चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित ल्हासामा रहेको नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले हिल्सा नाकाको निरीक्षण गरेका छन्।
२०८२ असार २२ गते महावाणिज्यदूत निरौलाले नेपालतर्फ हुम्ला जिल्ला र चीनतर्फ सिचाङ स्वायत्त क्षेत्रको पुलाङ जिल्ला जोड्ने हिल्सा सीमा नाकाको स्थलगत निरीक्षण गरी सम्बद्ध अधिकारीहरूसँग छलफल समेत गरेका हुन्। चिनियाँ अध्यागमन, भन्सार, प्रहरी र पोर्ट व्यवस्थापन अधिकारी एवं नेपालका सुरक्षा निकाय र भन्सारका अधिकारीहरूसँगको छलफलमा अधिकारीहरूले सो नाकाको प्रभावकारी संचालनका लागि चीन सरकारले भर्खरै निर्माण सम्पन्न गरेको मितेरी पुलको नेपालतर्फको पहुँच मार्ग तत्काल निर्माण गर्नु पर्ने बताए।
सो अवसरमा महावाणिज्यदूतसमक्ष नेपाली अधिकारीहरूले सीमा सहजीकरण र स्थानीय नेपाली अधिकारीहरूलाई पहिलेझैं कैलाश मानसरोवरसम्म सहज यात्राका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए। दुवै पक्षसँगको छलफलमा महावाणिज्यदूत निरौलाले सीमाको प्रभावकारी व्यवस्थापनका लागि आफ्नातर्फबाट अधिकतम पहल गर्ने आश्वासन दिए।
महावाणिज्यदूत निरौलाले चीन सरकारले पुलाङ शहरमा निर्माण गरेर नेपाली समुदायलाई व्यवसायका लागि सहुलियत दरमा उपलब्ध गराएको व्यापारिक केन्द्रको समेत अवलोकन गरी नेपाली व्यवसायीहरूसँग अन्तर्क्रिया समेत गरेका छन्। उक्त बजारमा हुम्ला र सीमामा रहेका अन्य जिल्लाका गरी २ सयको हाराहारी नेपाली व्यवसायी व्यवसाय गरिरहेका छन्।
छलफलमा नेपाली व्यवसायीहरूले चीन सरकारले नयाँ पूर्वाधार निर्माण भएपछि आफूहरूलाई सहज भएको र व्यापार पनि बढेको उनीहरूले सुनाए।
प्रकाशित: २३ असार २०८२ ०९:०६ सोमबार





