती सबैको मिनरल वाटरको बोतलमा सिलबन्द पानीको प्याकिङ पनि परीक्षण गर्न नमुना लिइएको छ । अब ल्याबमा परीक्षण गर्दा त्यसमा समेत समस्या देखिए थप कारबाही प्रक्रिया अगाडि बढाइने खाद्य अधिकृत कोइरालाले नागरिकलाई बताए । ‘गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गर्न पाइँदैन,’ उनले भने ।
यसैबिच, सरकारी अनुगमन टोलीले दूध समेत परीक्षण गरेको जनाएको छ । सात जना व्यापारीको दूध परीक्षण गर्दा अन्य मिसावट भने नभेटिएको खाद्य अधिकृत कोइरालाले जानकारी दिए ।
धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले उपभोक्ताको स्वास्थ्यको हितको लागि बजारलाई अनुशासित र मर्यादित बनाउन अनुगमन गरिएको बताए ।
प्रकाशित: १६ भाद्र २०८२ १८:०७ सोमबार



-600x400.jpg)

