१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

औषधि घटाउने च्याटजीपीटीको सल्लाहपछि ३१ वर्षीया महिलाको मृ`त्यु, ओपनएआईविरुद्ध मुद्दा

अमेरिकाको सियाटलमा छारे रोग (मिर्गी) भएकी ३१ वर्षीया महिला बोवेन वानको मृत्युपछि उनका परिवारले च्याटजीपीटी निर्माता कम्पनी ओपनएआई र प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानविरुद्ध मुद्दा दायर गरेको छ।

परिवारको आरोपअनुसार च्याटजीपीटीले चिकित्सकको सल्लाहबिना छारे रोगको औषधिको मात्रा घटाउन र अन्ततः बन्द गर्न सुझाव दिएको थियो। च्याटजीपीटीको सल्लाहअनुसार औषधि घटाउँदै लगेकी वानको मृत्यु भएको परिवारको दाबी छ।

उनी आफ्ना बुबा कुन वानसँग फोनमा कुरा गरिरहेका बेला एक दिन अचानक बोल्न बन्द गरेकी थिइन्। उनलाई फेरि छारे रोगको समस्या देखिएको हुन सक्ने बुबाले अनुमान गरेका थिए। यसअघि पनि उनलाई यस्तो समस्या हुने गरेको थियो। केही समयपछि होसमा आएकी उनले आराम गरेपछि थप कुरा गर्ने बताएकी थिइन्।

केही दिनसम्म छोरीको फोन नउठेपछि चीनमा रहेका उनका आमाबुबाले साथीमार्फत उनको अवस्था बुझ्ने प्रयास गरे। साथीले सियाटलस्थित अपार्टमेन्टमा वानलाई मृत अवस्थामा फेला पारे। सन् २०२६ को फेब्रुअरीमा उनको मृत्यु भएको थियो। मृत्युको आधिकारिक कारण छारे रोगमा अचानक हुने अप्रत्याशित मृत्यु (एसयूडीईपी) रहेको बताइएको छ।

उनले एक दशकभन्दा बढी समयदेखि औषधिको सहायताले छारे रोग नियन्त्रण गर्दै आएकी थिइन्। तर, औषधिका कारण सोच्ने क्षमता र बोल्ने शैलीमा असर परेको महसुस भएपछि उनी चिन्तित थिइन्। अमेजनमा सफ्टवेयर इन्जिनियरका रूपमा काम गरेकी उनले स्वास्थ्य समस्याका कारण बिदा लिएकी थिइन्। पछि उनले जागिरसमेत गुमाएकी थिइन् र नयाँ काम खोज्ने तयारीमा थिइन्।

सन् २०२३ देखि उनले व्यक्तिगत सम्बन्ध, बिमा र अपांगता सुविधासम्बन्धी जानकारी लिन च्याटजीपीटी प्रयोग गर्न थालेकी थिइन्। परिवारका अनुसार सन् २०२५ सम्म आइपुग्दा उनले च्याटजीपीटीसँग हप्तामा औसत एक हजार ५०० सन्देश आदानप्रदान गर्न थालेकी थिइन्। यस क्रममा उनले परिवारसँग कुराकानी पनि कम गर्दै गएकी थिइन्।

नयाँ जागिरका लागि अन्तर्वार्ता दिनुपर्ने भएपछि वानले आफूले खाइरहेको औषधिले सोच्ने र अंग्रेजी बोल्ने क्षमतामा असर गरेको भन्दै च्याटजीपीटीसँग सल्लाह मागेकी थिइन्। औषधिको मात्रा घटाउँदा आफ्नो भाषा क्षमता सुधार हुन सक्ने उनको सोच थियो।

परिवारले दायर गरेको मुद्दामा उल्लेख भएअनुसार च्याटजीपीटीले सुरुमा चिकित्सकसँग परामर्श गर्न सुझाव दिएको थियो। तर, पछि औषधिको मात्रा घटाउने योजनासमेत बनाइदिएको र चिकित्सकलाई जानकारी नदिई औषधि घटाउन प्रोत्साहित गरेको आरोप छ।

वानले दैनिक ४०० मिलिग्राम खाँदै आएको छारे रोगको औषधि ल्यामोट्रिजिनको मात्रा करिब २५ दिनमा शून्यमा पुर्‍याउने योजना च्याटजीपीटीले बनाएको परिवारको दाबी छ। औषधिको मात्रा घटाउँदै जाँदा उनले भ्रम हुने, निद्रासम्बन्धी समस्या देखिने र आफूले गरेका काम सम्झन नसक्ने जस्ता समस्या अनुभव गरेकी थिइन्। तर, च्याटजीपीटीले ती लक्षणलाई गम्भीर रूपमा नलिएको र चिन्ता गर्नुपर्ने अवस्था नभएको बताएको मुद्दामा उल्लेख छ।

वानका छारे रोग विशेषज्ञ डा. निकोलस पुलोसले उनको अवस्थाका बिरामीलाई औषधि घटाउन सुझाव दिनु उचित नहुने बताएका छन्। औषधिले काम गरिरहेको अवस्थामा त्यसलाई बन्द गर्न निर्देशन दिनु चिकित्सकीय लापरबाही हुने उनको भनाइ छ।

उनको परिवारले च्याटजीपीटीले चिकित्सकको सल्लाहलाई बेवास्ता गर्न प्रेरित गरेको र औषधि सेवनबारे गलत सुझाव दिएको आरोप लगाएको छ। परिवारका वकिलहरूले ओपनएआईले अनुमति नलिई चिकित्सा सेवा प्रदान गरेसरह काम गरेको दाबी गरेका छन्।

मुद्दाबारे प्रतिक्रिया दिँदै ओपनएआईका प्रवक्ता ड्र्यू पुसाटेरीले घटनालाई ‘अत्यन्तै दुःखद’ बताएका छन्। कम्पनीले चिकित्सक तथा अन्य विज्ञसँग सहकार्य गरेर संवेदनशील स्वास्थ्य अवस्थासम्बन्धी प्रश्नमा च्याटजीपीटीको प्रतिक्रिया सुधार गर्दै आएको जनाएको छ।

साथै, च्याटजीपीटी चिकित्सा उपचारको विकल्प नभएको पनि स्पष्ट पारेको छ। वानले प्रयोग गरेको च्याटजीपीटीको पुरानो संस्करण अब उपलब्ध नरहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App