८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीलार्इ 'हाइपोक्यालेमिया', चिकित्सकहरू चिन्तित

काठमाडाैं- चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाकाे मागसहित विगत १८ दिनदेखि अनशनमा रहँदै आएका डा. गाेविन्द केसीलार्इ हाइपोक्यालेमिया भएको छ। वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानका विच केही दिनयता रगतमा भएका परिवर्तनहरु थाह पाउन सकिएको थिएन।

वार्ता टोली गठन भएसँगै रगत जाँच गराउँदा हाइपोक्यालेमिया देखिएको हो। चिकित्सकीय भाषामा रगतमा पोटासियमको मात्रा कम हुनुलाइ हाइपोक्यालेमिया भनिन्छ।

मानव शरीरमा पोटासियम, मुटुको चाललाई ठिक ठाउँमा राख्न र अन्य मांसपेशीहरुलाई समेत स्वस्थ राख्न आवश्यक पर्दछ। यदि रगतमा यसको मात्रा घटबढ भएमा श्वासप्रश्वास, मुटु र मिर्गौलामा समेत गम्भीर असरहरु देखा पर्दछन्।

हाइपोक्यालेमिया भएको बिरामीले सर्वप्रथम मांसपेशीहरु कमजोर भएको महशुस गर्दछन्। खुट्टाबाट सुरु हुने यस किसिमको कमजोरी विस्तारै शरीरको माथिल्लो भागतर्फ सर्दछ। उठेर बस्दा शरीर गल्ने अनि हात खुट्टा लुलो भएको जस्तो हुने समस्या डा.केसीमा देखिदै आएको छ।

पोटासियमको कमी भएसँगै पेटका मांसपेशीहरुमा पनि असाधारण परिवर्तनहरु आउँछन् जसका कारण पेट दुख्ने, वाकवाकी लाग्ने समस्याहरु देखिन थाल्छन् जुन डा.केसीमा विगत केही दिनयता झन थपिदै गइरहेको छ।

यसका अलावा हाइपोक्यालेमियाको सबैभन्दा डरलाग्दो असर श्वासप्रश्वास, मिर्गौला र मुटुमा देखिन्छ। रगतमा पोटासियम कम भएसँगै, श्वासप्रश्वास गराउने मांसपेशीहरु पनि कमजोर हुँदै जान्छन् जसका कारण बिरामीलाइ सास फेर्न अप्ठ्यारो हुने र केही दिन भित्रमा श्वासप्रश्वास नै बन्द हुन सक्ने जोखिम रहन्छ। यहि जोखिमलार्इ मध्यनजर गर्दै अनशन स्थलमा अस्पतालले भेन्टिलेटर स्ट्यान्डबाइ राखेको  छ।

पोटासिमयमको कमीले डा.केसीको मिर्गौलामा पनि असर पुर्याउन सक्छ। यदि त्यो अवस्था आएमा स्थिती थप जटिल हुने चिकित्सकहरु बताउँछन्।

उपचारमा संलग्न डा.धिरज गुरुङ डा.केसीलार्इ हाइपोक्यालेमिया भएसँगै मुटुको चाल बिग्रने हो कि भन्ने डरले चिन्तित छन्। आज दिउँसो जारी एक विज्ञप्तिमा उपचाररत चिकित्सकहरुले भनेका छन्, "डा.केसीलाई विगतमा पनि 'एरिदमिया' (मुटुको चालमा गढबढी) देखिएको र यसैपटक पनि धेरैपटक एक्टोपिक बिट्स आइसकेको परिप्रेक्ष्यमा आजको रिपोर्ट अनुसार जुनसुकै अवस्थामा पनि मुटुको चालमा गढबढी आइ धड्कन नै बन्द हुनसक्ने देखिएको छ।"

मुटुको चालमा आउनसक्ने गडबढीलार्इ ध्यानमा राख्दै अनशन स्थलमा डिफिब्रीलेटर तयारी अवस्थामा राखिएको छ। तर यसरी मुटुमा गम्भीर समस्या देखिएमा डा.केसीलार्इ सिसियुमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ।

प्रकाशित: १ श्रावण २०७५ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App