बेलायतमा ५० जनामध्ये एक जनाको उमेर नपुगी मृत्यु हुने गरेको देखिएको छ। १५ वर्षभन्दा माथिका तर बुढ्यौली नलागी तिनको मृत्यु हुने गरेको देखिएको हो। अत्यधिक मदिरा, उत्तिकै धूमपानको लत र बढ्ता वजनका कारण तिनको मृत्यु हुने गरेको हो। मदिरा, धूमपान र अत्यधिक वजनलाई चिकित्सकहरूले ‘ट्रिपल थ्रेट’ (तेहोरो खतरा) नामकरण गरेका छन्। यी तेहोरो खतराले उमेर नपुगी सर्वसाधारणलाई क्यान्सर र मधुमेहले गाँज्ने र २० वर्ष आयु घटाइदिने गरेको वरिष्ठ चिकित्सकको अनुभव छ।
१० लाख मानिसहरू आफूलाई ज्यूँदै ठान्दै हिँडिरहेका भए पनि तिनमाथि खतरा मडराइरहेको बेलायती संस्था एनएचएसको तथ्यांकले देखाएको छ। यो तथ्यांकलाई एस (एक्सन अन स्मोकिङ एन्ड हेल्थ)ले हालै सार्वजनिक गरेको हो।
धूमपान गर्नेहरूमध्ये २.२ प्रतिशत सर्वसाधारण आफूमाथि खतरा बोक्दै हिँडिरहेका छन् भने रक्स्याहाहरूको प्रतिशत भने अलि बढी रहेको बताइएको छ। बेलायतभरि एक करोड सर्वसाधारण मोटोपनको शिकार छन्। तीमध्ये कम्तीमा २२ प्रतिशतमा तीनवटै खतरा देखिएको छ भने ७४ प्रतिशतमा कम्तीमा एउटा खतरा देखिएको छ।
धूमपान, रक्सी र अस्वस्थ खान्की (पत्रु खान्की)को कुलतमा रहेकाहरू ५० जनामध्ये एक जनाको ज्यान खतरामा छ। बढ्ता वजनले क्यान्सर, मुटुको रोग र कलेजोसम्बन्धी समस्या निम्त्याउने गरेको छ। ती सबै खतराका संकेतहरू एक ठाउँमा भेला गर्ने हो भने सर्वसाधारणले पूरा उमेर बिताउन नपाउँदै ज्यान जाने सम्भावना भएको विशेषज्ञ बताउँछन्।
यदि तिनको चाँडै मृत्यु भएन भने पनि लामो समयसम्म रोगी जीवन बिताउनुपर्ने समेत देखिएको अध्ययनमा बताइएको छ। जीवनभर चुरोट र रक्सी पिउने र अचाक्ली मोटोपनको शिकार हुनेको लगभग १० वर्ष आयु घटाउने गरेको छ। अझ रक्सी, चुरोट र अत्यधिक मोटोपन भएकाहरूको उमेर त २० वर्षले घट्ने चिकित्सकहरूले बताएका छन्।
यो भनेको चिन्ताजनक अवस्था रहेको चिकित्सकहरूको भनाइ छ। यसले राष्ट्रको ढुकुटीमा नराम्रो असर परिरहेको र सर्वसाधारणले आफ्नो खानपिनमा सचेत हुनुपर्ने अवस्था आएको विज्ञको भनाइ छ। यस्तै अवस्था कायम रहिरहने हो भने सन् २०४० सम्म ९० लाख मानिसहरू क्यान्सर, मधुमेह, विस्मृति र अवशादको जीवन बाँचिरहेको हुने द हेल्थ फाउन्डेसन नामक थिंक ट्यांकले जनाएको छ।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: १५ असार २०८२ ११:१३ आइतबार





