संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक नियोग, यूनेस्कोका नेपाल प्रतिनिधि याको डु ट्वाइले पत्रकारहरूको नैतिक दायित्व भनेकै आचार संहिताको पालना गर्दै आम पाठकमा समाचार सामाग्री प्रतिको विश्वास कायम गर्नु रहेको बताएका छन्।
सेन्ट् जेभियर्स कलेजअन्तर्गत आमसञ्चार तथा पत्रकारिता सङ्कायद्वारा आयोजित मिडिया संवादको ३९औ शृङ्खलामा बोल्दै ट्वाइले गलत तथा भ्रामक समाचारलाई दुरुत्साहित गर्न पत्रकारले नैतिक पत्रकारितालाई आत्मसात् गर्न सुझाएका छन्।
युनेस्कोद्वारा जारी अध्ययनपत्र ‘द चिलिडः ग्लोबल ट्रेन्ड्स इन अनलाइन भायोलेन्स अगेंस्ट विमेन जर्नालिस्ट्स’ लाई उद्धृत गर्दै उनले महिला पत्रकारका निम्ति अनलाइन वातावरण अझै पनि सुरक्षित नरहेको बताए।
निडर पत्रकारको पहिचान बनाएकी विनु सुवेदीले महिला पत्रकारहरूले पाइला पाइलामा दुर्व्यवहारकाे जोखिम मोल्नुपर्ने बाध्यता रहेको बताएकी छन्। ‘यही कारणले मलाई अझ ठूलो स्वरमा बोल्न बाध्य बनाएको छ, तर ती सबै संघर्ष अन्त्यमा सार्थक हुने गरेको छ’ सुवेदीले भनिन्।
‘सामाजिक सञ्जालले जनमतमा गहिरो प्रभाव पारिरहेको छ। यस्तो अवस्थामा नैतिक पत्रकारिता केवल पेसा होइन, सार्वजनिक विश्वासको विषय बनेको छ। मिडिया संवादको ३९औँ श्रृंखलाले विद्यार्थीहरूलाई सत्य, निष्ठा र डिजिटल युगमा जिम्मेवार ढंगले बोल्ने साहसबारे सोच्न प्रेरणा दिएको छ’, कलेजका प्राचार्य फादर डा। अगस्टिन थोमस, एस।जे।ले भने।
पत्रकारिता सङ्काय प्रमुख तथा मिडिया संवादका संयोजक चुनबहादुर गुरुङले संक्रमणका कारण पत्रकारिता कठिन अवस्थामा गुज्रिरहेको छ। ‘यस अवस्थामा नैतिक पत्रकारिता अत्यन्त अत्यावश्यक छ। भविष्यका पत्रकार र सञ्चारकर्मीहरूले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ,’ गुरुङले भने।
उनका अनुसार यस पटकको विषयवस्तु ‘सामाजिक सञ्जालको युगमा पत्रकारिता आचारसंहिताले’ विद्यार्थीहरूलाई डिजिटल युगमा पत्रकार आचारसंहिताको महत्वबारे स्पष्ट गराएको छ। कार्यक्रममा वरिष्ठ पत्रकार तथा सञ्चार विज्ञ डा. विनोद भट्टराईले पनि विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए।
प्रकाशित: १५ असार २०८२ १७:२३ आइतबार


-600x400.jpg)


