जेनजी अभियन्ता अजय सोडारीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन्। अर्थमन्त्री वाग्लेले अक्टोबर २३ मा भारतको नयाँदिल्लीमा आयोजित NDTV World Summit 2026 मा ‘भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै सोडारीले आपत्ति जनाएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा उनले अर्थमन्त्रीको अभिव्यक्ति नेपालको राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्ताविपरीत रहेको आरोप लगाएका छन्।
सोडारीले नेपाल–भारतबीच विगतमा भएका असमान सन्धि–सम्झौताको पुनरावलोकन, अतिक्रमित भूमि फिर्ता, पारवहन सहजता, व्यापार घाटा, नदी तथा जलस्रोतमा हस्तक्षेप र सीमावर्ती डुबानलगायतका विषयमा नेपालको आवाज उठाउनु भारतविरोध नभई राष्ट्रिय हितको विषय भएको बताएका छन्।
उनले नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग मात्र जोडेर व्याख्या गर्नु गलत भएको उल्लेख गर्दै दुई देशबीच सम्मान, पारस्परिकता र आत्मीय सम्बन्ध आवश्यक रहेको बताएका छन्।
‘राष्ट्रिय हित र सार्वभौमसत्ता नै धरापमा पारेर आत्मसमर्पण गर्न सकिँदैन,’ सोडारीले पत्रमा उल्लेख गरेका छन्।
बहालवाला सरकारी पदाधिकारीबाट पटक–पटक देशको हितविपरीत अभिव्यक्ति आउनु गम्भीर विषय भएको उनको आरोप छ। राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षा गर्न अर्थमन्त्री वाग्लेलाई तत्काल बर्खास्त गर्न उनले सरकारसँग माग गरेका छन्।

प्रकाशित: १३ कार्तिक २०८३ १३:३५ शुक्रबार





