१० मंसिर २०७७ बुधबार
समाज

भरिया काम छाडेर अलैँची व्यवसायमा

छेस्कामका कुमार कुलुङको अलैँची खेती। तस्बिरः राधा/नागरिक

सोलुखुम्बु – पर्यटकीय सिजनमा सोलुखुम्बुको लुक्ला गएर पर्यटकको भारी बोकेर कमाएको पैसाले आफ्नो बालबच्चा पढाउने र नुन तेलको जोहो गर्दै जेनतेन परिवारको गुजारा चलाउने कुमार कुलुङको दिनचर्या नै अचेल फेरिएको छ।

सोलुखुम्बुको विकट क्षेत्रका रुपमा मानिने महाकुलुङ गाउँपालिकाको छेस्कामका कुलुङले अलैँची खेती गर्न थालेपछि उनी भरियाबाट व्यवसायी बनेका छन्।

गाउँमा गरिबी निवारण कोषको आर्थिक सहयोग र पहाडी विकास तथा संरक्षण समूह नेपाल बुङको साझेदारीमा सञ्चालित स्थानीय स्रोतमा आधारित गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत महाकुलुङ गाउँपालिका वाड नं. ३ छेस्काममा गठन भएको किरवाकुस्को सामुदायिक संस्थाको सदस्य भएर थालेको व्यवसायिक अलैँची खेतीबाट उनले राम्रो आम्दानी गर्न थालेको बताए।

उनले सुरुमा संस्थाबाट २०७१ सालमा घुम्ति कोषको १० हजार रुपियाँ ऋण रकम र आफ्नो एक हजार रुपियाँ गरी जम्मा ११ हजार रुपियाँको लगानीमा ६ सय बिरुवा अर्थात दुई सय झाङ अलैँची खेर गइरहेको पाखा बारीमा रोपेका हुन्। अलैँचीको बिरुवा खरिद गर्न मात्र कार्यक्रमको रकम प्रयोग गरी रोप्ने, सिंचाई गर्ने तथा बारबेर गर्न आफैले श्रम गरिरहेका छन्।

उनी सामुदायिक संस्थाको सदस्यमध्ये आर्थिक अवस्था कमजोर हुनेमा ‘क’ वर्गमा परेकाले कार्यक्रमको नियमअनुसार घुम्तिकोषको रकम पहिलो चरणमा उपलब्ध गराएको गरिबी निवारण कोष सोलुखुम्बुका संयोजक शोभित कुलुङले जानकारी दिए। थोरै रकमले धेरै सदुपयोग गरेर उनले राम्रो आम्दानी गरिरहेको संयोजक कुलुङको भनाइ छ।

छोटो समयमा आम्दानीको लक्षण देखिएपछि त्यसलाई निरन्तरता दिएको बताउने कृषक कुलुङले अलैँची खेती हाल आम्दानीको राम्रो स्रोत बनेको बताए। उत्पादनपछि सुरुको वर्षमा जम्मा ९० हजार रुपैयाँको अलैची बेच्न सफल कुलुङ हाल एक हजार झाङ अलैँची विस्तार गरेर वार्षीक रुपमा ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। कुलुङले वार्षीक बचत १ लाख २० हजारसम्म हुने गरेको बताएका छन्। अलैँचीको माउ बोट खरिद गरेकाले रोपेको एक वर्षमै फल्न शुरु गरेको थियो।

यसअघि पर्यटक भरिया बाहेक समयानुसार हुने कोदो, मकै, गहुँ ,फापर, आलु आदि उत्पादनबाट परिवारको समस्या जेनतेन टार्ने गरेको सम्झदैँ उनले भने, ‘विगतमा आय आर्जन भारी बोकेर मात्र गर्न सकिन्छ भन्ने सोच थियो, तर हैन रहेछ।’ उनले सामुदायिक संस्थाको साँवा व्याज तिरेर अन्य घरायसी आवश्यकता पूरा गर्दै बचत गर्न थाले।

गरिबी न्यूनिकरण कार्यक्रमबाट सस्तो ब्याजदरमा ऋण उपलव्ध गराएर ठूलो सहयोग भएको भन्दै उनले भने, ‘यदि गाउँमै जाँगर गरियो भने धरै पैसा तिरेर विदेश जान पर्दैन, यो अलैँची खेती कमाउने दरिलो आधारको रुपमा स्थापित भएकोले यसलाई नै मेरोे बुढेसकालको साहाराको रुपमा लिएको छु।’ पहिलो चरणको ऋण तिरी सकेपछि पुनः अलि बढी ऋण लिएर १० रोपनी जमिनमा खेती विस्तार गरी नमूना कृषक बन्ने उनको योजना रहेको छ।     

प्रकाशित: ३ जेष्ठ २०७५ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App