सडक पेटी र बाटो क्षेत्रमा अतिक्रमण गरी व्यवसाय सञ्चालन गरेकालाई खाली गर्न कपिलवस्तु नगरपालिकाले चेतावनी दिएको छ।
पटक पटक सूचना जारी गरी सडक पेटी र बाटो खाली गर्न नगरपालिकाले सूचना जारी गरे पनि अटेर गरेपछि यस्तो चेतावनी दिइएको हो।
कपिलवस्तु नगरपालिका, नगर प्रहरी, वडा प्रहरी सहितको टोलीले स्थलगत रूपमै सडक पेटी र सडक अतिक्रमण गरी व्यवसाय गरिरहेकाहरूलाई खाली गर्न अन्तिम चेतावनी दिएको हो।
सडक पेटी र सडक अतिक्रमणका कारण आवतजावतमा समस्या भएको र सडक दुर्घटना बढेको तथा नगर क्षेत्र अव्यवस्थित देखिएकाले नगरपालिकाले यस्तो चेतावनी दिएको नगरपालिका प्रशासन शाखाका प्रमुख कृष्ण पाण्डेयले बताए।
विभिन्न सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा तरकारी र फलफूल तथा सरसामान राखिदा बजार व्यवस्थापन, यातायात सञ्चालन तथा उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न भएको उनले बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तवले नगरपालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियान अन्तर्गत सार्वजनिक स्थानको अतिक्रमण नियन्त्रण, बजार व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरेको बताए।
व्यवसायीलाई व्यवस्थित रुपमा कारोबार सञ्चालन गरी नगरपालिकालाई व्यवस्थित सहर बनाउन सहयोग गर्न उनले अपिल समेत गरेको छन्।
संयुक्त टोलीले तौलिहवाको बहादुरगंज चोक, गौढी चोक, प्रशासन चोक लगायतमा पुगेर व्यवसायीलाई यथाशीघ्र सडक क्षेत्रबाट पसल हटाउन निर्देशन दिएको थियो।
प्रकाशित: १३ कार्तिक २०८३ १२:५५ शुक्रबार





-600x400.jpg)