धनुषामा आज (सोमबार) रेलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जयनगर-जनकपुर-कुर्था रेलमार्गको देउरी परवाहा स्टेशननजिक भएको दुर्घटनामा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, साह कानमा ‘इयरफोन’ लगाएर रेलको लिकमा हिँडिरहेका थिए।
जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको रेलका चालकले पटक-पटक हर्न बजाउँदा पनि नसुनेको रेल्वे कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
‘रेलका कर्मचारीहरूका अनुसार, कैयौँ पटक हर्न दिँदा समेत उनले नसुनेपछि रेलले ठक्कर दिएको हो,’ प्रहरी प्रवक्ता सिंहले भने। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीले घटनास्थलमा पुगेर शवको मुचुल्का उठाएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: २३ असार २०८२ १८:३३ सोमबार





-600x400.jpg)