१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ। यहाँका १३ वटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा गरेपछि जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

बागमती प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चित जिल्लाका रूपमा आइतबार सदरमुकाम धुलिखेलमा घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले काभ्रेलाई पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरी जिल्लास्थित जनस्वास्थ्य कार्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरे।

चालु आर्थिक वर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्मका चार हजार दुई सय ४१ बालबालिका र १५ महिनासम्मका चार हजार दुई सय ५० बालबालिकाले खोप पाएको सुनिश्चित गरेपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनाइएको छ। 

यसअघि विभिन्न मितिमा जिल्लाका १३ तहलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो। जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतिका अनुसार नमोबुद्ध नगरका चार सय १७, भुम्लुका एक सय ४२, मण्डनदेउपुर नगरका दुई सय ३६, महाभारतका चार सय ६५, पाँचखालका चार सय ४३, पनौतीका छ सय १० र तेमाल गाउँपालिकाका एक सय १३ बालबालिकाले पूर्णखोप पाएका छन्।

यसैगरी धुलिखेल नगरका चार सय २८, बनेपाका सात सय ५८, खानीखोलाका दुई सय २५, रोशीका एक सय ९१, बेथानचोकका एक सय ४६ र चौँरीदेउरालीका ६७ बालबालिकाले पूर्णखोप पाएको कार्यालयले जनायो। कार्यालयका अनुसार खोप सुनिश्चितता गर्न स्थानीय स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले घरदैलो गरेका थिए।

कार्यक्रममा स्थानीय तहका खोप कार्यकर्ता र जनस्वास्थ्यकर्मीलाई सम्मान गरियो। सो अवसरमा पूर्णखोप सुनिश्चितता र यसको दिगोपनाका लागि प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर गरिएको थियो। रासस

प्रकाशित: २३ असार २०८२ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App