बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ नितनपुरस्थित एक उद्योगमा कार्यरत मजदुरबीच भएको सामान्य विवादले हिंसात्मक रूप लिँदा एक मजदुरको मृत्यु भएको छ।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेको बजरंगवली आयल इन्डस्ट्री (चक्की फ्रेश आटा) मा शनिबार भएको कुटपिटको घटनामा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका गोपी बैठाको मृत्यु भएको हो।
घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले उद्योगमै कार्यरत भारत, राजस्थानका तेजपाल सिँह राजपुतलाई नियन्त्रणमा लिएको छ।
मृतकका दाइ कृष्णकुमार बैठाले आफ्नो भाइलाई भारतीय मजदुर तेजपाल सिँह राजपुतको समूहले योजनाबद्ध रूपमा कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन्।
‘भाइले उद्योगमा आफूमाथि कुटपिट भएको भनेर फोन गरेको थियो,’ कृष्णकुमारले भने, ‘हामीले उसलाई उद्योगबाट निकालेर वीरगन्जको ब्योधा अस्पतालमा भर्ना गर्यौं।’
ब्योधामा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र लैजाने क्रममा भाइको बाटोमै मृत्यु भएको उनले बताए।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय सिमराको टोली उद्योगमा पुगेर तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो।
सोधपुछपछि दुई जनालाई छाडिएको र मुख्य अभियुक्त तेजपाल सिँह राजपुतलाई हिरासतमा राखिएको सिमरा प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद प्रकाश जोशीले जानकारी दिए।
यद्यपि, प्रहरीले घटनालाई फरक कोणबाट पनि अनुसन्धान गरिरहेको छ। डीएसपी जोशीका अनुसार, दुई पक्षबीच कुटपिट भएको सत्य भए पनि मृतक बैठाले विष सेवन गरेको हुन सक्ने प्रारम्भिक आशंका छ।
‘उनीहरूबीच कुटाकुट हुँदा बैठाले विष सेवन गरेको पनि सुन्नमा आएको छ,’ डीएसपी जोशीले भने, ‘मृत्युको वास्तविक कारण कुटपिट हो वा विष सेवन, त्यो पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुन्छ।’
प्रहरी उद्योगमा पुग्दा बैठा निकै आवेशमा रहेको र उनको दाहिने कुहिनोमा चोट देखिएको प्रहरीले जनाएको छ। घटनाबारे गहिरो अनुसन्धान भइरहेको र दोषी जो कोही भए पनि कानुनअनुसार कारबाही गरिने डीएसपी जोशीले प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: १६ असार २०८२ १९:४१ सोमबार





