धादिङ – उत्तरी धादिङको विभिन्न ठाउँहरुरूमा पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। खनियाबास गाउँपालिका वडा नं ५ सईश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको हो।
बुधबार राती परेको अबिरल वर्षापछि पहिरो जाँदा खनियाबास गाउँपालिका ५ साईश्वाँरा बस्ने राजकुमार गुरुङका श्रीमती ३३ वर्षीय बसुदा गुरुङ, उनका छोरीहरू १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङको मृत्यु भएको हो।
त्यस्तै खनियाबास –४ चिउरीबोटका ६५ वर्षीय शमशेर घले र उनका श्रीमती ६२ वर्षीय कोप्ची घलेको पनि मृत्यु भएको धादिङका प्रहरी उपरिक्षक डम्बर विकले जानकारी दिए। गोठमा सुतिरहेका बेला पहिरो गएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै नेत्रावती डबजोङ गाउँपालिका १, धोकरपुरमा पनि पहिरोले घर पुरेको छ। यस भेगमा भने मानविय क्षति भएको छैन।
पहिरोमा पुरिएर घाइते हुने राजकुमारका छोरा १२ वर्षीय विकास गुरुङ र खनियाबास ४ बस्ने रविन गौतमको किन्ताङफेदीमा रहेको स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ। अन्य ४ जना भने सामान्य उपचार पछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ। घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ।
अविरल वर्षापछि जिल्लाको खनियाबास र नेत्रावती डबजोङ गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोले १२ घर पुरिएको छ भने १७ चौपाया, ५९ पन्छी मरेको छ। घटनाभए लगत्तै धादिङबेसीमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकिय अधिकृत राममणि मिश्रको नेतृत्वमा राहत सामग्रीको टोली घटनास्थलमा पुगेको छ। पहिरोमा ज्यान गुमाउनेलाई १ लाख, घर क्षति हुने परिवारलाई १० हजार, खाद्यन्न सामग्री, बासका लागि त्रिपाल प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए।
प्रकाशित: १४ असार २०७५ ०४:०५ बिहीबार