धुलोले भरिएको इँटाभट्टा। टहरामा बास। टाउकोमा बोझ। मनमा डाक्टर बन्ने सपना। यो कुनै सिनेमाको कथा हैन। भक्तपुरकी गोमा श्रेष्ठको जीवन हो। जसले कठिन बाटाहरू छिचोल्दै एसइई परीक्षामा ४ जीपीए ल्याएर सबैको मन जितिन्।
एसइईको नजिता सकिएको एक साता नाघिसक्यो तर यसमा सफल उनको चर्चा भने अझै चलिरहेको छ। उनको खबर विगतमा ‘बोर्डफष्ट’ ल्याउने विद्यार्थीको भन्दा बढ्ता रह्यो। पढ्नलाई सम्पन्नताभन्दा पनि लगन चाहिन्छ भन्ने उदाहरण बनेकी गोमा अहिले सबैका लागि प्रेरणाकी श्रोत बनेकी छिन्। यिनै प्रेरणाकी श्रोत गोमालाई भविष्यमा चिकित्सकको बाटो बन्ने खुलेको छ।
गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले एमबिबिएस तहसम्मको अध्ययन गराउने भएका छन्। समाजसेवी समेत रहेका गुरुङ दम्पती गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि यस्तो वाचा गरेका हुन्।
बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरुङ र श्रीमती सावित्री गुरुङले एक लाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मान पत्रसहित सम्मान गरेका छन्। गुरुङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन्।
‘डाक्टर बन्ने सपना मेरो मनभित्र लुकेर बसेको थियो,’ सम्मानित भएपछि गोमाले नागरिकसँग भनिन्, 'आज त्यसले सही बाटो भेटाएको छ।’ आफूलाई माया र सम्मान गर्ने सबैलाई धन्यवाद दिँदै गोमाले आफू सधैँ सङ्घर्षको बाटोमा अगाडि बढ्ने सुनाइन्। ‘मैले जानेको भने हिम्मत नहारी अगाडि बढ्यो भने बाधाहरू हट्छन् भन्न हो, मेरो त्यही हिम्मतको बाटोमा अहिले धेरै सहयोगी हात भेटिएका छन्।’
यो पनि पढ्नुहोस्
गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रवार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन्।चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबर पाएपछि आफ्नो नतिजा खोज्न थालिन्। नतिजा आउँदा उनी सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण भइन्।
सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन् भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन्। उनको परिश्रम र सफलताको यो खबरले धेरैको मन छोएको छ । सामाजिक सञ्जालमा भाइरल बनेकी उनलाई विभिन्न सङ्घ संस्थाले यस अघि नै सम्मान गरिसकेका छन्।
गोमाको थातथलो रामेछापको खनियाँपानी हो। उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियाँपानीबाट भक्तपुर आएकी हुन्। परिवारको कमजोर आर्थिक अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाका बुबा मीनबहादुर श्रेष्ठले बताए। ‘छोरीलाई सबैतिरबाट मिलेको सम्मानले निकै खुसी भएको छु,’ उनले भने, ‘हाम्रो सङ्घर्षले सही बाटो पाएको छ।’
उनको सङ्घर्ष र सफलताको कथाले फेरी सामाजिक सञ्जाल भरिएको छ । ‘गोमाको कथा केवल एउटा नतिजाको होइन, कठोर परिश्रम, दृढ सङ्कल्प र आशाको जीत हो,’ सामाजिक सञ्जालमा प्रभात थापा लेख्छन्, ‘यो कथा समाजका हजारौँ गोमाहरूको प्रतिनिधि कथा हो– जसले अवसरको खडेरीमा पनि सपनाको फूल फुलाउँछन्।’
प्रकाशित: १९ असार २०८२ १३:३० बिहीबार





