जुम्लाको गुठिचौर गाउँपालिका-५ धौलीगाडको ठूलो हाँका पाटनमा चट्याङ पर्दा १ सय ९७ भेडा मरेको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रविनबाबु रेग्मीका अनुसार ६ जना किसानका भेडा मरेका छन्। कति किसानका कति-कति मरे भन्ने तथ्याङ्क प्राप्त भएको छैन।
उनले भने, ‘सोमबार दिउँसो साढे ४ बजे पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ पर्दा १ सय ९७ भेडा मरेका छन्।’ जिल्ला प्रहरी कार्यालय जुम्लाले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना गरेको थियो।
चट्याङले घाइते भएका सिञ्जा-६ भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। घाइतेलाई १२ बजे अस्पताल पुर्याइएको घाइतेका भाइ बिरमान रावतले बताए।
घाइते रावतलाई बाटोसम्म स्ट्रेचरको सहायताले ल्याइएको थियो, अस्पतालसम्म गाडीमा ल्याइएको हो। डीएसपी रविनबाबु रेग्मीले घटनास्थल पुगेर टोली फर्किएको बताए।
प्रकाशित: २४ असार २०८२ १४:१० मंगलबार




-600x400.jpg)
