३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

भक्तपुर आयुर्वेद केन्द्र: अरूलाई निःशुल्क उपचार, भवन अभावमा आफैं ‘बिरामी’

भक्तपुरका बासिन्दालाई निःशुल्क आयुर्वेदिक सेवा दिएर लोकप्रिय बनेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुर आफैँ भने भवन अभावका कारण ‘बिरामी’ बनेको छ।

भाडाको साँघुरो भवनबाट सेवा प्रवाह गर्नुपर्दा केन्द्रले अनेकौं समस्या भोगिरहेको गुनासो गरेको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रको दुर्दशाबारे जानकारी दिइएको हो। जानकारी दिनका लागि आयोजित सम्मेलन समेत बैठक कक्षसमेत नहुँदा एउटा साँघुरो ठाउँमा गराइएको थियो। 

यति धेरै समस्याका बाबजुद केन्द्रले बिरामीलाई निःशुल्क टिकटदेखि २६ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ।

कार्यालय प्रमुख डा. नदन कँडेलले साइड इफेक्ट नहुने भएकाले आयुर्वेदिक उपचारप्रति मानिसको विश्वास बढेको र बिरामीको संख्या वार्षिक रूपमा बढिरहेको जानकारी दिए।

उनका अनुसार, हालसम्म व्यवस्थापन समिति गठन नभएकाले टिकट समेत निःशुल्क गरिएको हो।

‘यहाँ टिकटदेखि सबै उपचार निःशुल्क छ,’ डा. कँडेलले भने, ‘पछि व्यवस्थापन समिति गठन भएर निर्णय भएमा सामान्य शुल्क लाग्न सक्छ।’

केन्द्रले बिरामीको सहजताका लागि नाफारहित औषधि पसल पनि सञ्चालन गरेको छ।

पत्रकार सम्मेलनमा नेपालको मौलिक उपचार पद्धति आयुर्वेद राज्यको बेवास्ताका कारण ओझेलमा परेकोमा दुःख व्यक्त गरियो।

‘नेपाललाई आयुर्वेद उपचारको गन्तव्य बनाउन सकिने सम्भावना भए पनि नीतिगत कमजोरीले यो पछि परेको छ,’ वक्ताहरूले भने।

सस्तो र प्रभावकारी भएर पनि यो उपचार पद्धतिले प्राथमिकता नपाएकोमा चिन्ता व्यक्त गरिएको थियो।

प्रकाशित: १९ असार २०८२ २०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App